प्रिया स्मृती गजमेर , लमही
१४ – साउन / लगातारको वर्षातले ग्रामिण भेगका कच्ची सडक भत्किदा त्यस क्षेत्रमा आवतजावत गर्न समस्या भएको स्थानीयले बताएका छन् । झरीले ठाउँ ठाउँमा बाटो बिगारी दिदा अत्यावश्यक सामान किनमेल गर्न लमही बजार सम्म आउन सक्ने वातारण छैन ।

लमही नगरपालिका वडा नम्बर ९ को रिहार देखि तेलिया, कोल्तरा हुदै तरुलिया सम्म पुग्ने कच्ची सडक लगातारको झरीले बिगारी दिएको छ । शुरुको झरीले बिगारेको थोरै बाटो स्थानीय आफैले मर्मत गरेर मानिस आवत जावत गर्न सक्ने बनाए तर लगातार परेको पानीले ठुला ठुला चिरा बनाई दिँदा त्यस क्षेत्रमा सवारी साधन जान सकेका छैनन् ।

ति बस्तिहरुमा पुगेको मोटर बाटो पानीले बिगारेर समस्या सिर्जना गरेको लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसी पनि जानकारी पाएको बताए । यो बिषयमा नगर प्रमुख संग कुरा राख्ने र सके जति छिटो सडक मर्मत गर्ने वडाध्यक्ष केसीले बताए ।  देउखुरीकै मुख्य व्यापारिक केन्द्र मानिने लमही देखि त्यस क्षेत्रका लागि माइक्रो बस र जिप ओहोर दोहोर गर्ने गर्दछन ।

अहिले लकडाउन खुलेका कारण ग्रामिण भेगबाट सामान किनमेलका लागि बजार आउनेको बाक्लो भिड हुने गर्दछ तर सडक राम्रो नहुँदा उच्च दुर्घटनाको जोखिम मोल्न परेको छ । रिहार दखि अगाडी तिरको बाटो धेरै जसो स्थानमा खाल्डा खुल्दी परेको, पानी जमेको, ओरालोमा पानीको बेगले चिरा चिरा पारेको छ ।  रातबिरातमा कोहि बिरामी भैहाले एम्बुलेन्स समेत जान सक्ने अवस्था छैन, आफुहरुको समस्यालाई ख्याल गरेर वर्षाको झरीले बिगारी दिएको सडकको यथासक्य छिटो मर्मत गरि दिन त्यहाँका स्थानीयले लमही नगरपालिकालाई अनुरोध गरेका छन् ।

यसै बिषयमा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले वर्षाले नगर भित्रका दूरदराजका सडक कहाँ कहाँ बिगारेको छ ति सबै स्थानको अनुगमन गर्ने, पहिचान गर्ने र स्थानीयलाई लमही सम्म आउन सक्ने खालको वातावरण गराईने बताए । त्यस्तै राप्ती पारि रहेका बस्तीहरुको पनि अवस्था उस्तै छ ।

राजपुर गाउँपालिकाका माररी खोला, गुरुङ खोला, रसरी खोला लगायत अन्य खोलाका बस्तीमा पुग्न यो समयमा गाह्रो भएको त्यहाँका स्थानीयले बताए । देउखुरीको मानपुर खोला, नौसहरा खोला र त्यस सडक अन्तर्गत पर्ने अन्य खहरे खोलाले वर्षेनी दुख दिने गरेको शिक्षक असोक कुमार यादवले बताए । जनप्रतिनिधि आइसक्दा पनि अझै सम्म ति खोलाहरुमा पुल निर्माण नहुनु आफैमा लज्जास्पद भएको यादवको भनाई छ ।

गढवा गाउँ पालिकाका एक आध खोलामा पक्कि पुल बनेका छन भने राजपुर गाउँपालिकाका सबै खोलामा हाल सम्म पनि पुल बन्न नसक्दा त्यहाँका स्थानीयले ठुलो समस्या झेल्दै आएका छन् ।  राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीका अनुशार केहि दिन अघि आएको पानीले खोला तिरको बस्तीमा जाने बाटो अबरुद्द पारेको थियो गाउँपालिकाबाट जेसिबी पठाएर मर्मत गर्न लगाए पछी अहिले केहि बस्ति सम्म पुग्न सकिन्छ । गाउँपालिकाको खोलामा बसोबास गर्ने मानिसहरुलाई वर्षाको समय भएकोले सुरक्षित रहन पनि भनेको राजपुर गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया