तुलसीपुर
२८ फागुन/
आउँदो आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने बक्सिङ खेलका लागि प्रदेश नं. ५ बाट दाङका सुरज ओलीले सहभागिता जनाउने छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ओलीले ४९ किलो तौलबाट बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् । राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनका लागि हालै भएको छनौट खेलमा प्रदेश नं. ५ बाट उनी प्रथम हुन सफल भएका हुन् ।

कञ्चनपुर महेन्द्रनगरको कबर्डहलमा भएको ४९ केजी तौलको बक्सिङ खेलमा उनी दाङबाट सहभागि भएर प्रदेशकै प्रथम हुन सफल भएका हुन् । प्रदेशबाटै प्रथम भएपछि उनी आउँदो राष्ट्रिय खेलमा सहभागि हुनेछन् । यसअघि राष्ट्रिय खेलका लागि दाङमा भएको छनौट खेलमा जिल्लाबाट प्रथम भएर प्रदेशमा छनौट भएका थिए ।


ADVERTISEMENT

  



तुलसीपुरको पब्लिक ज्ञान ज्योतीमा कक्षा १२ मा अध्ययन गरिरहेका १८ बर्षीय ओली प्रथम हुन सफल भएका हुन् । बुवा ( जयबहादुर)कै कारणले गर्दा अहिले प्रदेशकै प्रथम हुन सफल भएको उनले बताए ।

‘बुवाले मलाई बक्सिङ खेल्न ‘जा’ भनेर पठाउनुभयो’ उनले भने‘ बुवाले भनेपछि म नियमित बक्सिङ खेल्न गए र अहिले प्रथम हुन सफल भए ।’ १४ बर्षदेखि ओलीले अरणीको मैदानमा नियमित बक्सिङ खेल खेलिरहेका थिए । ‘

अरणीको मैदानमा शुरु देखिनै राजु गुरुले सिकाउनुहुन्थ्यो’ उनले भने‘ उहाँकै देनले नै अहिले यो स्थानमा आउन सफल भए ।’ बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म उनी नियमित बक्सिङ खेलमै तल्लिन हुन्छन् ।

कबर्डहल नहुँदा अरणीको मैदानमा उक्त खेल खेल्ने गरिएपनि उचित कबर्डहलको आबश्यकता रहेको पनि उनले बताए । उनी केहीसमय पछि थाईल्यान्डमा हुने बक्सिङ खेलमा छनौटका लागि पनि भाग लिएका छन् । काठमाडौंमा उक्त छनौट खेल चैत १ गतेदेखि ३ गतेसम्म हुँदैछ ।

करिब एक महिना अघि भएको ‘बक्सिङ गणेशमान सिंह’ प्रतियोगितामा पनि उनी प्रदेशबाट छनौट भएका थिए । ‘नोभेक्स नेश्नल बक्सिङ खेल’ मा उनी तृतिय स्थान (ब्राउन मेडल) हाँसिल गर्न सफल भएका थिए ।

प्रतिकृया

प्रतिकृया