निमुसंगम घर्ती,घोराही
२४ कार्तिक/ जिल्ला सुरक्षा समिति दाङले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आबस्यक सुरक्षा रणनिति तयार पारेको छ । समितिले भुगोल, सञ्चार, दुरीका हिसाबले सुरक्षा संबेदनशिलताको बर्गिकरण गरेको हो ।

उपनिर्बाचनका लागि ६ वटा मतदानस्थललाई अति संबेदनशिल क्षेत्रकारुपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छन । त्यसैगरी २६ मतदान स्थललाई संबेदनशिल र २ वटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ । सोही संबेदनशिलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालन सँगै कार्य सम्पादनमा विषेश ध्यान दिईएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।

दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदान स्थल र त्यस भित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन ।

 



ADVERTISEMENT

  


 


निर्बाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) र घोराही १६ मा गरी ३४ वटा मतदानस्थल र ८२ केन्द्र निर्धारण गरिएको छ । यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न सुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दंगीशरणका मतदानस्थलको अनुगमन गरिएको छ ।

मतदाता शिक्षा सञ्चालन हुने
उपनिर्वाचनका क्रममा भोट हाल्दा मत बदर हुन बाट बचाउन मंसिर पहिलो साता मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्बाचनलाई लक्षित गरेर निर्बाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्ने भएको हो ।

मंसिर ५ गतेदेखि एक हप्ता सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्बाचन कार्यालय दाङले जनाएको छ । विषेश गरी नयाँ मतदातालाई केन्द्रित गरी निर्वाचन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।

निर्वाचनका लागि पोष्टर, ब्रोसर, नमुना मतपत्र जस्ता सामग्रीको सहयोगमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिएका छन ।

२०७४ सालको निर्वाचनमा निर्बाचन क्षेत्र नम्बर ३ (ख) मा २ हजार २ मतपत्र बदर भएको थियो । यता घोराही १६ मा ३ सय ११ मत बदर भएको थियो । उपनिर्वाचन हुने निर्वाचन क्षेत्र नम्बर ३ को दुईमा प्रदेशसभा सदस्य चुन्न ६८ हजार ७ सय १९ जना र घोराही १६ मा वडा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जना मतदाता रहेका छन् ।

प्रतिकृया

प्रतिकृया