शंकर के सी,सल्यान
२४ असोज/ सल्यान रीमका वस्तीहरु सफा र चिटीक्क देखिन थालेका छन् । पूर्ण सरसफाइ अभियान चलिरहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ (साविकको रीम १) का प्रायजसो घरमा हिजोआज फोहोर व्यवस्थापन र सुरक्षीत खानेपानीको प्रयोग गरेको देख्न सकिन्छ ।हिजोआज रीमका स्थानीयमा आनीवानीमा परिवर्तन देखिएको छ भने घर आँगन पनि सफा, चिटीक्क परेका छन् ।

वडालाइ नै छिट्टै पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणाका लागी अहिले वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितीले काम गरिरहेको छ ।जस अन्तर्गतसोमबार स्थानीयहरुलाइ अभिमुखिकरण गरिएको छ । समितीका संयोजक तथा वडा अध्यक्ष याम कुमार वस्नेतको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा सुआहारा कार्यक्रमका वास प्रज्वलक गेहेन्द्र केसीले सरसफाइका बारेमा जानकारि दिएका थिए ।

हात धुने तरिका, शौचालय प्रयोग गर्ने, सुरक्षित खानेपानी तथा खानेकुरा र वातावरणीय सरसफाइका विषयमा उनले अभिमुखिकरण गरेका थिए ।‘खाना खानु वा छुनु अघि तथा चर्पी गइसकेपछि, वच्चाको दिसा धोइसकेपछि र फोहोरजन्य वस्तु छोइसकेपछि साबुन पानीले मिचीमिची हात धुनुपर्छ,’ वडा सचिव सुशिल वोहोराले सहजीकरण गरेको कार्यक्रममा सरसफाइ प्रज्वलक केसीले भने– ‘हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण, नवजात शिशुको मृत्यु हुने सम्भावना ४० प्रतिशतले कमी ल्याउन सकिन्छ, यी र यस्ता विषयमा हामीले अभिमुखिकरण गर्दै आएका छौ ।

उनका अनुसार अहिले साविकको रीम १ का एक सय आठ घर मध्ये अधिकांशले फोहोर फाल्ने खाडल खनेर कुहिने र नकुहिने फोहोरलाइ वर्गिकरण गरेका छन् । साथै ५० प्रतिशत घरमा सुरक्षित पीउने पानीका लागी फिल्टर प्रयोग भइरहेको पनि उनले बताए ।

प्रतिकृया

प्रतिकृया