देउखुरीमा सर्पदंश उपचार केन्द्र स्थापनार्थ बृहत छलफल
शिबराज पन्थी,देउखुरी
१९ भदौ /सर्पदंशबाट ज्यान गुुमाएकाहरुको संझनामा मौनधारण गरि गढवामा बिहिवार देखि सर्पदंश उपचार केन्द्र स्थापनाको पहल सुुरु गरिएको छ ।

५७ औं रेडक्रस दिवसको अवसर पारेर गढवा स्वास्थ्य चौकीमा सर्पदंश उपचारकेन्द्र स्थापना गर्न विहिवार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, गढवा गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधीहरु र नेपाल रेडक्रस सोसाइटी, स्थानीय सरकारी गैरसरकारी संघसंस्थाहरु, नागरिक समाज र स्थानीय बुद्धिजिवीहरु लगायत दर्जनौ संघसंस्थाहरुको उपस्थितीमा बृहत छलफल भएको छ । गढवा उद्योग बाणिज्य संघको आयोजना र गढवा तथा राजपुर गाउँपालिका एवं रेडक्रसको समन्वयमा छलफल कार्यक्रम भएको हो ।

गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सर्पदंश उपचार केन्द्र गढवामा जरुरी भएको महसुुस गर्दै गाउँसभाको निती कार्यक्रमबाट अनुमोदन भै सकेको बताउनु भयो । यसको दिगो ब्यवस्थापन र शुरक्षा चुनौतिका लागि सर्वपक्षिय सहयोग आवश्यक छ,गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसंग समन्वय गरी त्यसको ब्यवस्थापन गर्न तयार छ–अध्यक्ष यादवले भन्नुभयो । गढवाले सर्पदंशका बिरामीहरुलाई एम्बुलेन्स खर्च वापत ४ हजार उपलब्ध गराउदै आएको छ ।


ADVERTISEMENT

   


सर्पदंश उपचार केन्द्र नहुँदा देउखुरीमा बर्षेनि अकालमा नागरिकहरुको ज्यान गएको भन्दै स्थानीय सामाजिक अगुवाहरु उपचारकेन्द्र स्थापना गर्ने भेलामा जुटेका हुुन । गढवामा सर्पदंश उपचार केन्द्र बनाउन यहाँका सामाजिक अभियन्ताहरुले सरकारसंग जोडदार माग गरेका छन् ।

पटक पटक सर्पदंश उपचार केन्द्रको माग गर्न र गढवामा रहेको स्वास्थ्य संस्थाको स्तरबृद्धि गर्नभनि मन्त्रालयमा डेलीगेशन गयौं तर हाम्रो मागको सुनुवाई कहिल्यै भएन, अब सर्पदंश उपचार केन्द्र जसरी पनि बनाउन सरकारले ध्यान दिनु पर्यो,–गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले भन्नुभयो ।

पहिले एम्बुलेन्सहरु थिएनन् कतिपय ठाउँहरुमा चन्दा संकलन गरेरै भएपनि एम्बुलेन्सहरु खरिद गरिए त्यस भन्दा अगाडी त देउखुरीमा सर्पदंशको उपचार नपाएर बर्षेनि सयौंको ज्यान जाने गर्दथ्यो, अहिले उपचार गर्न एम्बुलेन्समा दौडाउन केहि सुधार त भएको छ तर सर्पदंशबाट मर्नेहरुको संख्यामा कमि हुन सकेको छैन देउखुरीका चारवटै स्थानीय सरकारको ध्यान जानु पर्यो–नेकपा का नेता तथा निर्वाचन क्षेत्र नं. १ क का संयोजक रामप्रसाद गैरेले भन्नुुभयो ।

देउखुरीमा पटक पटकको प्रयासले पनि भरपर्दो सर्पदंश उपचार केन्द्र बन्न नसक्नु दुखद कुरा भएको भन्दै सरकारी तवरबाट पहल भएमा सामाग्री उपकरण सहयोग गर्न सकिने रेडक्रसकर्मि देवी प्याकुुरेलले भन्नुभयो ।

एकबर्ष भित्र सर्पदंश उपचार केन्द्र खोल्न सरकारको गंभिर ध्यान जान जरुरी छ, हामीले यसपटक स्वास्थ्यमन्त्री र सरकारका सरोकारवाला सबैलाई आग्रह गर्न तथ्यांक संकलन अभियान थालेका छौं, यसपटक सबैले गंभिर ढंगले एकाकार भएर सरकारलाई आग्रह गरयौं भने सरकारले सर्पदंशको उपचार केन्द्र गढवामा खोल्नै पर्छ– समाजवादी पार्टीका गढवा अध्यक्ष जगतराम यादवले भन्नुभयो ।

