दाङको तुलसीपुरलाई सुरक्षाका दृष्टिले जोखिम शहरका रुपमा लिईदै आईएको छ । यस क्षेत्रमा अपराधिक घटनाहरु धेरै हुने गरेका छन् । विभिन्न अपराधिक घटनाहरुले पनि यस क्षेत्र सुरक्षाका हिसाबले निकै जोखिम भएको पुष्टि गर्छ । तुलसीपुरका सञ्चार उद्यमी हेमराज धितालको हत्या तुलसीपुरमै भयो । घटना भएको एक दशक भईसक्दा पनि अझै अपराधी कानुनी कठघरामा आउन सकेका छैनन् । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको हत्या भयो । अहिले उनको हत्यामा संलग्नले सजाय भोगिरहेका छन् । तुलसीपुर १२ कचिलाका रामबहादुर ओलीको गएको असारमा खुकुरी प्रहार गरि हत्या गरियो । हत्याको आरोमा केही ब्यक्ति पक्राउ परिसकेका छन्, भने केही अझै फरार छन् । गएको सोमबार मात्रै तुलसीपुर ५ का हिरा डाँगीको खुकुरी प्रहारवाट हत्या भयो । यस्ता जघन्य अपराधहरु पछिल्लो समय भईरहेका छन् । तुलसीपुरमा लागूऔषध ओसार पसारको ट्रान्जिट प्वाईन्टकै रुपमा रहेको छ । जुवा तासको अखडा बन्ने गरेको छ । यस्ता थुप्रै घटनाहरुले तुलसीपुरलाई सुरक्षाका हिसाबले जोखिम शहरका रुपमा पनि लिने गरिएको छ ।

तुलसीपुरमा प्रदेश नं. ५ को प्रदेश प्रहरी कार्यालय छ, ईलाका प्रहरी कार्यालय तुलसीपुर छ । विभिन्न स्थानमा अस्थायी प्रहरी पोष्ट खडा गरिएको छ । अनुसन्धानका प्रहरीहरु खटाईएको छ । तर पनि शान्ति सुरक्षाका हिसाबले कमजोर नै देखिन्छ । यसरी वारम्वार मानिशको हत्या हुने गरि भईरहेका घटनाबाट प्रहरीले पनि पाठ सिक्नुपर्छ । शान्ति सुरक्षालाई मजवुद बनाउन प्रहरीको पनि भूमिकालाई अझै फराकिलो बनाउनु पर्ने अबस्था छ । विगतदेखिका यस्ता घटनाबाट पाठ सिक्नु पर्ने भएपनि त्यसो नहुँुनु दुःखद् पक्ष हो । भर्खरै भएको खुकुरी प्रहारको घटना राति १ बजे भयो । उनीहरुले राति १ बजे होटेलमा बसेको भनी प्रहरीले प्रारम्भीक अनुसन्धानबाट खुलेको थियो । यद्यपी प्रहरीले राति ९ बजे पछि होटेलमा मादकपदार्थ सेवन गर्न रोक लगाएको छ । तर यसको अनुगमण प्रभावकारी हुन सकेको छैन् । त्यसकै परिणाम स्वरुप पटक–पटक यस्ता घटना हुने गरेका छन् ।

घटना भईसकेपछि मात्रै हामी चनाखो हुने अवस्था नयाँ होईन् । जुनदिन घटना भयो, त्यसको अर्कोदिन प्रहरीले राति मदिरा सेवन गर्ने र राति मदिरा बेच्ने केही पसल सञ्चालकहरुलाई नियन्त्रणमा लियो । त्यो भन्दा अघि प्रहरीले प्रभाबकारी अनुगमन गरेको देखिदैनथ्यो । यस बिषयमा प्रहरी पनि सोँच्नु पर्छ । प्रहरी संगठनमा पनि केही समस्या छन् । दरबन्दी अनुसार प्रहरी खटाईएको छैन् । त्यसले गर्दा पनि सीमित प्रहरीले मात्रै शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन कठीनाई भएका छन् । यसमा राज्यले गम्भीर लिनुपर्छ । यसरी वारम्वार घटना हुने क्षेत्र तथा सम्भावित घटना हुन सक्ने क्षेत्रमा प्रहरीको सक्रियता बढाउनुपर्छ । स्थानीय स्तरमा पनि यस्ता अपराधिक घटना हुन सक्ने सम्भावना रहेमा नागरिकले प्रहरीलाई खबर गर्नुपर्छ । शान्ति सुरक्षामा नागरिकको भूमिका पनि महत्वपूर्ण हुन्छ । शान्ति सुरक्षा कायम गर्नकै लागि सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अघि बढाईएको छ । यो कार्यक्रमको भूमिका पनि महत्वपूर्ण हुनुपर्छ ।

प्रतिकृया

प्रतिकृया