निमुसंगम घर्ती,घोराही
१३ मंसिर/ दाङका दुई स्थानमा भोली हुने उपनिर्वाचनमा ७३ हजार बढी मतदाताहरुले मतदान गर्ने भएका छन् । प्रदेशसभा सदस्य र वडा अध्यक्ष चुन्नका लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्ने भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा प्रदेशसभा सदस्य चुन्नका लागि ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्ने छन् ।

प्रदेससभा सदस्य २ को क्षेत्र शान्तिनगर, बबई, दंगिशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, १० र ११ नम्बर पर्दछन् । दुई स्थानमा गरी पुरुष भन्दा महिला मतदाता धेरै रहेका छन् ।

 



ADVERTISEMENT

  


 


महिला मतदाता ३७ हजार ३ सय ५ जना, पुरुष ३५ हजार ८ सय ५५ जना र एक जना तेस्रोलिंगी रहेका छन् । दुई स्थानको चुनाबका लागि ३४ मतदान स्थल र ८२ केन्द्र तोकिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को २ मा ३२ स्थल र ७७ केन्द्र, घोराही १६ मा २ स्थल र ५ केन्द्र निर्धारण भएको छ । प्रदेससभा सदस्य तर्फ १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धा गर्दै छन् भने घोराही १६ मा ५ राजनितिक दल र २ स्वतन्त्र गरी ७ जनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा र घोराही १६ का अध्यक्ष लछिनप्रसाद बुढाको बिरामीका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिकृया

प्रतिकृया