लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिन्छ, आवधिक निर्वाचन र नागरिक मताधिकारको सम्मान । आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधि र तिनले जनताको परोक्ष सरोकारका विषयमा काम गर्नु नै लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्र र निर्वाचन एक–अर्काका परिपूरक हुन् । लोकतन्त्रका पहरेदार जनताको चाहना हुन्छ, जननिर्वाचित प्रतिनिधिद्वारा मुलुकको शासन व्यवस्था परिचालित होस् । सभ्य, विकसित र पूर्ण लोकतन्त्रको उपयोग भइरहेका देशहरूमा चार–पाँच सय वर्षयता निरन्तर आवधिक निर्वाचन भइरहेका छन् ।
तर, हामी लोकतान्त्रिक विधिको विकास र निर्वाचनका सवालमा निकै पछि छौँ भनेमा अत्युक्ति हुँदैन । किनभने, नेपालमा निर्वाचनको इतिहास त्यति लामो छैन । निर्वाचन सुरु भएयता पछिल्ला १० वर्ष छाड्ने हो भने त्यसमा पनि निरन्तरता छैन । जनताले राणा शासनविरुद्धको संघर्ष चर्काउँदै लगेपछि विधिको शासन छनोट गरेको देखाउन पद्मशमशेरले निर्वाचनको सुरुआत गरेका थिए । तर, त्यो केवल लोकलाजलाई भ्रम दिन मात्र थियो । त्यसबेला शासकहरूले निर्दिष्ट गरेबमोजिम नै नेतृत्व छनोट भएको थियो । प्रजातान्त्रिक पद्धतिको निर्वाचनको आरम्भपूर्व परम्परागत ढंगले नेतृत्व छनोट गर्ने प्रचलन थियो । परम्परादेखि आधुनिक कालसम्मका निर्वाचनहरूको नालीबेली समेटेर निर्वाचन आयोगले नेपालको निर्वाचन इतिहास पुस्तक प्रकाशित गरेको छ ।

पौराणिक काल, प्राचीन काल, मध्य काल (पूर्वमध्य काल, उत्तरमध्य काल), भोग्दै नेपाल आधुनिक कालमा प्रवेश गरेको हो । अहिले हामी त्यही आधुनिक कालको चरणमा छौँ । पौराणिक कालमा गोपाल वंश र महिषपाल वंश, प्राचीन कालमा किराँत वंश र लिच्छवि वंश, मध्यकालको पूर्वमध्य कालमा देव वंश, मल्ल वंश, वंद्धन वंश (बनेपा), खस वंश (पश्चिम नेपाल) र मध्य कालकै उत्तर मध्य कालमा मल्ल वंश, पश्चिमा मल्ल वंश, सेन वंश र आधुनिक कालमा शाह वंश, राणा काल र गणतन्त्र (राष्ट्रपति)ले शासन गरेका छन्, नेपालमा । यी शासनमध्ये छिटफुट रूपमै सही, लिच्छवि कालदेखि परम्परागत ढंगबाट नेतृत्व छनोट गर्ने चलन अपनाउँदै आएको पाइन्छ ।

नेपाल १०४ वर्षसम्म जहाँनिया राणा शाषनको कब्जामा रह्यो । राणाहरुले आफ्नो लुटको स्वर्ग कायम राख्न यो अवधिमा शाषन आफ्नो हातमा लिँदै जनतालाई दमन र शोषण गर्न कुनै कसर बाँकी राखेनन् । तर, यही राणा शाषनको अन्तिम कालखण्डमा नेपालमा निर्वाचन भएको थियो । वि.स. २००४ सालमा नेपालमा पहिलोपटक निर्वाचन भएको थियो । यसको नाम म्यूनिसिपल चुनाव दिइएको थियो । यद्यपि, निर्वाचन आयोग भने पहिलो निर्वाचनको ३ वर्षपछि २००७ सालमा स्थापना भएको थियो । अन्तरिम शासन विधान, २००७ अनुसार व्यवस्था भएको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सुवर्ण शमशेर जवरा नियुक्त भएका थिए । प्रजातन्त्र स्थापना भएपछि २०१० तत्कालीन काठमाडौं नगरपालिको निर्वाचन भएको थियो । पाँच दल सहभागी काठमाडौं नगरको निर्वाचनमा महिलालाई समेत मताधिकारको प्रयोग गर्ने अधिकार दिइएको थियो । त्यसको लगत्तै ४ वर्षपछि काठमाडौंमा फेरि अर्को नगर निर्वाचन भएको थियो । २०१४ साल माघ ७ गते भएको यो निर्वाचनमा ४९ जनाले विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारको तर्फबाट उम्मेदवारी दिएका थिए ।

 



ADVERTISEMENT

  


 


२०१५ मा पहिलो संसदीय निर्वाचन

जनता विद्रोहमा उत्रिएसँगै २००७ सालमा राणा शाषन अन्त्य भएर देशमा प्रजातन्त्रको घाम उदायो । जनताले आफ्नै हातबाट प्रतिनिधि छनोट गर्ने अभ्यास भने २००७ सालमा भएको थियो । नेपाल अधिराज्यको संविधान, २०१५ अन्तर्गत नेपालमा ७ फागुन, २०१५ मा पहिलो संसदीय आम निर्वाचन भएको थियो ।

