दीपक बोहरा, दाङ
३-फागुन /  दाङ बिजौरीको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयले सेवा बिस्तार गरेको छ । बिरामी अभाबहुँदा कुनै समय सुनसान बन्ने गरेको चिकित्सालयले पछिल्लो समय निकै फडको मारेको छ । बिभिन्न सेवा शुरु भएपछि बिरामीको संख्या बढेको आयुर्वेदमा पछिल्लो समय नेपालमै पहिलोपटक अग्नीकर्म सेवाको सफल परीक्षण भएको छ ।

आयुर्वेद चिकित्सा पद्धति अन्तर्गत नेपालमै पहिलो पटक अग्नीकर्म मार्फत दाङमा ८ जनाको उपचार गरिएको आयर्वेदका निर्देशक डा. रामकामेश्वर ठाकुरले बताए । ‘अहिलेसम्म नेपालमा यो अग्नीकर्मको उपचार पद्धति कुनै पनि आयुर्वेद अस्पतालमा शुरु भएको छैन’ उनले भने ‘ पहिलो पटक दाङमा हामीले यो अग्नीकर्म पद्धतिबाट उपचार शुरु गरेका छौं ।’

बढि काम गर्दा हात तथा खुट्टाको मासुमा चाप हुने र त्यसरी चाप पर्दा मासुले काम गर्न नसक्ने (ठेला परेको ) अबस्थालाई उपचार गर्ने पद्धतिनै अग्नीकर्म भएको उनको भनाई छ । यो पद्धति अन्तर्गत आगोले उक्त मासुलाई जलाएर फाल्ने गरिन्छ । ‘धेरै काम गर्दा बढि मासु भएको भागमा त्यसमा पनि बढि हात र खुट्टाको केही मासु काम नगर्ने अबस्थामा हुन्छ’ उनले भने ‘ त्यसलाई आगोको माध्यामबाट उपचार गर्ने पद्धति अग्नीकर्म हो ।’


ADVERTISEMENT

  



दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ की ३६ बर्षीया ईन्द्रा योगीको खुट्टामा परेको ठेला हटाएपछि अग्नीकर्मको सफल परीक्षण भएको हो । अहिलेसम्म यो सेवा निःशुल्क प्रदान गरिएको भएपनि अब भने शुल्क लगाउने ब्यबस्था मिलाउने उनले बताए । ‘अस्पतालमा नयाँ सेवा शुरु भएको छ, यसले असपताललाई आर्थिक हिसाबले थप बलियो बनाउन मद्दत पुग्छ’ उनले भने‘ त्यसैले यो सेवालाई पनि नियमित रुपमा अगाडि बढाउँछौं ।’ उनले अग्नीकर्म सेवा लिएबापत दुईहजार रुपैयाँ शुल्क लिने तयारी रहेको बताए ।

अग्नीकर्म उपचार पद्धतिका लागि थप पूर्बाधार पनि नचाहिने तथा जनशक्ति पनि आबश्यक नपर्ने उनको भनाई छ । आयुर्वेद चिकित्सामा स्नातक गरेकाहरुले यो सेवा प्रदान गर्न सक्ने उनको भनाई छ । परीक्षण सफल भएको भन्दै यो अभ्यास सबै आयुर्वेदहरुले गर्ने समेत उनले बताए ।

यो सेवा शुरुभएसंगै बिरामीहरु पनि खुसी भएका छन् । लामो समय देखि खुट्टाको मासुमा बसेको ठेलाले गर्दा हिड्न पनि अफ्टेरो हुने गरेको भएपनि अग्नीकर्म मार्फत ठेला फालेपछि सहज भएको तुलसीपुर १९ की ईन्द्रा योगीले बताईन् । ‘ लामो समय देखि ठेला आएको थियो, तर फाल्न सकिएको थिएन्’ उनले भनिन् ‘ यो फालेपछि भने हिडडुल गर्न सहज भएको छ ।’

अहिले अग्नीकर्म हुने थाहा पाएपछि बिरामीको संख्या पनि बढिरहेको निर्देशक डा. ठाकुरले बताए । ‘अग्नीकर्मको सफल परीक्षण भएको जानकारी पाएपछि अहिले धेरै जना उपचारका लागि आउने गर्नुहुन्छ’ उनले भने ‘ बिरामीको संख्या पनि बढ्दै गईरहेको छ ।’ अहिले आफैले यो सेवा प्रदान गरिरहेको समेत उनको भनाई छ ।

कुनै समय सुनसान हुने गरेको आयुर्वेद चिकित्सालयमा अहिले दैनिक १०-१२ जना आउने गरेको निर्देशक डा. ठाकुरको भनाइ छ । क्षारसुत्र, पञ्चकर्मलगायतका सेवाहरु थप गरेपछि बिरामीको संख्या बृद्धि भएको उनको भनाई छ ।

अहिले दैनिक १०-१५ जनाले क्षारसुत्र सेवा लिने गरेका छन्, भने १०-१५ जनाले पञ्चकर्माको सेवा लिने गरेको उनको भनाई छ ।‘ क्षारसुत्र सेवा लिन दैनिक १०-१५ जना भन्दा बढि आउनुहन्छ, पञ्चकर्ममा पनि त्यस्तै हुन्छ’ उनले भने‘ म एक्लै छु, त्यसैले रातीसम्म बसेर सेवा दिने गरेको छु ।’ क्षारसुत्रको नाममा बजारमा बिरामीलाई महंगो शूल्क असुल्ने गरेको समयमा सरकारी अस्पतालले क्षारसुत्र सेवा शुरु गरेपछि बिरामीहरुलाई पनि निकै सहज भएको छ ।

प्रतिकृया

प्रतिकृया