दीपक बोहरा, दाङ
७-असार /  शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ हेमन्तपुर स्थित सहिद स्मृति आवासीय विद्यालयको अनुगमन गरेका छन् ।

द्वन्द्वपीडित बिद्यार्थीहरुलाई पठनपाठन गराउँदै आएको उक्त विद्यालयको शनिवार अनुगमन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शान्ति सम्झौतापछि द्वन्द्वपीडितका विद्यार्थीहरुलाई शिक्षा दिन सञ्चालन गरिएका यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गरिने बताए ।

‘देशभर रहेका यस्ता विद्यालयहरुको मैले अनुगमन गरेको छु’ उनले भने ‘ द्वन्द्वपीडित विद्यार्थीहरु पढ्ने यस्ता विद्यालयहरुलाई केन्द्रीय विद्यालयका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’

 



ADVERTISEMENT

  


 


उनले यी विद्यालयहरुलाई शान्तिप्रक्रियापछि सञ्चालनको क्रममा संस्थागत विद्यालयका रुपमा दर्ता गर्दा यी विद्यालयहरुलाई सामुदायिक विद्यालय सरह सुविधा दिन नसकिएको उनको भनाई छ । तर यो समस्यालाई मन्त्रीपरिषदबाट हल गर्ने पनि उनको भनाई छ । आवासीय रुपमा सञ्चालनमा आएका यस्ता विद्यालयहरुलाई सीमित स्रोत, साधनबाट पनि सञ्चालन गर्नु राम्रो पक्ष भएको भन्दै यी विद्यालयहरुको स्तरबृद्धिका लागि पहल भईरहेको समेत बताए ।

मन्त्री पोखरेलले शान्तिप्रक्रियापछि शहीद तथा द्वन्द्वपीडितका बालबालिकाहरुलाई पठन–पाठन गराईएको भएपनि यी विद्यालयहरुमा पढाईबाट बञ्चित भएका अपाङ्गता, दलित विद्यार्थीहरुलाई पनि समावेश गर्नुपर्ने बताए । ‘शान्तिप्रक्रिया पछि हामीले द्वन्द्वपीडितका विद्यार्थीहरुलाई मात्रै पठन–पाठन गराउदै आएका छौं, अब यी विद्यालयमा शिक्षाबाट बञ्चित भएका दलित, अपाङगता भएका समुदायका बालबालिकालाई समेट्नु पर्छ’ उनले भने ‘संविधानले गरेको व्यबस्था अनुसार यी विद्यालयहरुलाई अघि बढाउनु पर्छ ।’

यस्ता विद्यालयहरुको स्वामित्व स्थानीय सरकारले लिएको भन्दै स्थानीय सरकारले यी विद्यालयहरुको स्तरबृद्धिका साथै शैक्षिक गुण्स्तर बृद्धिका लागि दक्ष तथा शिक्षक सेवा आयोग पास गरेका शिक्षकहरुलाई मात्रै नियुक्त गर्न समेत उहाँले निर्देशन दिए ।

मन्त्री पोखरेलले शिक्षा, बिज्ञान तथा प्रविधिलाई उत्पादन शक्तिको रुपमा जोड्नुका साथै व्यबहारिक कार्यान्वयनको मार्गमा सरकार अघि बढेको समेत उनको भनाई छ । ‘ हामीले शिक्षा, विज्ञान तथा प्रबिधिलाई उत्पादन शक्तिको रुपमा जोडने कार्यलाई अघि बढाएका छौं’उनले भने ‘ त्यसका लागि दुईवटा शिक्षासम्बन्धि ऐन बनाउन लागेका छौं ।’

उनले अबको शिक्षा प्रणालीलाई नै परिबर्तन गर्नुपर्ने आबश्यकता रहेको समेत बताए । ‘ अब कक्षा १२ को पढाईसकेपछि विद्यार्थीले सीप सिक्नुपर्छ’ उनले भने ‘ अहिले ८० प्रतिशत विद्यार्थीहरुले साधारण शिक्षा र २० प्रतिशतले मात्रै प्राबिधिक शिक्षा लिएका छन्, यो अनुपातलाई ठीक उल्टो बनाउनुपर्छ ।’

उनले परीक्षामा अंक ल्याउने गरि भन्दा पनि सिकाईकेन्द्रीय शिक्षा विद्यार्थीलाई दिनुपर्ने बताए । उनले अहिले कृषि, बालिबिज्ञान, ईन्जिनियरिङ्का तीनवटै पक्षहरु पढाई भईरहेको र अब आयुर्वेद, जडिबुटी, योगललाई पनि पाठ्यक्रम बनाएर समेट्न थालेको बताए । उनका अनुसार यी बिषयहरु आगामी साउन, भदौदेखि लागु हुनेछ । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । बिद्यालयमा पूर्बाधार अभाब हुँदा पठनपाठनसंगै बिद्यार्थीहरुको आबासीय सेवामा समेत समस्या हुने गरेको बिद्यालयका निमित्त प्रधानाध्यापक धनेश्वर पोखरेलले बताए ।

ब्याचलरसम्म कक्षा सञ्चालन गर्नुपर्छ


उक्त विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमराज शर्माले अहिले बिद्यालयमा द्वन्द्वपीडितका छात्रछात्राहरु कक्षा १२ सम्म पढ्ने गरेका छन् । त्यसपछि भने आर्थिक अभाब हुँदा उनीहरु माथिल्लो तहमा पढ्न पाएका छैनन्, र उनीहरु भौतारिरहेका छन् ।

त्यसैले उनीहरुको माथिल्लो तहको पढाई निःशुल्क पठन–पाठनका लागि माथिल्लो स्तरको कक्षा सञ्चालन गर्नुपर्ने समेत उनको माग थियो । ‘यहाँ कक्षा १२ सम्म बिद्यार्थीहर पढ्छन’ उनले भने ‘ त्यो भन्दा माथिल्लो स्तरमा पढनका लागि आर्थिक अबस्था कम्जोर हुन्छ, त्यसैले द्वन्द्वपीडित बिद्यार्थीहरुलाई ब्याचलरसम्मको पढाईहुने वातावरण मिलाउनुपर्छ ।’

साथै बाल विकास कक्षा नहुँदा पनि समस्या रहेको उनको भनाई छ । ‘द्वन्द्वपीडितका स–साना बालबालिका पढ्नलाई आउछन्’ उनले भने‘ उनीहरुलाई एकैपटक कक्षा १ मा राख्दा पनि समस्या हुने गरेका छ, त्यसैले बाल विकास कक्षा सञ्चालनमा ल्याउन आबश्यक छ ।

प्रतिकृया

प्रतिकृया