काठमाडौं,
२५-असार /  नेपाली भारतीय न्युज च्यानलहरु प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको हो । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय नेपाल-भारत सीमा विवाद बढेपछि भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको छ । यसै साता प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक र भ्रमपूर्ण सामग्री भारतीय च्याननलहरुले प्रसारण गरिरहेका छन् ।

‘यो काम हामीले सरकारको निर्देशनमा गरेका होइनौँ । हामी नेपालमा भएका अपरेटर लाइसेन्स लिएर काम गरेका छौँ । यो चाहेको अवस्थामा बन्द हुन सक्छ भन्ने सन्देश पनि हो’, म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले भने ।

उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हौं ।

उनले अगाडि थपे, ‘हामीले २५–३० लाख टेलिभिजनका दर्शकले हेर्ने च्यानल बन्द गर्न सक्यौँ । अब करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो।’ इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म हामीले चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न ।’

सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम”हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।

प्रतिकृया

प्रतिकृया