प्रकाश ओली
डियर अल्कोहल , तिमीलाई मिठो सम्झना र आगामी दिनमा तिमीप्रतिको माया घटाउने बिश्वास । तिमीलाई मैले कसरी भुल्न सकूला मैले जान्ने बुझ्ने भएदेखि कुनै न कुनै रूपमा तिमीसंग मेरो सम्बन्ध बसि नै रह्यो । भनिन्छ नि, वातावरण जस्तो छ, त्यही अनुसारको रहनसहन हुन्छ । हो, तिमीसंग पहिलो भेट लाग्छ ८/९ बर्षको उमेरमा नै भयो । त्यो भेट अञ्जानमा थियोे ।
अर्कैले तिमीलाई माया गरेको देखेर म पनि के कम भनेर आफूलाई बहादुर सम्झेर आँखा चिम्म पार्दै कसैले देख्ला भन्दै लुकेर गरेको मायाले ४/५ घण्टा पछि होसमा आएको सम्झना आज पनि ताजै छ ।
त्यो दिनको माया सम्झेर म आज पनि अञ्जान छु कि त्यो बलात्कार तिमिले मलाई गरेको होकि मैले तिमीलाई । जे होस्, त्यो पहिलो बलात्कार ले मलाई फेरि तिमी सँग माया गर्ने हिम्मत लामो समय सम्म आएन । हुनत तिम्रो माया खराब हो, भनेर भन्न सक्ने हिम्मत र हैसियत त म संग नहुँन सक्छ । तर, तिमी संग एकहोरो माया गर्नेहरु पूर्ण रुपमा सफल भएको देखेको छैन ।
तिमीसंग दोस्रो पटक माया गर्ने हिम्मत नआए पनि तिमिलाई मैले सधै देखिरहे र पहिलो पटकको बलात्कारलाई सम्झेर तिमी संग धेरै भागेर हिडे । तर, माया त माया हो कसरी तिमीबाट टाढा जान सक्थे र ?, पहिलो पटकको बलात्कार नै भए पनि दोस्रो पटक माया गर्ने बाताबरण मिलायो, म संगै पढ्ने साथीले ।
म कसरी बिर्सन सक्छु त्यो साथी र त्यो दिनलाई, जुन दिनले मेरो जीवनमा तिमीसंगको सम्बन्धका विभिन्न किसिमका अबिस्मरणीय क्षणहरु आज पनि यो मानसपटलमा घुमिरहन्छन् । हुनत तिमीलाई माया गर्ने धेरै मान्छेसंग मेरो संगत नभएको पनि होईन, तर पनि दोस्रो पटक तिमीलाई माया गर्न केही समय लाग्यो ।
एसएलसीको रिजल्टको दिन थियो । मेरो मिल्ने साथीको सहयोग र आग्रहमा एसएलसी पासको खुसियालीमा दोस्रो पटक तिमीलाई माया गर्ने सौभाग्य पाए । त्यसपछि त तिमीलाई कति पटक माया गरे, भन्ने कुराको हिसाब नै छैन म संग । तिमीसंग यति धेरै माया बस्यो कि खुसी होस्, या दुःखमा तिमीविना त कामै नचल्ने सम्मको वातावरण बनिसकेको पत्तै पाइएन ।
तिम्रो माया पनि यति सर्बशुलभ भयो कि तिमी हरेक चोकचोकमा हरेक पसलपसलमा भेटिने भयौ कि तिम्रो माया र तिमी बिनाको घर नै अधुरो ।
फरक यति हो कि कसैको रोजाइमा तिमी बिदेशी ब्राण्डकी छौ, भने कसैकोमा मध्यम त कसैकोमा लोकल क्वालिटिकी । तिमी संगको माया पनि अनौठो हँुदोरहेछ बिस्तारै बिस्तारै राज नै गर्ने । शुरुआतमा तिमीसंग अञ्जानमा माया बस्यो । बिस्तारै रमाइलो र मनोरञ्जनको लागि तिमीलाई माया गरियो । जस्तो की बर्ष मा २÷४ पटक । तर तिम्रो माया त्यतिकैमा सीमित भएन । साथीभाई भेट हुँदा होस्, वा विभिन्न किसिमका कार्यक्रम विवाह ,ब्रतबन्ध,पार्टी प्यालेसको भेट होस् वा जन्मदिनको खुसियाली या मृत्यु सस्कार यी कुनै पनि कार्यमा तिमीसंग खुबै माया बस्यो ।
अञ्जानको पहिलो मायामा बेहोस बनायौ।
त्यो मायाले होसमा आउन ४/ ५ घण्टा लगायौ। दोस्रो भेटमा साथीको रहरमा खुसी मनायौ।
त्यसपछिका भेटमा रमाइलो गर्न तिम्रो साथ दिलायौ। बिस्तारै बिस्तारै त यति धेरै माया दियौ की तिम्ले ।
तिमी बिना जिन्दगीको त के कुरा सन्सारै नचल्ने बनायौ। बिस्तारै बिस्तारै त तिमी सङ्गको मायामा यति प्रगती भयो कि हरेक दिन विभिन्न बाहानामा तिमी बिना अधुरो लाग्न थाल्यो। शुरुआतमा त रमाइलो को लागि तिमिलाइ माया गरियो तर बिस्तारै तिम्रो मायाले जित्दै गयो कि तिमी बिना जीवन चलाउन र्गाहो। बिहान उठ्दा तिम्रो मायाको ह्याङ्ग ओछ्यानमै ८ बज्छ उठेर दैनिकीमा फर्किन र्गाहो। जसोतसो उठेर अब त तिमी सङ्ग सम्बन्ध बिच्छेद गर्दिन्छु भन्दै दैनिकीमा फर्कियो।
दिनभरी तिमी सङ्ग सम्बन्ध बिच्छेद गर्ने बिसयमा सोच्यो तर बेलुका भयो तिमी सङ्ग सम्बन्ध बिच्छेदको खुसियालीमा आज माया गर्दिउ न त भनेर माया गर्यो फेरि भोलि उहीँ पुरानै जिन्दगी । तिम्रो माया यति बिष बन्न गयो कि तिम्रै कारणले आर्थिक,सामाजिक,परिवारिक सम्पुर्ण रुपमा कमजोर हुँदै गयो।पछिको दिन त कस्तो हुन थाल्यो कि कुनै दिन तिमी सङ्ग भेट भएन भने घरमा परिवार पनि भन्न थाली सके कि आज उसले बाटो बिरायो।
जब यो सबै बुझ्ने भइयो जवानी तातो र रातो रगत सकियो पछुताउनु भन्दा कुनै विकल्प हुदैन त्यसैले भोलि होइन आज बाटै भनौ। भो माया अब चाहिदैन मलाई तिम्रो त्यो बैगुनी माया जस्ले मलाई मेरो कर्तव्य परिवारिक र सामाजिक दायित्व बिर्साउने माया।
हो आज गल्ती गरेको महसुस गरौ। चड्कन दिनु पर्ने माया लाई धड्कन दिएर भुल भयो। चाहिदैन मलाई तिम्रो त्यो बैगुनी माया छोयो कि पोल्यो।
(लेखक तुलसीपुरका व्यबसायी हुन्, उनले डीवी गार्मेन्ट सञ्चालन गरेका छन् ।)