दीपक बोहरा, तुलसीपुर
१४-चैत /  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं. ५ का ईञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले बिगतका क्रान्तिलाई सिरानी राखेर बिप्लवले अराजनीतिक गतिबिधि गर्न नमिल्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तुलसीपुर उपमहानगर कमिटिको सफत ग्रहण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले बिगतका क्रान्तिसंग अहिले बिप्लवको अराजनीतिक गतिबिधिलाई तुलना गर्न नहुँने बताए ।

‘ २००७ सालमा कांग्रेसले हुकुमी शासन अन्त्य गरि लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालिन मालेले पञ्चायति तानाशाही बिरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो, भने तत्कालिन नेकपा माओवादीले राष्ट्र प्रमुख राजा रहने ब्यबस्थालाई अन्त्य गरि लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्र प्रमुख रहने, धर्म निरिपेक्ष नेपाल निर्माण गर्ने, निरंकुश राजतन्त्र फाल्न हतियार उठाएको थियो ’ उनले भने ‘ यी क्रान्तिले गर्दा नै मुलुकले लामो संघर्ष नेपालको संबिधान पाएको छ र मुलुक समृद्धिको मार्गमा अघि बढेको छ , तर अहिले बिप्लवले त्यही संबिधानका बिरुद्ध अराजनीतिक गतिबिधि गरिरहेको छ, यी गतिबिधिलाई बिगतका आन्दोलनसंग तुलना गर्न मिल्दैन ।’

 



ADVERTISEMENT

  


 


बिगतमा भएका आन्दोलनले आफ्नो एजेण्डा पुरा गरिसकेको भएपनि अहिलेको बिप्लव समूहको आन्दोलनको औचित्य र एजेण्डाहीन रहेको समेत बताए । अहिले बिप्लवप्रति केही सहानुभुति प्रकट हुने गरेको भएपनि बिप्लवका गतिबिधिले नेपालले लामो संघर्षबाट पाएको नेपालको संबिधान कार्यान्वयनमा चुनौति थपिएको उनको भनाई थियो ।

दुई तिहाई जनताले बनाएको नेपालको संबिधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई खलल् नपुग्ने गरि जनताको दुईतिहाई बहुमतले संबिधानमा रहेका हरेक प्रश्नहरु सुल्झाउन सकिने अबस्थामा पनि एजेण्डाबिहीन रहेर संबिधान बिपरित गतिबिधि गर्ने अधिकार कसैलाई पनि नरहेको समेत उनको तर्क थियो ।‘ मुलुक बहुदलिय ब्यबस्था र लोकतन्त्रमा आधारित छ, तर दुईतिहाई जनताको बहुमतले एकदलिय ब्यबस्था ल्याउछु भने पनि पाईन्छ , बहुमतकै आधारमा संघीयताको बिकल्प पनि खोज्न पाईन्छ ’ उनले भने ‘तर अहिले बिप्लवले संबिधानको बिरुद्ध के को प्राप्तीका लागि अपराधिक गतिबिधि गरिरहेको छ ?, बिप्लवले जनताको मत लिएर शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ ’।

कुनै पनि आन्दोलनको औचित्य पुष्टि हुनुपर्ने भएपनि संबिधान भन्दा बाहिर गएर हिंसा, अबैधानिक राजनीतिक गतिबिधि भईरहेको भन्दै यो स्वीकार्य हुन नसक्ने पोखरेलको भनाई थियो ।‘ निर्वाचन आयोगमा दल दर्ता छैन्, कानुनको दायरामा पनि चलेको छैन’ उनले भने‘ यो अराजनीतिक तरिका हो, यसले देशलाई निकास दिन सक्दैन् ।’ बिप्लवले यही १६ गते गरेको आन्दोलन कानुन ब्यबसायीहरुको संगठन बारको निर्वाचनका लागि भनेर फिर्ता लिएको समेत उनको भनाई थियो ।

‘ बिप्लव समूहले १६ गते आन्दोलनको घोषणा गरेको थियो, तर कानुन ब्यबसायीहरुले आफ्ना पक्राउ परेका कार्यकर्ताहरुलाई छुटाउनका लागि बहस गर्नुहुन्छ भन्ने हेँतुले बारको चुनाबलाई मध्येनजरगरि बन्द फिर्ता लियो’उनले भने‘ एसइई परीक्षा सञ्चालन भईरहेको अबस्थामा ति कलिला बिद्यार्थीहरुभन्दा पनि बिप्लवले बारको चुनाबका लागि बन्द फिर्ता लियो, यसले जनताको संबेदनशीलता भन्दा पनि आफ्नो सुरक्षाकालागि मात्रै राजनीति गरिरहेको यसबाट प्रष्ट हुन्छ ।’

अर्को फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले अहिले तीनै तहको सरकार नेकपाको भएकाले यतिबेला भएका बिकास निर्माणका कामहरुलाई जनताको माझमा लिन नसकेको बताए ।‘ हामीले बिकास ग-यौं’ उनले भने‘तर गरेका बिकासको प्रचार गर्न सकेनौं ।’ उनले दाङमा धेरै ठूला सडकहरु निर्माण भईरहेको तथा करिब ५-६ वटा पुल निर्माण भईरहेको भन्दै बिकास निर्माणले गति लिएको समेत उनले बताए । त्यस्तै पार्टी निकै चुनौतीपूर्ण अबस्थामा दुई ठूला पार्टीहरु एक हुनु देश र जनताका लागि खुसीको कुरा भएको बताए । पार्टी एक हुन नदिन देश तथा बिदेशी शक्तिहरु समेत सक्रिय भएपनि निकै चुनौतिलाई सामाना गर्दै एकतालाई. पूर्णंता दिईएको उनको भनाई थियो ।

नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं.५ का सचिब जगप्रसाद शर्मा‘अपार’ले प्रदेश नं. ५ मा पार्टी एकताले तिब्रता लिएको बताए । उनले बिगतको जस्तो राजनीतिक लडाई सकिएको भन्दै मुलुक समृद्धिको मार्गमा अघि बढेको उनले बताए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका ९९ नगर कमिटि सदस्यहरुलाई सफत ग्रहण गराईएको हो । यस अघि अध्यक्ष र सचिबलाई सफत ग्रहण गराईसकिएको छ । यो संगै एकसय १ सदस्यीय तुलसीपुर उपमहानगर कमिटि निर्माण भएको छ । कार्यक्रमको सहजीकरण सचिब माधव ओलीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया