अञ्जना चौधरी

हरि रिजालको जन्म साविक प्यूठान जिल्लाको लुङ गाविस वडा नं. ६ सिउरीकाटेमा बुवा श्यामलाल रिजाल र आमा विष्णा रिजालको कोखबाट २०३२ साल पुस ८ गते भएको हो । उनको वाल्यकाल प्यूठान र दाङमा वितेको थियो । उनी सानो छदा आमाबुवा खेतबारीमा काम गर्न गएको बेलामा घरभित्रको काम सबै गर्थे । हरिले बुवाआमा नभएको बेलामा खाना पकाउनेदेखि लिएर भैंसी दुहुने, मोही पार्नेसम्मको काम गर्न रुचाउँथे । उनले भने ‘मैले पकाएको खाना सबैलाई मन पथ्र्यो ।’ हरि ५ बर्षको हुदाँ प्यूठानमा रहेको श्रीप्रावि श्रीकाटे स्कुलमा भर्ना भएका थिए । कक्षा ४/५ मा अध्ययन गर्ने बेलामा उनी पढाई बाहेक बजारको होलसेल पसलबाट चक्लेट किनेर स्कुलका साथिहरुलाई चक्लेट बेच्थे । त्यो अहिले पनि सम्झिरहन्छन् ।

एउटा सिङ्गो प्याकेटको चक्लेट बेचेर फाईदा भएको ८/१० रुपैयाँ स्कुलमा नास्ता खानेदेखि मेला घुम्नको लागि सदुपयोग गरेको उनी बताउँछन् । कक्षा ५ सम्म प्यूठानमा अध्ययन गरेका उनी कक्षा ५ को जिल्ला स्तरिय परिक्षामा जिल्ला टप भएका थिए । त्यसपछि उनको परिवार २०४३ सालमा हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरमा बसाई सरि आएको हो । २०४३ सालबाट नै उनी रक्षाचौर स्कुलमा कक्षा ६ मा भर्ना भए । त्यसपछि २०४४ सालमा तुलसीपुरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पढाई सुरु गरेका हुन् । उनले २०४८ सालमा महेन्द्र स्कुलबाट एसएलसी पास गरेका थिए । एसएलसी पछि उनी दुई बर्ष भारतको स्रोतगढमा आईएसी अध्ययन गरेँ ।

त्यसपछि २०५२ सालमा उनी काठमाडौँको महेन्द्ररत्न क्याम्पस ताहाचलबाट व्याचलर अध्ययन सुरु गरेँ । त्यहाँ व्याचलरको पढाई सकेर उनी पुनः दाङ आए । उनको भविष्यमा डाक्टर बन्ने ईच्छा थियो । उनको बुवाआमाले पनि छोरालाई बुढानिलकण्ठमा पढाउने डाक्टर बनाउने चाहाना राखेका थिए । पछि उनी डाक्टर तिर नभई म्यानेजमेन्ट तर्फ लागे । ‘आईएसीपछि म फेरि म्यानेजमेन्ट पढ्न लागे त्यसकारण डाक्टर पढिएन’, उनले भने‘घरको कारण भन्दा पनि आफ्नै कारणले डाक्टर पढ्न पाईन ।’

आफु डाक्टर नभए पनि उनी सन्तुष्ट छन् । पैसाका लागि नभई सन्तुष्टिका लागि काम गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी आफ्नो कामप्रति पूर्ण सन्तुष्ट भएको बताउँछन् । आफूले डाक्टर बन्न नपाएपनि स्वास्थ्य क्षेत्रमै आफु आबद्ध भएको उनी बताउँछन् । सामान्य उपचारको लागि पनि विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई मध्येनजर गर्दै स्वास्थ्य क्षेत्रको व्यवसाय सेवामुखी व्यवसाय हो भन्ने सोचका साथ स्वास्थ्य व्यवसायमा आफु लागेको उनको भनाई छ । सेवाको लागि काम गरेमा मेवा एक दिन अवश्य मिल्ने उनी बताउँछन् ।

