दीपक बोहरा,तुलसीपुर
४ भदौ/ दाङमा गोरुमा ‘लम्पी स्किन’ रोग देखा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का दुईवटा गोरुमा उक्त रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका पशुशाखा प्रमुख सुवास आचार्यले बताए ।

ति मध्ये एउटा गोरुको अबस्था गम्भीर रहेपनि अर्को गोरु भने सामान्य रहेको छ । उक्त रोग गोरु, गाई, भैसीमा देखा पर्ने उनले बताए । “ यस अघि झापा मोरङ तिर गाई, भैसी, गोरुमा लाग्ने यो रोग देखा परेको थियो”, उनले भने“ सोमवारदेखि तुलसीपुरमा पनि देखा परेको छ ।”

सरुवा रोग भएकाले किसानहरुलाई पशुहरुलाई घरभन्दा टाढा नलैजान सुझाब दिईएको उनको भनाई छ । उक्त रोग सरुवा रोग भएकाले सबै पशुमा पनि सर्न सक्ने भएकाले सजकता अपनाईएको प्रमुख आचार्यले बताए । दुई गोरुमा उक्त रोग देखा परेपछि आसपासका करिब २५/३० वटा गाई, भैसी तथा गोरुको नमूना संकलन गरि परीक्षणकालागि काठमाडौं पठाउने तयारी रहेको उहाँले बताए ।

उनका अनुसार संक्रमित ति गोरुलाई घरमै गएर प्राबिधिकको टोलीले उपचार गरिरहेको र बाहिर नलैजान पनि भनिएको छ ।उक्त रोग लागेपछि सुरुमा १०५ डिग्री फेरानाइट ज्वरो आउने, खटिरा आउने हुन्छ । ‘लम्फि स्किन’ लागेपछि मर्नेको संख्या ५/१० प्रतिशत मात्रै हुने भएपनि रोग लागेपछि पशुले दूध कम दिने, बाँझो पन हुने, गर्भ तुहिनेजस्ता समस्या हुने भन्दै व्यबसायीक पशुपालनमा समस्या हुने उनको भनाई छ ।

भाइरसबाट सर्ने उक्त रोगको भ्याक्सिन नेपालमा अझै पनि नभएको भन्दै लक्षणका आधारमा उपचार गर्नुपर्ने अबस्था आएको उनको भनाई छ ।“युरोपमा उक्त रोगको भ्याक्सिन त बनेको छ, तर नेपालमा अझै आएको छैन्”, उनले भने“ त्यसैले नेपालमा उक्त रोग लागेका पशुमा खटिरा आउने हुन्छ, त्यस्तो भएमा खटिराको उपचार गर्ने, ज्वरो आएमा ज्वरोको उपचार गर्ने गरिरहेका छौं ।” पशुमा भाइरस प्रवेश गरेको दुई हप्तापछि लक्षण देखाउने उनले बताए । यो रोग फैलिन सक्ने भन्दै सजग रहन किसानहरुलाई आग्रह समेत गरिएको छ ।

प्रतिकृया

प्रतिकृया