काठमाण्डौ 
१९ मंसिर / प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

प्रधानमन्त्री ओलीलाई बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमै उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उहाँको मिर्गौलाको नियमित डायलाइसिस समेत हुँदै आएको थियो ।

प्रधानमन्त्री ओलीले गएको सोमबार अस्पतालबाटै भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भएको जानकारी दिनु भएको थियो । सन्देशमा उहाँले सागको उद्घाटन समारोह पुरै हेरेको पनि बताउनु भएको थियो ।

प्रतिकृया

प्रतिकृया