जीवनमा गरेको राम्रो काम

उनले दाङमा पाँच/सात वटा संस्था जन्माएको बताउछन् । उनी भन्छन् ‘मैले उत्पादन गरेका सबै संस्था सफल भएका छन् ।’ आफुले २०५३ सालमा स्थापना भएको मेरिगोल्ड ईङ्लिस बोडिङ स्थापना, तुलसीपुरको राप्ती शान्ति उद्यान पार्कको कल्पनाकार, त्यसैगरी हाम्रो पहुँच सहकारीको ४ बर्ष अध्यक्ष भएर काम गरेको उनी बताउँछन् । नेपालमा सहकारीको पहिलो पेट्रोलपम्प स्विकृत र सञ्चालन गर्ने काम आफुले गरेको, सहकारीको पहिलो रेडियोको कल्पना गर्ने र रेडियो चलाउने काम गरेको, तुलसीपुरमा एउटा मात्रै यातायात व्यववसायी समिति रहेको अवस्थामा साना माझौैला यातायातका साधनका समितिको संस्थापक अध्यक्ष भएर समिति दर्ता गरेको उनी बताउँछन् ।

आफुले स्थापना गरेको उक्त यातायात समितिमा अहिले साढे तीन सय बढि गाडीहरु सञ्चालनमा रहेको उनी बताउँछन् । दाङमा नर्सिङ कलेज थिएन् । दाङका छोरी चेलीहरु नर्स पढ्न घर छोडेर जानु पर्ने बाध्यता थियो । कोही नर्स बन्ने चहाना हुँदाहुँदै पनि अध्ययन गर्न जान पाउँदैनथे । अहिले आफ्नै अाँगनमा नर्सिङ कलेज खोलेपछि सहज भएको उनी बताउँछन् । नेपालमा पहिलो टियूबाट सम्वन्धन प्राप्त प्राविधिक शिक्षामा विएसी एजी कृषी कार्यक्रमको कृषी कलेज सुरु गरेको उनी बताउँछन् । उनी हाल राप्ती लाईफ केयर हस्पिटल प्रालिको अध्यक्ष हुन् । समुदायलाई शिक्षित बनाउनुपर्छ भन्ने उद्देश्यका साथ शिक्षा र स्वास्थ्य क्षेत्रमा बढि लगानी गरेको भन्दै त्यो नै सबैभन्दा राम्रो काम गरेको महसुस भएको उनी बताउँछन् ।

वैवाहिक जीनमा भाषाको समस्या

उनले २०५३ सालमा उनले मागी विवाह गरेका थिए । उनका एक छोरा र एक छोरी छन् । भारतको केरलाबाट आफन्तको सहयोगमा उनले विवाहा गरेका थिए । वैवाहिक जीवनमा बाधिएसंगै जीवनमा परिपक्पताको विकास हुने मान्यता राख्ने उनले साँेच्ने कुरा, अरुसंगको व्यवहार, हिँडडुल गर्ने सबै कुरामा विवाहपछि भिन्नता आउने बताए । आफुले जीवन साथी सोँचे भन्दा राम्रो पाएको भन्दै उनले आफ्ना हरेक चाहानाहरु पूरा गर्नको लागि कुनै अबरोध नगर्ने गरेको उनले बताए । ‘मेरो श्रीमती घमण्ड गर्दिनन् सरल स्वभावको छिन् सक्षम र सरल स्वाभावको श्रीमती पाए भनेर म गर्व गर्छु’, उनले भने ‘भारतको केरलाबाट बिहे गरेका कारण तीन बर्षसम्म परिवारमा भाषाको समस्या भोग्नु परेको थियो ।

श्रीमतीले नेपाली भाषा नबुझ्ने भएकाले अंग्रेजीमा कुरा गर्नु पथ्र्यो ।’ अहिले पनि केही नेपाली शब्दहरु नबुझ्ने गरेको उनी बताउँछन् । अहिले घर बाहिरको काममा बढि व्यस्त हुने भएकाले परिवारबाट घरमा समय नदिएको भनि केही गुनासो आउने गरेको भएपनि समग्रमा सन्तुष्ट रहने गरेको उनी बताउँछन् । उनले अबको बाँकी जीवन संघसंस्थामै विताउने बताएका छन् । अर्को तर्फ उनले राजनीतिलाई पनि संगसंगै लैजाने योजना बनाएका छन् । उनी भन्छन् ‘परम्परागत राजनीतिलाई पेशा व्यापार बनाईयो जस्ले गर्दा भ्रष्ट्राचार मौलायो । राजनीतिलाई सेवा ठानिएन यसलाई बदल्नको लागि लागि पर्ने छु ।’

प्रतिकृया

प्रतिकृया