वसन्त विवश आचार्य
रुकुम खलङ्गाको डाँडो केवल भुगोलले मात्रै अग्लो थिएन कला सँस्कृतिले पनि उस्तै उँचो थियो । चाडपर्वका वेला गाउँघरमा सिँगारु नाँच्न र गाउँनका लागि पुरुषहरु महिला जस्तै दुरुस्तै वन्थे अनि गुन्जन्थ्यो वजारै थर्कने गरि
दिन बुरी डाँडैमा गैया
सल्ली टुप्पी घाम छ
मरनेलाई कालले लैगो
बाँचनेलाई राम छ
खलंगाकै एउटा कुनामा वस्ने श्रीकेसी गीतको भाव वुझ्दैनथे तर पनि गीतमा भाका मिलाउन खप्पिस थिए । गाउँमा हुने नाँचगानमा उनी भिडको गायक वन्दै गएका थिए । भिरको गायक हुनुको राम्रो एउटा फाइदा पनि थियो । कसैले पनि उनको स्वर अलग्गै चिन्दैनथ्यो । स्वर मिठो र नमिठो हुनुको जस अपजससँग उनको करिव ३ वर्षसम्म भेटघाट नै भएन ।

संगितको नशाले पुरै च्यापि नसक्दै उनी खलंगाबाट ४० को दशकारम्भमा काठमाडौ हान्निए । उनीसँग यौटै सपना थियो पढ्ने । बा आमाले पनि खलंगाको नाइटमा उनलाई वसाल्दै “राम्रोसँग पढ्नु ठुलो मान्छे वन्नु” भन्ने जिम्मेवारीको भारी जो बोकाएका थिए । काठमाडौको खाल्डो उनका लागि संगितमा तैरनै ताल जस्तै भयो । उनी पढ्ने स्कुलले शुक्रवार अतिरिक्त कार्यक्रम राख्दो रहेछ । उनले भुल्नभुल्न थालेको संगीत मोह एकाएक जीवित भयो ।

विद्यालय भरि पढ्नमा उनी नै अब्बल थिए । उनको संगीत प्रेमले पढाइ त विग्रने होइन ? आफन्त सबैका लागि उनको संगीत प्रेम टाउँको दुखाइको कारण नै वनेको थियो । उनले सबैलाई चकित पार्दै एसएलसी उत्कृष्ट अंकका साथमा पार गरे ।

विज्ञान पढ्ने सपना उनले सानैमा वुनेका थिए । वाटो अलमल नगरी उनी सिधै अस्कल पुगे । अस्कल पुग्दासम्म उनले संगीतको रहरलाई अलि गति दिन पनि थालेका थिए । अर्थात उनले संगितको कक्षा लिन समेत लागिसकेका थिए ।अस्कलमा आइएस्सीको परीक्षा दिएपछि उनले चक डस्टर समात्न पुगे । पढ्नमा तेज उनले त्यति वेला नै कक्षा ९ र १० लाई नै अध्यापन गर्ने अवसर पाए ।

दशै तिहारका वेला विदा हुन्थ्यो । उनी फेरि खलंगाको डाँडोमा स्वर रन्काउन आइपुग्थे । तिहारको वेला भैलोका आकर्षक समेत हुन्थे श्री । उनले स्थानीय गीतसँगै नारायणगोपाल जस्ता गायकका गीत समेत गाउँने भइसकेका थिए । सधै भिडमा सुनिने उनको स्वर डाँडैभरि एक्लै सुनिन थाल्यो
थुनीबाट फलाम ल्याइदेउ
झ्याली बनाउनलाई
मागी खाने होइनौ हामी
तिहार मनाउनलाई
गीत गाउँदै गाउँदै उनमा संगीतको लत नछुट्ने गरी वस्यो, वेञ्चमा टासिएको चुइगम जस्तै । आइएस्सीमा राम्रो अंक ल्याएर पास गरेका श्रीको यात्रा संगीततिर मोडियो । उनी काठमाडौमा शास्त्रीय संगीतका ज्ञाता धनवहादुर गोपाली कहाँ पुगे । कलानिधि महाविद्यालयबाट सुरु भयो उनको औपचारिक मात्रै होइन , शैक्षिक सगीतको यात्रा ।

संगीतको रागमा डुब्दै डुब्दै जाँदा श्री माकुराको जालोमा टाँसीएको माकुरा जस्तै त्यसबाट वाहिर निस्कनै सकेनन् । उनी संगीतको सागरमै डुबुल्की मार्न पुगे । रहरका रुपमा उनीभित्र पसेको संगीत उनका लागि भविष्य मात्रै होइन व्यवसाय नै वन्यो । उनले संगीतको लागि प्रतिष्ठीत वनारस हिन्दु विश्वविद्यालयबाट संगीतमा स्नातक मात्र होइन , स्नातकोत्तर नै गरे । भारतमा रहदा उनले भ्वाइलिन किङ मानिने एन. राजन एवम् शास्त्रिय संगीतका उस्तादहरु डा. विशान जैन र डा.रितिक सांघाईबाट पनि संगीतलाई अन्तरकुन्तरबाट छाम्ने शिक्षा पाए ।

संगीतको क्षेत्रमा १२ वर्ष उनले राग घोटिरहे, तवला वजाइरहे, मुरली र भ्वाइलिनमा सास भरिरहे तर पनि “वजार ” पिट्नका लागि उनले कहिल्यै एल्बम वजारमा ल्याएनन् । अटोग्राफ दिने रहरै रहरमा उनले २०५० सालमा रेडियो नेपालबाट आधुनिक तर्फ स्वर परीक्षा समेत पास गरे । “ किन गीत निकाल्नु भएन ?”

अनुहारमा खुसी लेपन गरेर उनले भने “ नसिक्दा सम्म सिक्न पाए हुन्थ्यो जस्तो लाग्यो, सिक्दै गएपछि शास्त्रीय संगीतमा रस पर्दै गयो , गीत निकाल्ने रहर आफै मरेर गयो ” उनले संगीत सिक्नु भन्दा पहिला नै केही गीतहरु रेकर्ड गरि पनि सकेका थिए तर सवै गीत उनलाई काँचा लागे । उनले वजार पठाउन तयार पारिसकेका गीतहरु वजार पठाएनन् । स्कुल पढाएर जम्मा गरेको चानचुन ४० हजार खरानी भयो ।

संगीत सिक्नु गायक वन्नु होइन
“विज्ञान पढ्ने सवै वैज्ञानिक वन्ने भन्ने नभए जस्तै संगीत पढ्ने गायक नै हुनुपर्छ भन्ने केही छैन” संगीतको गहिराईमा डुबेर मोती झिकिसकेका श्रीलाई संगीतमा केही गर्नका लागि संगीत सिकेर मात्रै हुदैन जस्तो लाग्छ । “जन्मजात पनि केही प्रतिभा हुनुपर्छ अनि संगीतको ज्ञानले त्यसलाई निखार्ने काम गर्छ” । संगीतलाई वजारले निर्देशित गर्ने भएकाले वजारीया गीत संगीतले मात्रै जनताको मन छुने जस्तो उनलाई लाग्छ ।

वजारिया संगीतको वाहुल्यताका कारण वास्तविक संगीत हराउदै गएको मात्रै होइन हाम्रो मौलिक संगीत पनि लोप हुदै गएको उनको ठहर छ । कतिपय गायक संगीतकार संगीत सिकेर पनि उद्योगमा आएकाले उनीहरु आक्रामक रुपमा वजारमा आएका छन् ।

संगीत सिकेको मान्छेले संगीत क्षेत्रमै प्रत्यक्ष संलग्नता देखाउनु पर्छ भन्ने उनलाई लाग्दैन । संगीतका वारेमा पुस्तक लेखेर या लेख लेखेर पनि उसले सिकेको कुरा सवैका माझमा पुर्याउन सक्दछ । यसको अर्र्को वलियो पक्ष भनेको संगीतका वारेमा नयाँ नयाँलाई शिक्षा पनि दिन सक्छ ।
नेपाली संगीतले आधा दशक पुरा गरिसक्दा पनि संगीतको ट्रेन परिवर्तन हुन नसकेको जस्तो उनलाई लाग्छ । “अहिले पनि हाम्रो संगीत पुराना लोकगीतको तोडमोडमै अल्झिएको छ ” उनलाई लोकशैलीका गीतहरु सधै चर्चामा रहेको जस्तो लाग्छ ।

फिगर कोकाकोला
श्रीलाई संगीतका चल्तिको गायकका रुपमा अगाडी वढ्ने अभिरुचि छैन । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरमा संगीत पढाउने उनले नेपालका चल्तिका गायक गायिकालाई पनि सिकाएका छन् । “ मेरो फिगर कोकाकोला” की जेनिशा पौडेल देखि आधुनिक गायनमा चर्चित रामभक्त जोजिजु सम्मलाइृ उनले संगीतको सिकाएका छन् ।

५ हजार वढिलाई संगीत सिकाएका श्रीले भर्खर वोली फुटेका वच्चादेखि कपास जस्तै कपाल फुलेकाहरुलाई पनि संगीत सिकाइरहेका छन् । विहान ५ वजेदेखि सुरु हुने उनको संगीत कर्म साँझ ६ वजेसम्म चलिरहन्छ । त्रिवि केन्द्रीय ललितकला विभागमा स्नातकोत्तर कार्यक्रमदेखि राष्ट्रिय नाँचघर, किरातेश्वर संगीत आश्रम, ब्लुवर्ड कलेज, पाठशाला नेपाल, रातो वंगला स्कुलमा उनको संगीत शिक्षण चलिरहेको हुन्छ । करिव २ दर्जन विद्यार्थी उनको घरमै हुने गर्दछन् ।

शास्त्रीय गीतको नशा
रुकुमको वनपाखामा लोकगीत सुसेल्दै हुर्केका श्री यतिवेला काठमाडौका “व्रान्डेड” स्टेजहरुमा शास्त्रीय गीत अलापिरहेका हुन्छन् । दर्जनौ एकल शास्त्रिय गानका कार्यक्रम गरिसकेका श्री संगीत प्रशिक्षणबाट जोगाएको समय शास्त्रिय गायनमा खर्चने गर्दछन् ।

किँरातेश्वर महाविद्यालय, प्रज्ञा प्रतिष्ठान,यलमाया केन्द्र, रुसी सांस्कृतिक प्रतिष्ठान लगायतमा उनले नियमित रुपमा शास्त्रीय गायनको कार्यक्रम गर्ने गर्दछन् । “शास्त्रीय गायनका पारखीहरु थोरै छन् तर ती प्रतिवद्ध फ्यान छन् ” उनले थपे “ शास्त्रीय गायनमा पसिसकेपछि त्यसबाट निस्किएर अन्य गायनमा जानै मन लाग्दैन ” शास्त्रीय गायन उनका लागि पेशा मात्रै होइन नशा वन्दै गएको छ ।

शिक्षण सिकाईमा संगीत
आजभोलि नियमित कामबाट विदा लिएर उनी शिक्षणलाई कसरी संगीतका माध्यमबाट प्रभावकारी ढंगले अगाडी वढाउन सकिन्छ भन्ने तालिममा ठाउँ ठाउँ पुगिरहेका हुन्छन् । संगीतले सवैको मनमा आनन्द र खुसीको सञ्चार गर्ने भएकाले शिक्षणलाई पनि संगीतका माध्यमबाट गर्न सकियो भने त्यसले वालवालिकाको पढाइप्रतिको अभिरुचि वढेर जाने उनको ठहर छ ।

युएसएड को सहयोगमा कक्षालाई प्रभावकारी वनाउनका लागि संगीतको भुमिका खोज्दै हिडेका छन् उनी । “ हामीले कक्षामा गएर खाली बालबालिकालाई पढाउने मात्रै गर्यौ भने त्यसले उनीहरुमा पढाइप्रति वितृष्णा आउन सक्छ, त्यसलाई संगीतमा ढालियो भने त्यसले उनीहरु सिकाइप्रती जागरुक हुने गर्दछन् ।

नेपालमा शास्त्रीय संगीतको वजार सानो भएपनि अपर्याप्त नभएको श्री वताउछन् । सस्तो लोकप्रियताले मान्छेका क्रेज वढाउला तर हाम्रो संगीतको यात्रा भने गतिविहिन वन्न जान्छ । उनलाई हरेक प्रकारका संगीतको आफ्नै फरक फरक महत्व भए जस्तो लाग्छ । संगीतको भाषा र भेष नहुने भएकाले एक ठाउँको संगीत अर्को ठाउँका मान्छेको मन छुन सफल हुन्छ ।

उनले पनि संगीतका विभिन्न राग अलापेका छन् । वनारस पढ्दा विश्वभरिका संगीतका रागमा उनले स्वर मिसाएका छन् । तर नेपालको जस्तो संगीतको राग उनलाई अरु कुनै लागेन । “ संगीतमा शक्ति हुन्छ कतिपय रागहरु गाउँदा आकाशबाट पानी वर्सिने कुरा समेत हामीले सुनेका छौ ” उनले भने ।

नेपालको संगीत
नेपालमा संगीत उद्योग प्रतिष्पर्धात्मक भएको छ । दिनदिनै दर्जनौ गीतहरु युट्युवबाट वजारमा पुगेका छन् । श्रीलाई छोटो समयमै नेपाली संगीतले निकै फड्को मारेको जस्तो लाग्छ । पहिल्लो समय नेपाल आइडलबाट पनि नेपाली संगीतको तिर माथि उकासिएको भेट्न सकिने उनको ठहर छ ।

हरेक क्षेत्रमा जस्तै संगीतमा पनि परिवर्तन आउनुपर्ने भएकाले संगीत क्षेत्रमा आएको परिवर्तनलाई खासै गलत ढँगले व्याख्या गर्न नहुने मत उनी राख्छन् । “ अब नेपाली संगीतमा कुनै एक विधाको मात्रै गीत गाउने भएर हुँदैन , भर्सटाइल खाले हुनुपर्दछ ” यस्तो मत राख्ने श्री अहिले त्यस्तै संगीतकर्मी उत्पादनमा हरेक दिन करिव १४ घण्टा खर्चिरहेका हुन्छन् ।

प्रतिकृया

प्रतिकृया