गोपाल शर्मा,तुलसीपुर
२६ असोज / थारु समुदायको जातीय रोगको पहिचान बनाएको सिकलसेल एनिमिया रोगका कारण दाङमा तिन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाहरुले जानकारी दिएका छन । जिल्लामा नियमित उपचार गराइरहेका मध्य तीनजनाको ज्यान गएको र ९८ जनाले उपचार गराइरहेका पाइएको हो ।

विरामी अवस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधी सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खवर अस्पताल सम्म पु¥याएका छन । खास गरेर नियमित उपचार गराइ रहेका र रगत लिइ रहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपाने जानकारी दिए । उनले केन्द्र बाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्य तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी दिए ।

मुत्यु हुनेमा देउखुरी भ्यालीका २ जना र दाङ भ्यालीका एक जना रहेका छन । दुइ पुरुष र एक महिनाको सिकलसेलका कारण मृत्यु भएको इन्चार्ज न्यौपानेले वताए ।
राप्ती उपक्षेत्रीय अस्पतालका सुचना अधिकारी अहमद मारुक खानले दाङका थारु समुदायमा बढि सिकलसेल एनिमिया देखिएको र हाल सम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको वताए । उनका अनुसार ५७ जना पुरुष र ४१ जना महिलामा यो रोग देखिएको छ ।

उनले अस्पतालममै कसैको मृत्यु नभएको भए पनि घरका मृत्यु भएको खवर आएको वताए । थारु समुदायको रोग भनिए पनि दाङका गैर थारु समुदायको एक जनालाई सिकलसेल भेटिएको छ । अस्पतालका अनुसार विश्वकर्मा धरकी एक महिलालाई पनि सिकलसेल रहेको छ । सरकारले निशुल्क रुपमा सिकलसेलका विरामीलाई उपचार गर्ने निर्णय गरे पछि जिल्लामा ८६ जनाले निशुल्क सेवा दिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । सिकल लको पहिचान भएकाहरु उपचारका लागि सिफारिस माग्न आएका ८६ जनालाई निशुल्कको सिफारिस गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले वताए । उनले अन्य विवरण जिल्ला संग नभए पनि विरामीको तथ्याक मात्रै भएको वताए ।



सिकलसेलका विरामीलाई सरकारले जीवनभर उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा प्रति व्यक्त एक लाख रुपैया पठाएको र त्यहि अनुसार विरामीहरुको निशुल्क उपचार गराइरहेको सूचना अधिकारी खानले वताए । उनले त्यसबाट नियमित औषधी, नियमित ब्लड उपलब्ध भइरहेको वताए । जिल्लामा तीन वर्ष देखि यसको उपचार सुरु भए पनि परिक्षण उपकरणहरु नहुँदा परिक्षण गराउन जिल्ला बाहिर पठाउनु पर्ने अवस्था रहेको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट जनार्दन पन्थीले वताए । उनले परिक्षण उपकरण अस्पतालमा भए कुनै पनि सेवा अस्पतालबाटै दिन सकिने वताए । पन्थीले थारुबाहुल्य क्षेत्र देउखुरीमा यसका रोगीहरु प्नि बढि नै रहेको वताए ।

अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरि सिकलसेलका विरामीहरुलाई उपचार गरिरहेको छ । दाङमा एक घरका पुरै परिवारलाई सिकलसेल भएर उपचार गरिरहेका अस्पतालले जनाएको छ । अहिले त्यो परिवार जिल्ला बाहिरको अस्पतालमा उपचारमा रहेको छ ।

के हो सिकलसेल एनिमिया ?
रोगले समातेपछि गोलो आकारमा रहने रक्तकोष हँसिया (सिकल)आकारको बन्ने गर्दछ । बाबुआमा दुवैलाई त्यो रोग छ भने छोराछोरीलाई पनि त्यही रोगले च्याप्ने सम्भावना २५ प्रतिशत रहन्छ । थारू बालबालिका बाबुआमाबाटै वंशानुगत रूपमा सरेको सिकलसेल एनिमियाबाट पीडित हुदै आएको थारु बुद्धिजीबी चूर्ण चौधरीले वताए ।

रगतमा सिकलसेलको मात्रा ४० प्रतिशत भन्दा कम भएको अवस्थालाई ‘ट्रेट’ भनिन्छ । त्यो अवस्थाका मानिसले अरूले भन्दा लामखुट्टेको टोकाइबाट हुने मलेरियाको बढी प्रतिरोध गर्न सक्ने देखिएको छ । सिकलसेलको मात्रा ६० प्रतिशत भन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ । र, सिकलसेल एनिमिया भनिने अवस्थामा मानिस रोगी बन्छ । यसका रोगीको छाती, पेट र जोर्नी दुख्ने, फियो बढ्ने तथा जन्डिस हुने जस्ता लक्षण देखिने गर्द छ ।

सिकलसेल एनिमियाको उपचार नपाए बिरामीको ४० वर्षभित्र मृत्यु हुने गर्दछ् । चिकित्सकका अनुसार पोषणयुक्त खाने कुरा, सावधानीबाट जीवन लम्ब्याउन सकिन्छ । निमोनियाविरुद्ध खोप लगाउने, गर्मी र चिसोबाट जोगिने, काम कम गर्ने, पोषणयुक्त खानेकुरा खाने गर्नाले जीवन लम्बिने उनले बताए । किटबाट प्रारम्भिक जाँच गरिए पनि सिकलसेल एनिमियाको डिटेल जाँच गर्न हेमोग्लोबिन इलेक्ट्रोफोरोसिस नै गर्नुपर्ने हुन्छ । बिभिन्न सर्भे र अध्ययनमा थारु समुदायका १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएकोे छ । थारु समुदायका ब्यक्तिमा बढि यो रोग देखिएपनि सबै जातजातिका मान्छेलाई यो रोग लाग्ने सक्छ ।

 

प्रतिकृया

प्रतिकृया