मुलुकमा दशबर्षसम्म जनयुद्ध चल्यो । २०५२ फागुन १ गतेदेखि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले राजनीतिक परिवर्तनमार्फत समतामुलक एवं समृद्ध नेपालको परिकल्पना गरि जनयुद्ध थालनी गरेको थियो । त्यसकै जगमा अहिले मुलुक समृद्धिको मार्गमा अघि बढेको छ । १० बर्षे जनयुद्ध र १९ दिने आन्दोलनकै जगमा मुलुके निरंकुश राजतन्त्र फाल्यो । जनताको ७ दशकदेखिको संविधानसभाबाट संविधान पाउने अपेक्षा पूरा भयो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनेको छ । अहिले तीनै तहमा सरकार हामी माझ छन् । तिनै तहका सरकारले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढेका छन् । जनताको विकासको अपेक्षा घर आँगनबाट पूरा हुने गरेको छ ।

दश वर्ष जनयुद्ध र दोस्रो जनआन्दोलनमा ठूलो त्याग, बलिदान, हजारौं घाइतेहरुको रगत, पसिना, हजारौं शहीद, वेपत्ता नागरिकहरुको मूल्य र लाखौं जनताहरुको योगदानले नै वास्तविक सामन्तवादको अन्त्य भयो । राणा शासनको अन्त्य होस्, या पञ्चायतको होस् वा राजतन्त्रको अन्त्य नै, यी सबै निरङ्कुशतन्त्र विरुद्ध जनयुद्ध ऐतिहासिक पहल कदमी थियो । दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मात्रै नभई २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अन्त्य गरेको छ । यो परिबर्तन गर्न आफ्नो ज्यूज्यान आहुति गरेका शहीदहरु, सयौं घाइते र अपाङ्गहरुलाई हामीले उच्च सम्मान गर्नुपर्छ । उनीहरुको भावनालाई उच्च कदर गर्नुपर्छ । अहिले समावेशिता, समतामुलक राज्य व्यवस्थामा देश अघि बढेको छ । मुलुकुको शासन व्यवस्थामा महिलाको पहुँच पुगेको छ । चुलो चौकोमा मात्रै सिमित महिलाहरु अहिले राज्यका हरेक अंगमा ३३ प्रतिशतका हिस्सेदार बनेका छन् । दलित, जनजाती, पिछडा वर्ग, मुस्लिम, अल्पसंख्यकलगायतलाई आरक्षण मार्फत प्रशासनिक निकायमा पहुँच पु¥याईएको छ ।

पछिल्लो उपलब्धिका हिसाबले हेर्ने हो भने, राज्य व्यवस्थालाई तीन तहमा विभाजन गरिएको छ । स्थानीय, प्रादेशिक र केन्द्र सरकारको परिकल्पना अनुसार गाउँ–गाउँमा राज्यव्यवस्था पु¥याइएको छ । यो व्यवस्था अनुसार अहिले जनता सानो कामका लागि काठमाडौं नै धाउनु पर्ने समस्या झन्झटबाट मुक्त भएका छन्र । अहिले देशमा स्थिर सरकार छ । जसका कारण विकासका कामहरुले गति पाउने आँकलन गर्न सकिन्छ । राणाशासन होस्, पञ्चायती व्यवस्था होस् वा राजतन्त्रमा प्रत्यक्ष रूपमा जनताको मौलिक हक अधिकार हनन् भएको थियो । तर अहिले जनताले आफ्नो वाक स्वतन्त्रा पाएका छन् । उनीहरु देश चलाउनेहरुलाई खबरदारी गर्न सक्छन् । यो जनयुद्धको ठूलो उपलब्धी हो । तर अहिले केही बिकृति पनि भित्रिएका छन् । अहिले विविध जाति, वर्ग, समुदायको साझा फूलवारीको रुपमा रहेको मुलुकमा जातियताका नाममा द्वन्द्व फैलाउने काम भइरहेको छ । जातिय द्वन्द्व सिर्जना हुँदा अहिले केही प्रदेशको नामाकरण समेत हुन सकेका छैनन् । अस्थिर राजनीतिका कारण मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ । विकास निर्माणका काम कछुवाका तालमा चलिरहेका छन् । निजी लगानीको सुरक्षा हुन नसक्दा अहिलेसम्म स्वतन्त्र व्यवसायको वातावरण बन्न नसक्नु दुर्भाग्यपूर्ण हो । हरेक दिन हजारौं नागरिक रोजगारीका लागि खाडि मुलुक पलायन भइरहेका छन् । माओवादी द्वन्द्वकालमा विस्थापित युवाहरु अझै घर फर्कन सकेका छैनन् । गाउँ अहिले युवा बिहिन छ । उजाड बनेको छ । संविधान लेखनमै दश वर्ष लगाएका राजनीतिक दलले जनताले चाहेको परिवर्तन र विकास पाउन सकेका छैनन् । दश वर्षे जनयुद्धले एकात्मक राजसंस्था फाले पनि अहिले आएका शत्ताधारीले गाउँ–गाउँमा नयाँ राजाहरु बनाउँदा जुन जोगी आएपनि कानै चिरे जस्तो भने जस्तै जनतामा चरम निराशा छाएको छ । दलहरु प्रति वितृष्णा बढेको छ । अहिले भ्रष्टाचारको जरा मात्रै होइन हाँगा पनि फैलिएका छन् । तल्लो निकायदेखि माथिल्लो निकायसम्म नै भ्रष्टाचारको दलदलमा फसिरहेको छ । पहिला सिंहदरबारमा भ्रष्टाचार हुन्थ्यो । अहिले वडालेखि नै भ्रष्टाचार मौलाएको छ । यस्ता क्रियाकलापले गर्दा नै संघीयता र गणतन्त्रमा प्रश्न चिन्ह उठाउने गरिएको छ । यी विषयहरुमा सत्तापक्षले बेलैमा ध्यान नपु¥याए परिवर्तनका विरोधीहरुले मुलुकलाई पुनः पुरानै राज्यव्यवस्थामा नपु¥याउलान् भन्न सकिँदैन ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया