तुलसीपुर, ३० भदौ/ सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए ।

उनलाई फेरि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने चर्चा भए पनि नेकपाको सचिवालय बैठकले गत संसदीय चुनावमा बर्दियाबाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो ।

प्रतिकृया

प्रतिकृया