दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(मकै सुपरजोन) कार्यक्रम केही बर्षदेखि सञ्चालन भईरहेको छ । मकै सुपरजोन कार्यक्रम शुरु भएपछि अहिले देउखुरी क्षेत्रमा मकै उत्पादन बढिरहेको छ । तीन सिजनमा मकै उत्पादन हुने गरेको छ । जसले गर्दा त्यस क्षेत्रका किसानहरुको जीवनस्तर पनि सुधार हुँदै गएको छ । यसैसन्दर्भमा तुलसीपत्रकर्मी प्रियास्मृति गजमेरले परियोजनाका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत महेश रेग्मीसंग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।– सम्पादक

के मा ब्यस्त हुनुहुन्छ आज–भोली ?
हामी अहिले परियोजनाको दोश्रो चौमासिक अवधिको अन्त्य तिर छौं । दोस्रो चौमासिक अवधिमा यस परियोजनाबाट सम्पन्न भएका क्रियाकलापहरुको अनुगमन गर्ने कार्य भइईरहेको छ । साथसाथै अगामी वर्षको कार्यक्रम तयार गर्नको लागी योजनाहरूको तयारीमा पनि लागेका छौं । यससंगै यसै परियोजनावाट सञ्चालन गर्नुपर्ने कष्टम हायरिङ्ग सेन्टर, पोष्ट हार्भेष्ट सम्बन्धी कार्यहरू र साना सिंचाई आयोजनाको छनौट तथा सम्झौता सम्बन्धी कार्यहरुमा ब्यस्त छु । साथै मकै बालीको उत्पादन रेकर्ड लिने कार्यमा पनी लागीरहेको छु ।

मकै सुपरजोन भनेको के हो ? आम किसानले बुझ्ने गरि बताईदिनुन ?
नेपालको कृषि क्षेत्रमा बिविधिकरण रहेको छ । सिंगो कृषि क्षेत्रमा छरिएर लगानी गर्दा कृषिमा उपलब्धी हाँसिल गर्न निकै कठिनाई भयो र हामीले गरेको कार्यको नतिजा नगन्य मात्रामा देखियो । यस्तो अवस्थामा कुनै एकवटा वालीलाई मात्र प्राथमिकता दिने र नेपाल सरकारको स्वामित्वमा रहने गरी स्वदेशी सोँच तथा स्वदेशी लगानी, आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीतिको सहयोगी परियोजनाको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परिकल्पना गरियो ।

उक्त परियोजनामा निश्चित क्षेत्रफलको आधारमा ४ वटा संभागहरु रहेका छन् जस्तो पकेट, ब्लक, जोन, सुपरजोन । ति मध्ये औद्योगिक क्षेत्र बिकास कार्यक्रम नै सुपरजोन (कम्तीमा १००० हे. क्षेत्रफल) मा सञ्चालन हुने हो । सुपरजोन मार्फत मूल्य श्रृंखला विकास कार्यक्रम, विज्ञान प्रविधि तथा प्रसार कार्यक्रम, ब्यवसाय विकास कार्यक्रम, खाद्य तथा पोषण सुधार कार्यक्रमहरुलाई आधार मानि कार्यक्रम तर्जुमा हुने गर्दछ र हाल यस क्षेत्रमा मकै वालीलाई प्राथमिकतामा राखेर औद्योगिकरण, वजारीकरण तथा यान्त्रिकिकरणका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

मकै वालीलाई जोड दिएर कार्यक्रम सञ्चालन गरिएकोले यसलाई हामी मकै सुपरजोन भन्छौ । मकै सुपरजोनसंगै दाङ्गमा मौरी जोन तथा तोरी जोनका कार्यक्रमहरु पनि ‌सञ्चालनमा छन् । ति जोनहरुले तोरी तथा मौरीपालनका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । मकै सुपरजोनले मकै वालीलाई समेटेको छ ।

तपाईको कार्यालयले किसानको लागि के कस्ता कार्यक्रम गरिरहेको छ ?
विशेषशतः यस परियोजनाले मकै खेतिमा यान्त्रिकिकरणको क्षेत्रमा फड्को मारेको छ । हामीले गरेको परिकल्पना सफल हुँदैछ । यस परियोजनाबाट कष्टम हायरिङ्ग सेन्टर स्थापनामा अनुदान कार्यक्रम मार्फत समूह सहकारी तथा उद्यमीहरुलाई कृषि औजार उपकरणहरु उपलव्ध गराएका छौँ । साथै साना सिंचाई कार्यक्रम सञ्चालनमा छन् । हामीले यसै वर्षमात्रबाट चिसो मकै सुकाउनेदेखि प्रशोधन केन्द्र स्थापना गर्ने योजना वनाएका छौ ।