महेन्द्रले गराएका थिए ०१८ मा निर्वाचन

२०१५ मा प्रतिनिधिसभा निर्वाचन त भयो तर जनताले छानेका प्रतिनिधिले पूरा समय काम गर्न नपाउँदै राजा महेन्द्रले २०१७ पुस १७ गते शासन आफ्नो हातमा लिएर पञ्चायती व्यवस्था सुरु गरे । राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेसँगै ०१८ फागुन ७ गते पञ्चायतको निर्वाचन गराएका थिए । यो निर्वाचनमा मतदातालाई हात उठाउन लगाएर अनौठो किसिमले मतदान गर्न लगाइएको थियो । त्यसको १ वर्षपछि फेरि सरकारले जिल्ला र नगर पञ्चायतको निर्वाचन गराएको थियो । २०१९ सालमा जिल्ला र नगरपञ्चायतको निर्वाचन भएपछि लामो समय स्थानीय निर्वाचन हुन सकेन । २०१९ सालमा निर्वाचन भएको झन्डै १३ वर्षपछि २०३२ मा गाउँ, नगर र जिल्ला पञ्चायतको निर्वाचन भएको थियो ।

२०३६ मा राष्ट्रिय जनमत संग्रह

पञ्चायत व्यवस्थाको तीव्र विरोध भएपछि २०३६ सालमा जनतालाई व्यवस्था रोज्न दिने सहमति बन्यो र निर्वाचन भयो । तर, यो निर्वाचनमा सत्ताको दुरुपयोग गर्दै पञ्चायती व्यवस्थालाई नै जिताइएको थियो । जनमत संग्रहको २ वर्षपछि राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन भएको थियो ।

२०३९ मा नगर र पञ्चायत निर्वाचन

२०३९ सालमा फेरि स्थानीय निर्वाचन भएको थियो । देशभरका ४ हजार २२ गाउँ र २९ नगरपालिकामा ०३९ सालमा निर्वाचन भएको थियो । यो निर्वाचनमा पनि अहिलेजस्तै आचारसंहिता लागू गराउँदै मन्त्रीलाई आफू पक्षीय उम्मेदवारको पक्षमा मत माग्न रोक लगाइएको थियो । यसको ४ वर्षपछि ०४३ मा राष्ट्रिय पञ्चायत निर्वाचन पञ्चायती सरकारले गरेको थियो । यो पञ्चायती व्यवस्थाको अन्तिम निर्वाचन थियो ।
२०४८ मा प्रतिनिधिसभा निर्वाचन

२०४६ मा भएको पहिलो जनआन्दोलनले प्रजातन्त्र व्युँताएपछि ०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भएको थियो । यो निर्वाचनमा प्रजातन्त्रवादीसँगै कम्युनिष्ट पार्टीहरुले पनि भाग लिएका थिए । स्वतन्त्र तर्फबाट पनि उत्तिकै उम्मेदवार बनेको यो निर्वाचनमा कांग्रेस पहिलो दल बन्न सफल भएको थियो । २०४८ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै २०४९ सालमा स्थानीय निर्वाचन भएको थियो । ४ हजार १५ गाउँ पञ्चायत रुपान्तरण भई बनेको ३ हजार ९ सय ९५ गाउँ विकास समितिमा निर्वाचन भएको थियो ।

२०४८ सालमा भएको जनप्रतिनिधिहरुले पूरा कार्यकाल काम गर्न नपाउँदै २०५१ मा फेरि प्रतिनिधि सभा निर्वाचन भएको थियो । यो निर्वाचनमा सुनसरी ५, काठमाडौं १, रौतहट २, रुपन्देही २ र बैतडी १ मा उपनिर्वाचन भएको थियो । प्रजातन्त्र पनुःस्थापना पछि २०५४ सालमा स्थानीय निर्वाचन भएको थियो । यो निर्वाचनमा एमाले पहिलो दल बनेको थियो भने कांग्रेस दोस्रो बनेको थियो । २०५६ सालमा फेरि प्रतिनिधि सभाको निर्वाचन भयो । २०५ निर्वाचन क्षेत्रमा भएको यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र राप्रपाले तेस्रो पोजिसन कायम गरेको थियो ।

२०६२÷०६३ मा जनआन्दोलन, २०६४ मा पहिलो संविधानसभा

माओवादीले १० वर्षसम्म सञ्चालन गरेको जनयुद्धले राजतन्त्रको औचित्यमाथि नै जनताले प्रश्न गर्न थाले र ०६२÷६३ मा जनआन्दोलन भयो । यो जनयुद्धको बलमा भएको यो जनआन्दोलनले २४० वर्षदेखिको राजतन्त्र ढल्यो । राजतन्त्र ढलेपछि संविधानका निर्माणका लागि संविधानसभाको पहिलो निर्वाचन भएको थियो, २०६४ मा । यो निर्वाचनमा सशस्त्र संघर्ष गरेर आएको तत्कालीन नेकपा माओवादी पहिलो दल बन्न सफल भएको थियो ।

पहिलो संविधानसभाले संविधान दिन सकेन र यो विघटन भयो । पहिलो संविधानसभा विघटनलगत्तै ०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो र त्यसले संविधान निर्माण गर्ने अभिभारा पूरा ग¥यो । त्यही संविधानको बलमा देश संघीयताको कार्यान्वयनमा अघि बढेको छ र स्थानीय तहको निर्वाचन पनि भएको छ, भने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पनि भईसकोको छ । भर्खरै मात्रै दाङसहित ३७ जिल्लामा उपनिर्वाचन पनि पूरा भएको छ ।

प्रतिकृया

प्रतिकृया