घोराही,
२५ भदौ / बढ्दै गएको डेंगु रोगलाई नियन्त्रण गर्न घोराही उपमहानगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने र नागरिकहरुलाई सचेत पार्ने अभियान सञ्चालन भएको छ । घोराहीको बजार क्षेत्रका वडा नम्बर १४ र १५ मा सचेतना अभियान सँगै लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।

एक महिनाको बिचमा घोराही उपमहानगर भित्र ७ जनामा डेंगुको संक्रमण देखिएको छ । यसैक्रममा बुधबार वडा नम्बर १४ ले शुभप्रभात माविका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोगका बारेमा जानकारी दिदै नियन्त्रणमा लाग्न आग्रह गरेको छ ।

वडा अध्यक्ष शक्तिराम डाँगीले लामखुट्टेको टोकाईबाट बच्न, पानी जम्ने कुनै पनि बस्तुहरुलाई खुल्लारुपमा नराख्न, झुल प्रयोग गरेर सुत्न र सरसफाईमा ध्यान दिन आग्रह गरे ।


ADVERTISEMENT

   


यसैबिच वडा नम्बर १५ मा पनि महिला स्वास्थ्य स्वयम सेविकाहरुले लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न घरदैलो गरेका छन् । डेंगुलाई नियन्त्रण गर्न पानी जम्ने स्थानलाई पुर्नुपर्ने, खुल्लारुपमा पानी राख्न नहुने, शरिर छोपिने गरी कपडा लगाउने र सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरिएको छ ।

बुधबार काठेकोल, विपि चोक, मेनरोड सहितका क्षेत्रमा सचेतना अभियान सँगै जमेका पानीहरुमा रहेका लार्भा नष्ट गर्ने काम भएको छ ।

वडा अध्यक्ष रमेशकुमार पाण्डे, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, महिला स्वास्थ्य स्वयसेविका नगर सञ्जालकी अध्यक्ष विना खनाल, सम्बन्धित टोलबासी र नेपाल प्रहरीको टोली सचेतना अभियान सँगै लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यमा सहभागि भएका थिए ।

प्रतिकृया

प्रतिकृया