यसको लागि प्रस्ताव समेत छनौट भैसकेको छ । साथै ३० हेक्टर क्षेत्रफलमा मकै वाली क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिएको छ, जसमा नेपालको हाइब्रीड मकैको जात रामपुर हाइब्रिड १० लाई प्राथामीकता दिइएको छ । कृषि यान्त्रिकीकरण सिकाई केन्द्र स्थापना, प्रविधि प्रदर्शन, मकै वाली जातिय प्रर्दशनसंगै भर्मिकम्पोष्ट उत्पादन सहयोग कार्यक्रमहरु सञ्चालनमा छन् । मकै सुपरजोन क्षेत्रका कृषकहरुलाई समेट्ने गरी पोष्टहार्भेष्ट सहयोग कार्यक्रम, त्रिपालमा अनुदान तथा चक्लावन्दी कार्यक्रमहरु तथा हिउँदे र बसन्ते मकै खेती गरी उत्पादन बढाउने कृषकलाई प्रति हे १०,००० का दरले प्रोत्साहन अनुदान दिने कार्यक्रम पनी सञ्चालन गरिरहेका छौँ ।

यो कार्यक्रमले के किसानको दैनिकी फेरिएकै छ त ?
कृषकको दैनिकी फेरिएकै छ या छैन मूल्यांकनको पाटो हो तर कृषकले गर्ने खेती प्रणालीमा परिबर्तन भएको चाहि अवश्य छ, मकै खेती सजिलो र नाफा मुलक भएको छ । पहिले देउखुरी क्षेत्रमा मकै वालीलाई बर्षे वालीको रुपमा लिईन्थ्यो भने अहिले ३ सिजनमा मकै खेति भैरहेको छ । कृषकले मकैलाई न्यून मूल्यको वालीको रुपमा लिने गर्दथ्यो भने अहिले मकै वालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । मकै बालीलाई नै मुख्य ब्यवसाय मानेर प्रस्ताव पेश गर्ने यूवा वर्गको कमि छैन, यसबाट पनि भन्न सक्छौं कि अव मकै वालीले हाम्रो कृषक वर्गको दिनचर्यामा अवश्य परिवर्तन ल्याउने छ ।

मकै सुपरजोनले खास गरी कस्ता कस्ता किसानका हकमा काम गर्छ ?
मकै सुपरजोनले मकै खेति गर्न ईच्छुक तथा मकैजन्य वस्तुसंग आवद्ध भएका कृषक समूह, सहकारी, उद्यमीहरुलाई समेट्ने गर्दछ ।

दुर दराजका वस्तीमा खेति गर्ने किसान सम्म यो कार्यक्रम पुगेको छ त ?
राजपुर गाँउपालिकाको क्षेत्रमा हाम्रो सेवाहरू त्यति प्रयाप्त मात्रामा पुगेको छैन । यसका पछाडि त्यस क्षेत्रमा दर्ता भएका समूह सहकारी तथा उद्यमीहरूको कमी र हाल कृषक समूह स्थानीय तहमा दर्ता गर्ने प्रावधान रहेको छ । सकेसम्म बढी समूह दर्ता गर्न सके हामी ती कृषकहरूलाई मकै सुपरजोनमा आवद्ध गरी कार्यक्रममा समावेश गर्न सकिन्थ्यो ।

हाम्रो परियोजनाको कार्यक्षेत्र लमही नगरपालिका, राप्ती गाँउपालिका, गढवा गाँउपालिका तथा राजपुर गाँउपालिका रहेको छ । सम्भव भएसम्म हामीले सवै क्षेत्रमा समावेशी रुपमा कृषकको मागलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्दै आईरहेका छौँ । धानखोलादेखि अमेलियासम्म तथा कक्रवा, गुरुङ्गखोला, गंगदी जस्ता स्थानमा समेत मकै सुपरजोनको कार्यक्रम संचालनमा छन । हामी सबैतिर रेडियो, पत्रपत्रिकाबाट कार्यक्रम सम्बन्धी जानकारी गराउने गरेका छौं ।

बजारिकरणमा समस्या छ भन्छन् नि किसानहरुले ?
तपाईले भने जस्तै मकै वालीमा बजारको समस्या थियो पहिले । मकैको उत्पादन तथा गुणस्तर निकै कमि थियो । कृषकहरुले मकैको उचित मूल्य नपाएर मकै खेति लगभव परम्परागत वालीमा सिमित हुने अवस्था नभएको होईन तर अहिले मकै वाली सबै कृषकको रोजाई बन्दैछ । मकैको बजार माग उच्च छ । नेपाल भरको उत्पादनले पनि गुणस्तरिय मकैको बजार मागको ३० प्रतिशत मात्र आपुर्ती गर्दछ । मकैको मूल्य २०÷२२ रुपैयाँप्रति केजीबाट ३५÷४० रुपैयाँप्रति किलो पुगिसक्यो ।

मकैको बोटसहितको मूल्य तितेर कृषकहरुसंग करारमा खेती गराउने दाना उद्योगहरुको स्थापना हँुदैछ । यस्तो अवस्थामा मकै वालीमा जति बजार सुनिश्चितता अरु वालीमा छ जस्तो मलाई लाग्दैन । त्यसैले बजारको ग्यारेन्टीकासाथ ढुक्कसंग मकै खेतीमा लाग्न म कृषकहरुलाई आग्रह गर्न चाहान्छु ।

यो कार्यक्रम अन्तर्गत खेति गर्न किसानले के–के गर्नुपर्छ ?
मकै सुपरजोनले प्रत्येक आर्थिक बर्षको शुरुवातमा ३५ दिने सूचना मार्फत आवद्धताका लागि प्रस्ताव आह्वान गर्दछ । निश्चित समय अवधिभित्र सूचनामा भएको प्रकृया पुरा गरी आएका प्रस्तावलाई औद्योगिक क्षेत्र विकास सुपरजोन मकै सञ्चालक समिति मार्फत आवद्ध भएपछि मात्र कृषक समूह र सहकारी उद्यमीहरुले मकै सुपरजोनबाट सञ्चालन हुने सबै कार्यक्रमहरुमा सहभागि हुन पाउँछन् ।

मकै वालिका लागि मात्र काम गर्नुहुन्छ कि अन्य वालिको लागि पनि ?
मकै सुपरजोनले मकै वालीमा मात्र काम गर्दछ । हाल परियोजना कार्यान्वयन इकाई दाङ्ग अन्तर्गत मौरी तथा तोरी जोन समेत रहेकाले परियोजना कार्यान्यवन इकाई दाङ्गले भने मकै, तोरी र मौरीपालनमा काम गरिरहेको छ ।

यो कार्यक्रमबाट किसानले अनुदान पनि पाउ“छन् ?

सुपरजोन सञ्चालन कार्यविधिमा ब्यवस्था भए अनुसार नीति नियममा रहेर अनुदान उपलब्ध गराउदै आईरहेका छौँ । अनुदान लिनका लागि कृषकले परियोजनाको सूचनामा उल्लेख भए बमोजिम प्रकृया पुरा गर्नुपर्दछ ।

अन्त्यमा किसान दाजुभाईलाई केहि भन्नुहुन्छ ?
नेपाल कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास तथा प्राथमिकताको विकल्प छैन । ढिलो चाँडो हामीले कृषि क्षेत्रमा लगानी तथा योजना बनाउनु नै पर्दछ भने ढिला किन ? समस्या हरेक क्षेत्रमा छ भने कृषिमा पनि नभएको होईन । हामी तपाईका समस्याहरुलाई सहजिकरण गरी तपाईको आम्दानी तथा ब्यबसायको कोशे ढुंगाको रुपमा मकै वालीलाई सावित गर्न चाहान्छाँै ।

हाम्रो चाहानामा किसान दाजुभाई तथा दिदीबहिनीहरुको ईच्छा र सक्रियताको खाँचो छ । दाङ्ग जिल्लालाई मकै तोरी र महको जिल्लाको रुपमा परिचित गराउन हामी सफल हुनेछाँै भन्नेमा कृषकहरुलाई विश्वस्त गराउन चाहान्छु । साथै सोही अनुरुपको योजना सहित प्रश्ताव आएमा परियोजना कार्यान्वयन इकाई कृषकसंग हातेमालो गर्न तयार रहेको समस्त किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहान्छु ।

प्रतिकृया

प्रतिकृया