तुलसीपुर,
८-जेठ /  तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम जेठ २४ गते प्रस्तुत गर्ने भएको छ ।

उपमहानगरपालिका कार्यपालिकको ५८ औ वैठकले यस्तो निर्णय गरेको हो । समयमै वजेट ल्याउनका लागि नीति तथा कार्यक्रम छिटै ल्याउन लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । ‘अव प्रदेशको नीति तथा कार्यक्रम हेरेर सोही अनुसार डुप्लिकेसन नहुने गरी ल्याइनेछ ’ ।

नीति तथा कार्यक्रममा कस्तो विषयलाई समावेश गर्ने भन्ने वारेमा वडाध्यक्षहरुलाई जेठ १५ गतेभित्र जानकारी गराउन समेत वैठकले निर्णय गरेको छ । नगरप्रवक्ता सुर्यवहादुर डाँगीका अनुसार उपमहानगरपालिकाले असार १० गते आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्नेछ ।


ADVERTISEMENT

  



यसैगरी कार्यपालिकाको वैठकले चालु आर्थिक वर्षको उपमहानगरपालिकाले गरेका कामका वारेमा जेठ ११ गते समिक्षा समेत गर्ने निर्णय गरेको प्रवक्ता डाँगीले जानकारी दिए । उनका अनुसार यस वर्ष सञ्चालन भएका कार्यक्रम र योजनाका वारेमा विभिन्न सरोकारवालाहरुका विचमा समिक्षा गरिने भएको हो ।

यसैगरी वैठकले निर्माणको अन्तिम चरणमा रहेको तुलसीपुर वसपार्कलाई टेण्डर प्रक्रियामा लैजानका लागि समिति समेत वनाएको छ । उपप्रमुख माया आचार्यको संयोजकत्वमा आर्थिक समिति संयोजक माधव वली, लेखा समिति संयोजक राजु आचार्य, ५ नम्वरका वडाध्यक्ष विरेन्द्र शाह, विज्ञ विरेन्द्र महरा, यातायात व्यवसायीका तर्फबाट सुरेश हमाल र वामदेव खनाल, इन्जिनियर पवन योगीलाई सदस्य समेत तोकेको छ ।

समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृतले तोक्ने निर्णय समेत वैठकले गरेको छ । समितिले १ साता भित्र प्रतिवेदन वुझाउन समेत समयसीमा तोकिएको छ । वसपार्कलाई व्यावसायिक भवन, यात्रुप्रतिक्षालय भवन, विभिन्न अडियो भिडियो विज्ञापन, सवारी साधन प्रवेश र पेट्रोल पम्प लगायतका छुट्टाछुट्टै रुपमा टेण्डर गरिने भएको छ ।

प्रतिकृया

प्रतिकृया