एक बर्षमा देउखुुरीमा सर्पदंशको तथ्यांक 
गढवा गाउँपालिकाले यसबर्ष सर्पदंशका बिरामीहरुको तथ्यांक खोजि गरी उपचार केन्द्र स्थापनाका लागि केन्द्रमा पहल गर्न थालेको छ । यसबर्षको तथ्यांकलाई हेर्दा देउखुरी उपत्कामा सर्पदंशबाट ११ जनाको अकालमै ज्यान गएको पाइएको छ भने देउखुरी उपत्यकामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरि कुल दुइसय उन्पचास जनालाई सर्पले टोकेको पाईएको छ ।

एक बर्षमा सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनेहरुको संख्या ११ पुगेको छ । जसमध्ये राजपुरमा ११ जनालाई सर्पले टोकेकोमा ३ जनाको मृत्यु भएको छ भने गढवा स्वास्थ्य चौकीमा १२ जनालाई सर्पले टोकेकोमा ६ जनाको अकालमै ज्यान गएको छ । त्यस्तै सोनपुर स्वास्थ्य चौकीमा १० जनालाई टोकेकोमा २ जनाको मृत्यु भएको पाइएको छ ।

सर्पदंशमा लमहीको प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय २५ जना, गोबरडिहा स्वास्थ्य चौकीमा ३५ जना, लालमटीयामा १८ जना, सिसहनियामा २१ जना, कोइलाबासमा १ जना,सतबरीयामा ४ जना, बेला स्वास्थ्य चौकीमा ८ जना र गंगापरस्पुरको स्वास्थ्य संस्थामा ४ जना गरि कुल २ सय ४९ जनालाई सर्पले टोकेको तथ्यांक संकलन गरि स्वास्थ्य मन्त्रालयमा पठाइएको गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले जानकारी दिनुभयो ।

सर्पदंशका अधिकांश बिरामीहरु गोरुसिंगे स्थित आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा लगिने गरेको र कतिपयलाई नेपालगंज वा कोहलपुरमा लगीने गरेको पाइएको छ । देउखुरीमा सुविधा सम्पन्न सर्पदंश उपचारकेन्द्र नहुँदा बर्षैनी धेरै नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ छ ।

उपचार केन्द्र स्थापनाको मापदण्ड 
सर्पदंश उपचार केन्द्र स्थापनाका लागि प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल वा स्वास्थ्य चौकी भएमा एमबिबिएस डाक्टरको स्थायि दरबन्दी र प्रयाप्त जग्गा हुनुपर्छ । गढवा र राजपुुरले गाउँपालिकाबाट करार सेवामा एमबिबिएस डाक्टर राखेर सेवा प्रवाह त गरेको छ तर दुुवै गाउँपालिकामा सरकारको अबधारणा बमोजिमका अस्पताल अझै संचालनमा आउन सकेका छैनन् । गढवा स्वास्थ्य चौकीको जग्गा झण्डै बिगाह अढाई बिगाह त छ तर स्वास्थ्य चौकीको नामामा लालपूर्जा भएको जम्मा०.१०.० कठ्ठा छ । यसका लागि शुरक्षा ब्यवस्था पनि चुनौतिको बिषय हो ।

छलफल कार्यक्रममा गढवा गाउँपालिका वडानं. ६का अध्यक्ष वालचन्द्र ठकूरी हमाल, नेकपा का प्रदेश १ क संयोजक रामप्रसाद गैरे,जिल्ला नेता बिरेन्द्र चौधरी,गढवाका इन्चार्ज यमनारायण पोखे्रल,अध्यक्ष कालिराम चौधरी,नेपाली काँगे्रसका सकुन्तला डिसी, समाजवादी पार्टी नेपालका जगतराम यादव,राष्ट्रिय जनमोर्चाका गुणनिधी शर्मा,टुकमान कुवर, जिल्ला जनस्वास्थ्य कार्यालयका सुुनीता पौडेल,गढवा खानेपानीका अध्यक्ष लेखबहादुर थापा रेडक्रस गढवाका सभापति दिपक कुमार यादव,शिक्षक रामसुरत यादव र रेडक्रसकर्मि देवी प्याकुरेलले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पोखे्रलले गर्नुभएको थियो ।

उपचार केन्द्र स्थापनार्थ तदर्थ समिति 
यसैविच भेलाले सर्पदंश उपचार केन्द्र स्थापनार्थ रामप्रसाद गैरेको संयोजकत्वमा १७ सदस्यिय सहयोग समिति गठन गरेको छ । जसमा सकुुन्तला डिसी,जगतराम यादव,टुकमान कुुवर,बिरेन्द्र चौधरी,दिपक यादव,रविलाल आचार्य,लेखबहादुर थापा,चञ्चला चौत्ररी,अतिउल्ला मनिहार,उमाकान्त पन्त,देवराज कुवर,कुलराज चौधरी,नवराज शर्मा र कोइलाबास,बेला र राजपुरका लागि एक एक स्थान रिक्त राखिएको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया