दिप्तीशिखा चौधरी,तुलसीपुर
३१ जेठ/ “हामी सबै मिलेर गाउँमै गरौँ कृषि,विदेश जाने कुरालाई मनैदेखि बिर्सी” यात्रामा यहि गीत बजिरहेको थियो ।

दाङको दंगीशरण गाउँपालिका वडा न.७ का वडा अध्यक्ष एंव गाउँपालिकाका प्रवक्ता विर बहादुर ओलीले किसानहरुको मागलाई मध्येनजर गर्दै कृषि भ्रमणमा लैजाने योजना बनाए । सोहि योजना अनुसार गाउँपालिकाका प्रशासन प्रमुख बालकृष्ण भण्डारीको संयोजनमा ३२ जना कृषकहरुको समूह कृषि भ्रमणकालागि जिल्ला भित्र र बाहिरका विभिन्न कृषि फार्मको अवलोकन भ्रमण गर्न यहि जेठ २२ गते दाङको टिकुलीगढदेखि हेटौँडासम्मको तीन दिनको यात्रा तय गरि हिड्यो ।

दंगीशरणको पश्चिम बेल्टका किसानलाई कृषि खेतीतर्फ आकर्षित गराउने उद्देश्यले उद्धेश्यले यस्तो खालको कार्यक्रम तय गरेको उनको भनाई छ । युवाहरु विदेश जाने क्रम बढ्न थालेपछि आफ्नै बारीमा कर्म गरेर आत्म निर्भर बन्न सकिन्छ भन्ने सोचका साथ केहि ज्ञान आर्जनका लागि कृषि भ्रमणको आवश्यकता रहेको उनको ठहर छ । सुरुमा तरकारी खेती अवलोकन तथा अध्ययनका लागि टोली देउँखुरीमा पुग्यो । जहा ३ विघा जग्गा भाडामा लिएर श्रीधर वलीले तरकारी खेती गरेका थिए ।


ADVERTISEMENT

   


दाङ तथा प्युठान सम्म उनले तरकारी पु¥याउँने गरेको बताए । रहर लाग्दो लटरम्म फलेका तरकारी देखेका किसानहरु श्रम गरेपछि तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिने कुरा प्रष्ट देखे । यस्तै वलीले १० बिघा जग्गा भाडाँमा लिएर १८ वटा ताल निर्माण गरेर माछा पालन समेत गरेका रहेछन । हेर्दा आश्चर्य मानेका किसानलाई यो कसरी सम्भव छ भन्ने सम्म भयो । ओलीले २०६६ साल बाट यसरी तरकारी खेती, माछा पालन देखि लिएर ब्रोईलर फार्म संचालन गरेर मनग्य आम्दानी गर्दै आएका रहेछन ।

कृषकहरुको टोली फस्टाउँदो वलीको ब्यवसाय देखेपछि आश्चर्य चकित भए । वली कामलाई प्राथमिकता दिने खालका कर्मठ उद्यमी रहेछन् भन्ने कुरा प्रष्ट देखिन्थ्यो । तरकारी खेती देखि माछा पालनको अवलोकन पछि कृषकको टोलीले वुटवल तिरको यात्रा तय ग¥यो । वुटवलको एक होटेलमा बास बसेर टोली रुपन्देहीको सैनामैना ४ रानीबगिया लखनपारामा रहेको बाख्रा फार्मको अवलोकनका लागि हिड्यो ।

फार्म भित्र पस्दा कुनै पार्कभित्र गएको जस्तो सबैलाई अनुभव भयो । जमीनमा भुँई घाँस र रुखको डाले घाँसले जताततै हरियाली देखिन्थ्यो । रमणिय त्यो ठाउँमा विभिन्न जातका बाख्राहरु देखिए । किसानहरुलाई बाख्रा पालन नै ठिक हो जस्तो लागिरहेको थियो । बाख्रा पालक प्रेमसागर पौडेलले टोलीलाई उत्साह पूर्वक स्वागत गरे ।

अनी आफनो ब्यवसाय बारे बताउँन थाले । उमेरको डेढ दशक पत्रकारिता र साहित्य क्षेत्रमा बिताएका प्रेमसागरले विभिन्न अखबार, पुस्तकमा लेख र समाचारमार्फत कृषि र पशुपालनको प्रवर्द्धनमा कलम चलाएर अरुलाई यो पेशा गर्न उत्प्रेरित गरेको बताए ।

समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर गरेका प्रेमसागरले १६ भन्दा बढी पुस्तक लेखेको समेत जनाए । तर, अहिले आफु उन्नत जातका बाख्रा पालनमा रमाउन थालेको उनको भनाई थियो । उनले रुपन्देहीको सैनामैना–४, रानीबगिया लखनपारामा १० बिघा जग्गा भाडामा लिएर २५ वटा बाख्राबाट व्यवसाय सुरु गरेको बताए । उनको ‘सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्रमा अहिले ३ सय भन्दा बढी बाख्रा छन् ।

वि.स.२०६९ देखि शुरु भएको उनको फार्म यसै वर्ष नेपालमै सबैभन्दा धेरै पाठा–पाठी उत्पादन गर्ने नमूना फार्मको रुपमा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) बाट पुरस्कृत पनि भएको रहेछ । स्थानीय पर्रोहा उच्च माविको ७ बिघा र निजी ३ बिघामध्ये ७ कठ्ठामा २ वटा आधुनिक दुई तले खोरमा बाख्रा पालन गरेका प्रेमसागरले फार्मलाई विस्तार गर्दै लगेको कुरा बताए ।

“यो फार्म खासगरी मासुका लागि खसी–बोकाको उत्पादनमा नभई उन्नत जातका पाठा–पाठी उत्पादन गर्न केन्द्रित छ ।” उनले भने । शुरुमा १४ जातका बाख्रा पालन गरेपनि अहिले भने उनको फार्ममा विश्वकै उत्कृष्ट मानिने बोयर, संसारकै ठूलो शरीर र छिटो बढ्ने अस्ट्रेलियन बिट्टल र सबैभन्दा स्वादिस्ट मासु मानिने अफ्रिकन बारबरी जातका बाख्रा मात्र उनले राखेका छन् ।

५० लाख रुपैयाँबाट शुरु भएको फार्ममा अहिले करिब तीन करोड रुपैयाँ लगानी पुगेको पौडेलले बताए । बाख्रा पालनासँगै उनले करिब ६ बिघामा घाँस खेती गरेका छन् । बाख्रा फार्मका लागि घाँस त्यहीँ उत्पादन हुन्छ भने देशका विभिन्न ३५ जिल्लामा उक्त घाँस तथा घाँसका बिरुवा बिक्री पनि हुने गरेको उनले बताए । फार्ममा उच्च पहाडी क्षेत्रदेखि तराईका जिल्लामा पाल्न सकिने उन्नत नश्लका बाख्रा र तिनैमार्फत ब्रिडिङ गरी पाठापाठी उत्पादन हुन्छन् ।

‘कुन क्षेत्रमा कुन नश्लका बाख्रा पाल्दा फाइदा हुन्छ, सोही अनुसार पाठापाठी उत्पादन गरिन्छ,’ प्रेमसागरले भने । यहाँ उत्पादन हुने उन्नत जातका पाठा–पाठी प्रदेश ५ सहित गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरुसम्म पुग्छन् । पहिलो पटक १० महिनामा एकपटक र त्यसपछि ८ महिनाको अन्तरालमा माउ बाख्राले सन्तान उत्पादन गर्ने प्रेमसागरले बताए ।

‘दुई वर्षमा तीन पटक सन्तान उत्पादन गर्दा माउ बाख्राको स्वास्थ्य राम्रो रहन्छ,’ उनले भने, ‘यस हिसाबले वर्षमा सरदर एक हजार पाठा–पाठी उत्पादन भइरहेको छ ।’ ३ महिना पुगेपछि पाठापाठी बिक्री गर्न मिल्छ । प्रतिकेजी एक हजारका दरले तीन महिनाको पाठा पाठीको तौल २० केजीसम्म हुने हुँदा सरदर २० हजार रुपैयाँ मूल्य पर्ने उनी बताउँछन् । ‘वर्षमा एक करोड रुपैयाँ बराबरको पाठापाठी बिक्री हुने गर्छ,’ प्रेमसागरले भने । बार्षिक आम्दानी एक करोड सम्म हुने गरेको उनको भनाई छ । उनको फार्ममा अहिले १० जना कामदारहरु छन् ।

