शंकर के सी, सल्यान
१४-साउन /  सल्यानका वन समूहहरुले एक वर्षको अवधिमा सल्लाको खोटो विक्रि गरेर मात्रै साढे तीन करोड भन्दा बढि आम्दानी गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा रहेका विभिन्न सामुदायिक वनबाट संकलन गरिएको खोटो तीन करोड ६० लाख रुपैयाँमा बिक्री गरिएको हो ।

जिल्लामा रहेका चार सय भन्दा बढी सामुदायिक, राष्ट्रिय र कवुलियती वनमा विभिन्न कम्पनीले खोटो निकाल्दै आइरहेका छन् । डिभिजन वन कार्यालय सल्यानमा प्रमुख थिरबहादुर कार्कीले दिएको जानकारि अनुसार जिल्लाका बन समुहले खोटो बिक्रिवाट राम्रो आम्दानी गर्ने गरेका छन् । तर उनले भनेका छन्, ‘खोटो संकलनमा बैज्ञानिकता ढंग अपनाउनु पर्ने देखिन्छ ।’

 



ADVERTISEMENT

  


 


खोटोवाट भएको आम्दानी विद्यालय सञ्चालन, मोटरबाटो निर्माण जस्ता कार्यमा वन समूहले खर्च गर्ने गरेका छन् । जिल्लामा रहेका बन समूहहरुमा खोटो बिक्रिवाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रमा बन समुह तथा उपभोक्ताहरुको समेत आर्कषण बढेको कार्कीले जानकारी दिए ।

जिल्लामा खोटो संकलन कार्यमा संलग्न रहने कामदार तथा अदक्ष जनशक्तिमा खोटो निकाल्ने उचित ज्ञान नहुदा एउटै रुखमा धेरै ठाँउबाट खोटो संकलन गर्ने, उमेर नपुगेका सल्लाका रुखहरुबाट पनि खोटो निकाल्ने जस्ता कार्य जिल्लामा हुने गरेका छन् । यसको व्यवस्थापनमा ध्यान दिनु पर्ने उनले बताए । जिल्लामा खोटो संकलनबाट बन समुहहरुले राम्रो आम्दानी गरिरहेको समयमा नियम विपरित्त भएको खोटो संकलन रोक्नु पर्ने सरोकारवालाहरुको भनाई छ ।

अनाधिकृत रूपमा हुने सल्लाको खोटो संकलन कार्यलाइ नियमन गर्न यहाँका स्थानीय तहहरुले पनि बेलैमा चासो गर्नुपर्ने देखिन्छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी रूपमा खोटो संकलन भइरहेको भन्ने सरोकारवालाहरुले गुनासो गरिरहँदा त्यसलाई व्यवस्थित गर्न स्थानीय सरकारको उचीत पहल अहिले सम्म देखिएको छैन ।

खोटो संकलनका लागि साना सल्लाका रुखमा समेत खोटो संकलन गर्ने कम्पनीहरुले ट्यांकी झुण्ड्याउने गरेको र त्यसले सल्लाको रुखको वृद्धि विकासमा असर पुग्ने भन्दै स्थानीयले समेत विरोध गर्दै आएका छन् । सल्लाको खोटोमा रोजिन र टरपेन्टाइनको मात्र हुन्छ । टरपेन्टाइन विशेष गरी औषधि उत्पादन, अत्तर उद्योग, सल्लाको सिन्थेटिक तेल, किटनाशक औषधि, पदार्थको प्रकृति परिवर्तन सामग्री आदि कार्यमा घोलकको रूपमा प्रयोग गरिन्छ ।

त्यसैगरी खोटोमा हुने रोजिनको मात्राबाट कागज, साबुन, श्रृंगारका सामग्री, रंग–रोगन, रबर, पोलिस आदिको उत्पादनमा प्रयोग गरिन्छ । यसबाहेक अन्य पदार्थको उत्पादनको प्रक्रियामा पनि रोजिनको प्रयोग गरिन्छ । यद्यपि खोटो संकलनमा उपभोक्ताहरुको आकर्षण बढिरहेको बेला पछिल्लो समय खोटोको माग भने केहि कम हुने गरेको छ । खोटोको माग कम हुन थालेपछि खोटो संकलन गर्ने कम्पनीहरु विस्तापित हुन थालेको वन कार्यालयले जनायो ।

प्रतिकृया

प्रतिकृया