जयन्ती चौधरी, तुलसीपुर
३१-भदौ / दाङको तुलसीपुर बजारका विभिन्न क्षेत्रमा २० वटा सिसी क्यामेरा जडान गर्न लागिएको छ । अत्याधिक सवारी दुर्घटना हुने र अपराधिक गतिविधि हुने क्षेत्रको पहिचान गरि सिसी क्यामेरा जडान गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बावुराम न्यौपानेले बताए ।

तुलसीपुरमा हुने विभिन्न अपराधिक क्रियाकलाप र सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि क्यामेरा जडान गर्न लागिएको उनको भनाई छ । सिसी क्यामेरा जडानका लागि मूल्य अभिवृद्धि करसहित २० लाख ८३ हजार २ सय ९१ रुपैँयामा आरम्भ इनर्जी इलेक्ट्रोनिक प्रालिसंग सम्झौता भएको छ ।

दशैं अगाडी सबै स्थानमा सीसी क्यामेरा जडान गरि सक्ने गरि तयारी थालिएको उनको भनाई छ । ‘अहिले कुन-कुन स्थानमा क्यामेरा जडान गर्ने भनि पहिचान गर्ने कार्य भइरहेको छ, अबको केही समयमा जडान सुरु हुन्छ’, उनले भने ‘दशैं-तिहारमा धेरै अपराधिक गतिविधि पनि हुन्छन्, त्योभन्दा अगाडीनै काम सक्ने गरि हामीले तयारी गरेका छौं ।’

उपमहानगरपालिकाले तुलसीपुर उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय तुलसीपुरसंग समन्वय गरि सिसी क्यामेरा जडान गर्न थालेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सिसी क्यामेरा जडान भएपछि तुलसीपुरमा अपराधिक गतिविधिलाई नियन्त्रणमा लिन सहज हुने बताए ।

‘सिसी क्यामेरा नहुँदा अपराधिक गतिविधि न्यूनीकरण गर्न असहज हुने गरेको थियो, ‘उनले भने ‘जडानपछि भने सहज हुनेछ ।’ अहिले सिसी क्यामेरा नचल्दा रातिमा हुने चोरी डकैतिलगायत अन्य अपराधिक गतिविधि न्यूनीकरण गर्न चुनौति रहेको उनको भनाई छ ।

यसअघि पनि तुलसीपुर बजारका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको भएपनि लामो समयसम्म टिकाउ हुन सकेको थिएन् । जसले गर्दा अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न समस्या हुने गरेको थियो ।

प्रतिकृया

प्रतिकृया