दाङ,
२७-माघ /  क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मञ्चको संयोजन एवं नेपाल पत्रकार माहासंघ दाङ साखाको आयोजनामा पत्रकार सपना बोहोराद्वारा लिखित प्रदेश ५ को पर्यटन चिनारी नामक पुस्तक विमोचन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले एक औपचारिक कार्यक्रमका बीच सो पुस्तकको विमोचन गरेकी हुन् ।

तुलसीपुर उपमहानगरपालिका-१६ लामीदमार दाङ घर भई हाल क्यानाडामा बस्दै आएका नरबहादुर टण्डनले क्यानाडामा बसेर नेपाल र क्यानाडालाई जोड्न यो अथक प्रयास गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी सांसद देवकोटाले यो प्रयासको सबैले अनुकरण गर्नुपर्ने बताइन् । यो समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रयासमा सबैको साथ रहन पनि जरुरी रहेको उनले बताइन् ।


ADVERTISEMENT

   


पत्रकार बोहोराद्वारा लिखित यो पुस्तकले प्रदेश ५ को पर्यटन क्षेत्रलाई मात्र नभई देशलाई नै विदेशसम्म चिनाउने प्रयास भएको पनि प्रमुख देवकोटाको अभिव्यक्ति थियो । समृद्ध नेपालका लागि रोडम्याप तयार गर्नुपर्ने बताउँदै देवकोटाले दाङको पर्यटन विकासको लागि संस्कृतिको विविधतालाई समेटेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमाहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमा धेरै हिन्दू धर्मका विभिन्न आयामहरुमा टेकेर अध्ययन गर्ने पाटो बनेको बताए । साथै उनले पर्यटकीय स्थलले मात्र नेपाललाई अहिले विश्वमा चिनाउन सफल भएको टिप्पणी गरे । कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष सुदीप गौतमले आफ्नो ठाउँलाई सजिलै चिनाउन सकिने माध्यम भनेकै पर्यटकीय क्षेत्र भएकाले दाङमा रहेको संस्कृत विश्वविधालयलाई शैक्षिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताए ।

क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मञ्चका अध्यक्ष नरबहादुर टण्डनले पर्यटन क्षेत्रप्रतिको चासो आर्थिक मेरुदण्डको रुपमा रहेको यो क्षेत्रको चिनारीका लागि आफूले यो पुस्तक प्रकाशनमा भूमिका खेलेको बताए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, धनगढीका पत्रकार हिकमतबहादुर रावतलगायतले पुस्तकको चर्चा गरेका थिए ।

त्यसै सन्दर्भमा पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश टुडे दैनिकका भुवन गौतम, पत्रकार हिकमतबहादुर रावत, लेखक सपना बोहोरा, सविन प्रियासन, नरबहादुर रोका क्षत्री र लक्ष्मी केसीलाई सम्मान गरिएको थियो । टण्डनले आफ्ना साथी रेशमराज पोख्रेललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका थिए । पत्रकार महासंघका उपाध्यक्ष लीला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघका कोषाध्यक्ष आरके शीतलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया