बाँके
१९ जेठ / बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दुर्घटनामा मृत्यु हुने १२ जनाकै सनाखत भएको छ ।

सशस्त्र प्रहरी बल स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा निमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश कार्की छन् । मृत्यु हुने अधिकांश रोल्पा र दाङका छन् । 

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ आँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै, आजै आइतबार राति भएको दुर्घटनामा मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । भारतबाट आएका ति नेपालीहरुमा कोरोना संक्रमण आशंकामा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेस श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया