जयन्ती चौधरी, तुलसीपुर
२७ साउन / ईलाका प्रहरी कार्यालय तुलसीपुरले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई मुद्दा चलाउने गरेको छ । यसअघि सम्झाई बुझाई गरि जरिवाना काट्ने मात्रै गरिएको भएपनि अहिले भने प्रहरीले पक्राउ गरेर मुद्दा नै चलाउन थालेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार पछिल्लो डेढ महिनामा १६ जना सवारी चालकलाई पक्राउ गरि मुद्दा चलाईएको छ । मापसे गरेर सवारी चलाउँदा दुर्घटना बढेको र चालकको मापसे गर्ने बानी पनि सुधार नभएकाले यसरी मुद्दा नै चलाउनु परेको उनको भनाई छ । ‘पछिल्लो समय दुर्घटना बढिरहेको छ, चालकहरुले पनि जरिवानाले मात्रै अटेरी गर्नुहुन्छ’, उनले भने ‘त्यसैले यसको सुधार गर्नका लागि हामीले पक्राउ गरेर मुद्दा नै चलाउन थालेका छौं ।’

ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका १६ जनालाई अहिले जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ । पक्राउ परेका उनीहरुलाई २५ दिन थुनामा राखेर अनुसन्धान गरिने प्रमुख सिंहले बताए ।

मापसे गरेर सवारी चलाउनेलाई सार्वजनिक नैतिकता विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्ध कसुरमा मुद्दा चलाईएको छ । सार्वजनिक नैतिकता विरुद्धको कसुरमा २५ हजार जरिवाना बुझाउनु पर्छ भने, सार्वजनिक शान्ति विरुद्ध कसुर ऐनमा एक वर्ष कैद र १० हजार जरीवाना हुने कानुनी व्यवस्था छ । अहिले मापसे गर्ने चालकलाई मुद्दा चलाउन थालेपछि अन्य चालकहरुले मापसे गरेर सवारी चलाउने क्रम पनि न्यूनीकरण भएको सिंहले बताए ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसंग समन्वय गरेर उक्त अभियानलाई अघि बढाईएको हो । तुलसीपुरमा ट्राफिक व्यवस्थापनलाई पनि प्रभावकारी बनाउने गरि विभिन्न अभियान पनि अघि सारेको उनको भनाई छ ।

उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि ब्रेथलाइजर टेष्ट, ह्वीलक अभियान, विभिन्न दुर्घटना हुने क्षेत्रको पहिचान गरी बोर्डको स्थापना र सडक–सडकमा ‘डेमो शो’ गर्नुका साथै चालक, सह–चालकलाई समेत प्रशिक्षण दिईएको छ । साथै उनले विभिन्न अपराधिक गतिविधि न्यूनीकरणका लागि टोल–टोलमा सुरक्षा समिति समेत गठन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया