शंकर के सी,सल्यान
२४ असोज / सल्यानका एक युवाले गरे के हुँदैन भन्ने उदाहरण देखाएका छन् । चार वर्ष मलेसियामा दुःख भोगेर फर्किएका त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राका गोपाल थापाले व्यवशायीक रुपमा गाउँमै गाईपालन गरेर उदाहरण बनेका हुन् ।

बिनोद कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यवशाय शुरु गरेका हुन् । गोपालले भने– ‘विदेशको दुःख पनि काटियो, मिहेनत गर्ने हो भने जहाँ पनि सफलता पाइन्छ भनेर मैले गाई पालन व्यवशाय रोजेको हुँ ।’ विदेशबाट नेपाल फर्किएर इलेक्ट्रोनिक्स पसल पनि सञ्चालन गरेका उनले गाई पालनमा सम्भावना र फाइदा देखेपछि आफु यतातिर लागेको बताए ।

‘अहिले म संग पाँच वटा जर्सि गाई छन्,’ गोपालले भने ‘अहिले तीन वटा गाईले दुध दिइरहेका छन् ।’ गाईपालन व्यवशाय शुरु गरेको केहि महिना मात्रै भएको उनले जानकारि दिए । र अहिले मासिक ६० हजार भन्दा बढि आम्दानी भइरहेको उनले सुनाए । गाईपालन सुरु गरेपछि उनको दैनिकी नै बदलिएको छ । व्यवसायलाई निरन्तरता दिने उनको अठोट छ । उन्नत जातका गाई थप्ने उनले सोच बनाएका छन् । अहिले एउटा गाईले एक दिनमा अठार लिटर बढी दूध दिने गरेको थापाले बताए ।

झण्डै १५ लाख बढीको लागतमा सुधारिएको गाई भकारो निर्माण र जर्सी गाई खरिद गरेको सुनाउदै उनले भने– ‘शुरुमा गाई पालन व्यवशाय अंगाले पछि छिमेकीहरुले के नै होला र भन्ने गरेका थिए, अहिले राम्रो आम्दानी हुन थालेपछि सबैजना यहि पेशातिर हौसिएका छन् ।’ युवालाई विदेश जानभन्दा स्वदेशमै केही गर्न उनको सुझाव छ ।

उनी भन्छन्–‘अर्काको देशमा अर्काको गाली खाँदै पैसाका लागि आत्मसम्मान गुमाउनुभन्दा स्वदेशमै गाईपालन गरेको राम्रो ।’ गाई पालनमा उनलाइ घरपरिवारका अरु सदस्यहरुले पनि सघाएका छन् । ‘गाईपालनबाट राम्रै कमाई हुँदोरहेछ– गोपालले भने–‘मेहेनतको कामले आम्दानी दिन थालेपछि परिवार नै ब्यवसायिक गाईपालनमा लागेका छौं ।’ सात रोपनी जग्गा भाडामा लिएर घाँस खेती पनि उनले गरेका छन् ।

जिल्लाको अन्य ठाउँमा पनि अहिले ब्यवसायिक रुपमा गाईपालन गर्ने किसानको संख्या बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालय र अन्य निकायमार्फत युवालाई स्वरोजगार बनाउन अनुदानको ब्यवस्था गरिएपछि गाईपालनमा युवाको आकर्षण बढ्दो छ । निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका हुन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ । बैज्ञानिकहरुले नेपालको हावापानी सुहाउँने जर्सि र होलस्टेन जातका गाई पाल्नु राम्रो हुने सिफारिस गरेका छन् ।

कृषि विज्ञहरुले गाई पाल्दा घाँसको व्यबस्थापन महत्वपुर्ण हुने बताउदै आएका छन् । उनीहरुका अनुसार गाई पाल्ने योजना र घाँस खेती गर्ने योजना सँगसँगै बनाउनुपर्छ । अर्को महत्वपुर्ण बिषय गोठ व्यबस्थापनको हो ।एउटा गाईले अर्को गाईलाई सामान्य अबस्थामा नछुने तरिकाले राख्नुपर्छ । बैज्ञानिक ढंगले बनाउँदा लम्बाई छ फिट र चौडाई चार फिट छुट्याईन्छ । घाँस तथा आहारा दिने ठाउँमा मल वा गोबर नलाग्ने हुनुपर्छ ।

 

प्रतिकृया

प्रतिकृया