प्रिया स्मृती गजमेर, लमही
३० भदौ / आइतबार विहान दाङको लमही-घोराही सडक खण्ड अन्तर्गत बेल्दमार नजिक सडक भासियो । पूरा सडकको आधा भाग चिराचिरा परेको छ । प्राकृतिक प्रकोपका कारण सडक भासिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए ।

‘सडक बनेको लामो समय भैसक्यो, जमिन मुनिबाट पानी बगेका कारण पनि सडक कमजोर हुँदै गयो’, उनले भने ‘जसको कारण भासिन पुग्यो ।’ देशैभरका सडकहरु १०.२ एक्सल लोडको डिजाईनमा बनेका सडक हुन् । तर दाङलगायत अन्य जिल्लाहरुको सबै सडकको अवस्था निकै नाजुक हुँदै गएका छन् ।

अत्याधिक लोड बोकेका सवारी साधन गुड्ने, सडकमा पानी चुहाउँदै सवारी गुड्ने गर्दा पनि सडक बिग्रिदै गएको छ । भासिएको स्थानमा अहिले एक तर्फबाट मात्र सवारी सञ्चालनमा छन । सडक भासिने मात्रै नभई दुर्घटनाको जोखिम बढिरहेको, विभिन्न ठाउँमा खाल्डाखुल्डी पर्ने, टिकाउ नहुने जस्ता समस्या आइरहेका छन् ।

यसरी बिग्रिने, भत्किने सडकको मर्मत गर्नका लागि कार्यालयमा बजेट नभएको उनले बताए । लमही-घोराही सडक भासिएको ठाउँ मर्मतका लागि विभागमा कुरा राखेको भन्दै केही दिनमै काम शुरु हुने उनको भनाई छ । उक्त स्थानमा मर्मतका लागि झण्डै ३० देखि ३५ लाख खर्च हुने अनुमान गरिएको छ । सडक बिग्रदै जानुमा सवारी साधनको गति तीव्र हुनु, क्षमताभन्दा बढी लोड बोकेर दैनिक सैयौ सवारी गुड्नु नै प्रमुख कारण रहेको उनले बताए । सडकमा निर्वाध रुपमा चल्ने क्षमताभन्दा बढी सवारीलाई नियन्त्रण गर्ने निकाय नै नहुँदा समस्या बल्झिएको उनको भनाई छ ।

दाङमा सञ्चालन भएका सिमेन्ट उद्योगका ट्रकलाई उद्योगबाटै सडकले थेग्न सक्ने मात्रै लोड हाल्ने परिपाटी बनाउन आवश्यक रहेको कार्यालयका प्रमुख शाक्यले बताए । अहिले यि सडकमा ३०/३५ टन बोकेका सवारी दैनिक हिडिरहने भन्दै जुन भार सडकले थेग्न नसक्ने उनको भनाई छ । ति सवारी साधनलाई प्रहरी प्रशासन, सडक डिभिजन कार्यालयलगायतले नियन्त्रणमा लिनुपर्ने उनको भनाई छ ।

समग्र दाङको सडकको अवस्था दयनीय छ । बीच सडक मै भैँसी आहाल बस्ने जस्ता ठूला-ठूला खाडल बनेका छन् । केहि दिन अघि समयमै सडक निर्माण नगरेको भन्दै देउखुरीमा त झन् स्थानीयले बीच सडकमै केरा रोपेर सरकारको ध्यानाकर्षण गराएका थिए । खाल्डा खुल्डी भएको स्थानमा रातो माटो हाल्ने, टालो हाल्नेभन्दा अन्य काम हुन् सकेको छैन ।

क्षमता भन्दा बढी लोड बोकेर ओहोर दोहोर गर्ने मालबाहक गाडी पहुँचको भरमा कुद्ने गरेको स्थानीय बताउछन । ‘प्रहरीले रोक्छ तर, सवारी धनीले हामीले पनि राज्यलाई कर तिरेका छौ किन चल्न नपाउने भन्दै प्रश्न गर्न थाल्छन् । यो कारण पनि सडक जोखिम बन्दै गएको छ’ स्थानीय भन्छन् ।

प्रतिकृया

प्रतिकृया