रुकुम पश्चिम
फागुन १५ / नेपालमा तत्कालीन माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेकै वर्ष २०५२ सालमा एक विदेशी संस्थाले सशस्त्र संघर्षको उद्गम थलो मानिएकोे रुकुममा एउटा अस्पताल स्थापना गरेको थियो । सशस्त्र द्वन्द्वका कारण केही समयपछि विदेशीहरुले छोडेर गएपछि मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाले त्यो अस्पताल सञ्चालन गर्न थाल्यो ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालले सुगम शहरको अस्पताल जस्तो स्वास्थ्य सेवा दिने गरेको छ । त्यसैले यो अस्पताल अहिले यस दुर्गम भेगका विभिन्न जिल्लाका बासिन्दाका लागि वरदान साबित भएको छ । मानव विकास तथा सामुदायिक सेवाले ५० शैयाको अस्पताल सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । तर हरेक दिन भर्ना हुने बिरामीको संख्या भने दोब्बर हुने गरेको छ ।

वर्षै पिच्छे बिरामीको चाप बढ्दै गएपछि अस्पताललाई झन् नमुनाको रुपमा विकास गर्दै लगिएको छ । अस्पतालले पछिल्लो समय जटिल प्रकारका शल्यक्रिया सहितका सेवा दिन थालेपछि बिरामीहरुको संख्या दोब्बरले वृद्धि भएको अस्पताल प्रशासनको भनाइ छ । रुकुम पश्चिम र रुकुम पूर्वका साथै छिमेकी जिल्लाहरु जाजरकोट, सुर्खेत, डोल्पा र सल्यानका झण्डै ६५ हजार बिरामीले एक वर्षमा यस अस्पतालबाट स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

गरिब तथा विपन्न समुदायका नागरिकलाई लक्षित गरी स्वदेशी तथा विदेशी डाक्टरहरुको संलग्नतामा अस्पतालले समय समयमा गर्ने निःशुल्क स्वास्थ्य शिविरले अस्पताल प्रति बिरामीको भरोसा बढिरहेको अस्पताल प्रशासक गिरीले भने । बिरामीलाई उपलब्ध गराइने सेवा सुविधाको हिसाबले चौरजहारी अस्पताल कर्णाली प्रदेशमै नमुना अस्पतालको रुपमा स्थापित भएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताए ।

दुर्गम क्षेत्रमा रहेर पनि सुगम अस्पतालको जस्तो सेवा सुविधा उपलब्ध गराएकै कारण यो अस्पतालले धेरै बिरामीहरुको मन जित्न सफल भएको नगरप्रमुख शर्माको भनाइ छ । ‘अस्पतालमा डिजिटल एक्स–रे र भिडियो एक्स–रेजस्ता उपकरण उपलब्ध छन् भने अत्याधुनिक मेसिनबाट बिरामीको उपचार तथा अप्रेन गरिन्छ’, अस्पतालका मेडिकल डाइरेक्टर एवं बालरोग विशेषज्ञ डाक्टर कालेव बुढाले भने, ‘सिसेक्सन, एपेन्डेक्टोमी, हाडजोर्नी, पाइल्स र फिस्टुलाजस्ता रोगसँग सम्बन्धित शल्यक्रियाहरु हुँदै आइरहेका छन् ।’

डाक्टर बुढाका अनुसार हेमोलाइजर र बायोकेमिकल मेसिनको माध्यमबाट अस्पतालले एच बी काउण्ट, डब्ल्यू बीसी, आर बीसी, टीबी ल्याप्रोसी, सुगर, ब्लड ग्रुप, वाइडल टेस्ट, कालाजार, मलेरिया, एच. आईभी. एड्स, हेपाटाइटिस, गर्भवती परीक्षण लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी आँखा उपचार सेवा, दन्त उपचार सेवा र खोप सेवा पनि अस्पतालले सञ्चालन गर्दै आइरहेको छ ।

अस्पतालले पाँच वर्षमुनिका बालबालिका अभिभावकलाई निःशुल्क उपचार तथा खानाको व्यवस्था सुरु गरेपछि आर्थिक रुपमा विपन्न नागरिकहरुलाई ठूलो राहत पुगेको छ । गएको वर्षको साउन महिनादेखि सुरु गरिएको व्यवस्थाअनुसार अस्पतालले बिरामी बालबालिकालाई दूध, लिटो, अण्डा र अभिभावकलाई खानाको व्यवस्था गरेको अस्पतालका सहायक प्रशासक पूर्णबहादुर थापाले बताए ।

गएका वर्षमा अस्पतालमा दैनिक एक सयदेखि डेढ सय जना बिरामी आउने गरेकोमा अहिले दैनिक सरदर दुई सयदेखि पाँच सयसम्म बिरामी सेवा लिन आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालले अन्र्तराष्ट्रिय स्तरको पुरस्कार समेत जितेको छ । नेदरल्याण्डको अन्तर्रा्ष्ट्रिय म्यानेजमेन्ट एसोसिएशन नामक संस्थाले गएको वर्ष कजाकिस्तानमा गरेको सम्मेलनमा चौरजहारी अस्पतालले सामाजिक क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेबापत विश्वका ५५ देशलाई पछि पार्दै ‘गोल्डेन अवार्ड’ प्राप्त गरेको थियो ।

प्रतिकृया

प्रतिकृया