प्रेमसागरले गाई र लोकल कुखरा पनि ब्यवसायीक रुपमा पालेका छन् । बाख्राले नखाएर छाडेका दानाको खपतका लागि फार्ममा १० वटा गाई पालेका उनले यसै वर्षदेखि लोकल कुखुरा पनि पाल्न शुरु गरेका छन् । फार्म परिसरमा लोकल कुखुरा चर्ने ठाउँ र आहारा पर्याप्त हुने भएकाले चितवनबाट १५ सय चल्ला ल्याएर पाल्न थालेको उनले बताए ।

‘बजारमा लोकल कुखुराको माग अत्यधिक छ, बाख्रा फार्ममा ठाउँ र उपयुक्त वातावरण देखिएकाले शुरु गरेको छु ,’ उनले भने । कुखुरा चराउन २ कठ्ठा जग्गामा उनले तारबार गरेका छन् । बजारमा लोकल कुखुरा प्रतिकेजी ७ सय रुपैयामाँ बिक्री हुने उनी बताउँछन् ।

कृषकहरु प्रेमसागरको कुरा चाख मानेर सुने । उनको कुरा सुनिसकेपछि कृषक रमेश वलीले भने “ अव म अरु भन्दा पनि बाख्रा पालन नै गर्छु ।” वास्तवमा वडा अध्यक्षको कृषि भ्रमण पछि किसानहरुमा यसरी नै केहि गर्ने हौसला थपियौस् भन्ने सोच थियो ।

खसी फार्म अवलोकन पछि टोली सिधैँ हेटौडामा बास बस्न पुग्यो र भोली पल्ट बिहानै प्रदेश न.३ अन्र्तगत चितवनमा रहेको मौरी फार्म अवलोकनका लागि हिड्यो । जहाँ ना.प्र.स.कल्पना थापा र एमुना सापकोटाले मौरीका प्रकार, पाल्ने तरीका, मौरीको घारका बिषयमा किसानहरुलाई जानकारी गराएका थिए । मौँरी फार्मको अवलोकन पछि टोली सिधैँ कृषि तथा वन विभाग विश्व बिद्यालय कृषि संकाय डिनको कार्यालय भरतपुर , चितवनमा गयौँ । कृषि क्याम्पसको साथै पुस्तकालयको अध्ययन ग¥यो ।

सो क्याम्पसमा पढेका सुदिप लामीछानेले त्यस क्याम्पसको शैक्षीक अवस्थाका बारेमा जानकारी गराए । त्रिभुवन विश्व बिद्यालय अन्तर्गत रहेको यो बिद्यालय २०६६ सालमा आएर विभाजीत भएपछि यो बिद्यालय चितवनमा स्थापना भएको कुरा जानकारी दिए ।

यसैगरी टोलीले राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रमा गयो । मकैबाली अनुसन्धान केन्द्रका निर्मल सुवेदिले मकैका प्रकार, मकै फल्ने तरीका, मकै रोप्ने तरीका देखि लिएर गोडमेल लगाएतका बिषयमा एकदमै उत्साहपूर्ण तरिकाले जानकारी गराएका थिए । यसपछि टोली राष्ट्रिय गाई फार्मतीर लाग्यो । बिभीन्न जातका गाईहरु छुट्टाछुट्टै टहरामा बाधिएका थिए ।

फार्ममा सहायक ब्यवस्थापक खडक् बहादुर खड्काले गाई पालन पोषणको तरिका,गाईको प्रकार लगाएत ब्यवसायीक फार्म संचालनका बिषयमा जानकारी गराए । यसरी दंगीशरण ७ का कृषकहरु आधुनीक तरकारी खेती देखि बाख्रा पालन, माहुरी पालन, गाई पालन, कुखुरा पालन सगै मकैँ खेती गर्ने तरीकाका बिषयमा ज्ञान लिए र ३ दिनको अवलोकन भ्रमण पछि आफनै ठाउँमा ब्यवसायीक कृषि खेती गर्ने मनसाय लिएर दाङ फर्किए ।

प्रतिकृया

प्रतिकृया