प्रिया स्मृती गजमेर, लमही
१२-साउन /  दाङको देउखुरीमा काठ तस्कर र प्रहरीबीच झडप भएको छ । झडप हुँदा दुई प्रहरी घाइते भएका छन् । देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित ११ जनालाई पक्राउ समेत गरिएको छ ।

सोमबार राति करिब पौने १ बजेतिर राप्ती गाउँपालिका वडा नं. ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबीण बिडारीले जानकारी दिए ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ४ सिमलखुटी निवासी २५ बर्षीय वीरबहादुर वली, सोही ठाउँ निवासी १८ वर्षीय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षीय विष्णु गिरी, नयाँगाउँ निवासी १८ बर्षीय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नं. ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवा निवासी १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल, २० वर्षी सञ्जिव विक रहेका छन् ।

राष्ट्रिय वनबाट सालको घप्पू ल्याउँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी र डिभिजन वन कार्यालय देउखुरीबाट गएको टोलीले पक्राउ गरेको हो । काठ तस्करलाई नियन्त्रणमा लिएर फर्किने क्रममा युवाहरुले ईलाका प्रहरी कार्यालय भालुबांगबाट गएका दुई जना प्रहरी माथि कुटपिट गरि घाइते बनाएका छन् । सालको घप्पू ओसारपसारमा संलग्न युवाको जत्थाले एक्कासी आक्रमण गर्दा ईलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत प्रहरी हवल्दार मान बहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् ।

‘रातको समयमा २१ जनाको समूहले काठ ओसार्दै गरेको सुचना पाएर हामीले प्रहरीको सहयोग मागेर त्यहाँ पुगेका हौ’, सहायक वन अधिकृत लालबाबु यादवले भने‘ प्रहरी हामी भन्दा अघि घटनास्थलमा पुग्यो र उनीहरुले एक्कासी आक्रमण गरेका थिए पछि प्रहरीको भ्यान पनि घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।’ युवाहरुको साथबाट १५ थान सालको चिरान घप्पू बरामद गरेको छ ।

राप्ती गाउँ पालिका वडा नबर ४ सुङ्गुरेका अब्दुल मियाले ति युवाहरुलाई प्रयोग गरि काठ ओसारपसार गर्न लगाएको पक्राउ परेका व्यक्तिहरुले बताएका छन् । राष्ट्रिय जंगल बाट तल गाउँ सम्म एक वटा घप्पू पुर्याए बाफत एक हजार रुपैयाँ दिने गरेको उनीहरुको भनाई छ ।

पक्राउ परेकालाई बन पैदावर (साल चिरान काठ) ओसारपसार कसुर अपराध अन्तर्गत कारबाही हुने वन प्रमुख बिडारीले बताए । साथै अन्य फरार भएकाहरुको खोजि कार्य भैरहेको वन कार्यालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया