हरेक सालको दशैंमा बाजे, बोई, बुवा मम्मी लगायत आफन्त मान्यजनको आर्शिवाद एउटै हुन्थ्यो ठुली मान्छे हुनु । हरेक दशैंमा पाउने आर्शिबादमा भने जस्तो ठुली मान्छे त म हुन सके की सकिन मलाई आजसम्म थाहा छैन तर पढेपछि ठुली मान्छे भईन्छ भनेर शहर छिरेकी मलाई त्यो बाल्यकाल त्यो बेलाको साथिसंगीको यादले भने निकै सताउन थालेको छ । सम्झनामा वाल्यकाल, मेरो वाल्यकाल कै भाषामा । ज्यान पो यहाँ छ र मन त उतै छ नी …


                                                                                 ADVERTISEMENT



पखेराको खेत …
हाम्रो घर देखि उत्तरमा भमके खोलाको तिरै तिर करिव १ घण्टा माथि हिडेपछि महाभारत पर्वतको काखमा हाम्रो १० गठ्ठा (पहाडमा जग्गाको मापन धुरी,कठ्ठा र विगाहामा हुन्छ तर हाम्रोमा कठ्ठालाई गठ्ठा भन्ने चलन छ ) खेत थियो । पखेरामा भएको भएर हामीले त्यो खेतको नाम पखेराको खेत राखेका थियौं । त्यहाँ बाट उभिएर हेर्दा स्वच्छ भमके खोला सलल बगेको पारी पट्टि भट्टेको पाखो वाटोमा हिडेका बटुवा देखिन्थे । एक किसिमको आनन्द आउथ्यो । बुवामम्मी, वाजे वोई सँग छुट्टिदा हाम्रो भागमा भात खानको लागी खेत परेको थिएन रे । त्यही भएर बुवामम्मीले दुःख गरेर एक गठ्ठालाई १० हजारका दरले ४० हजारमा त्यो खेत किन्नु भएको रे । त्यो खेतवाट करीव ५ मिनेट उकालो चढेपश्चात् हापूरकोट भन्ने गाउँ आउथ्यो । हामी त्यहाँ खेतिपाती गर्न गएको बेला पानी लिन त्यहाँ जान्थ्यौं । पानी लिन जाने पनि हाम्रो घरमा के चलन थियो भन्दा त्यो खेतमा खेतिपाति गर्न गएको हाम्रो परीवारको कान्छो सदस्य । उसले अरुले जति काम गर्न सक्दैन भनेर रे । तल फाँटको खेतको रोपाई सकिएपछि मात्र त्यो खेतको रोप्ने पालो आउथ्यो । त्यो खेतमा हाम्रो रोपाई करिव एक हप्ता चल्थ्यो । हामीले त्यो खेतको लागी न त बाउसे किन्थ्यौ न त रोपार्नि न त गोरु नै । सबै हाम्रै घरका सदस्यले सक्थ्यौं । पाखो भएको र खेतमा ढुंगा समेत धेरै भएको हुनाले खुट्टामा खुव हिलाले खान्थ्यो । हाम्रो घरतिर एउटा अमारो भन्ने फल हुन्छ । त्यही अमारोको पात मिचेर खुट्टामा लगायो भने हिलाले खाएको कम हुन्थ्यो । हाम्रो पखेराको खेतको रोपाई सकिएपश्चात दाङको रोपाई लगभग सकिन्थ्यो । खेतमा काल्ना धेरै भएकोले ती काल्नामा वर्षातको समयमा निकै ठूलो घाँस हुन्थ्यो । हाम्रो घरमा भैंसि प्रायः छुट्दैन । ति भैंसी पाल्ने घाँस पाईने खेत नै हाम्रो पखेराको. खेत थियो । हिउँदमा पराल दाउन हामी घरका सवै सदस्य त्यहाँ जान्थ्यौ । हाम्रो काले र पाटे भन्ने गोरु थिए । ति गोरुले समेत हाम्रो खेत चिनीसकेका थिए । यति सम्मका ज्ञानी थिए की हामीले दाइँ लगाउन कहिले मियो लगाउन परेन । यसैगरी वर्षौ सम्म हाम्रो यो प्रक्रिया चल्यो । विस्तारै हामी ठुला हुदै गयौं । हामी सबै दिदि बहिनीको माध्यामिक तहको पढाई सकियो । उच्च शिक्षाको लागी बजार जानुपर्ने भयो । बुवामम्मीलाई मात्रै त्यो खेत लगाउन गाह्रो हुने भयो । उव्जाउ कम दुःख धेरै हुने भएकोले हामीले हाम्रो इतिहास बोकेको खेतलाई बेच्ने शुर ग¥र्यौ । वसाइसराइको लहरले गर्दा त्यो माथिको गाउँमा रोल्पाबाट बसाईसराई गरी आएका एक जनालाई उक्त खेत रु ४ लाखमा बेच्यौं । खेतको जति माया त्यो पैसाको कहाँका हुनु र ? यसरी इतिहास बोकेको खेत हामीबाट सदाको लागी टाढा भयो । धेरै वर्ष भएछ उक्त खेत सम्म जान नपाएको । फेरी एकपटक त्यो खेतमा पुग्न मन छ । गुन्टे गोरुको पूच्छर समातेर परालको थुप्रोमा दुई बल्ड्याङ हान्न मन छ । घाँसको भारी बोकेर कुलाको बाँधमा हिड्न मन छ ।

भमके स्कुल …
हाम्रो गाउँको एक मात्र माध्यामीक विद्यालय थियो विरेन्द्र माध्यामीक विद्यालय, अहिले प्लस् टु सम्म पठनपाठन हुने रहेछ, जसलाई हामी भमके स्कुल भन्ने गर्थ्यौ । म कक्षा ६ सम्म अन्यत्र अध्ययन गरी कक्षा सातमा त्यहाँ अध्ययन गर्न गएकी थिए । अहिले संसार सानो लाग्छ त्यो बेला एउटै गा.वि.स.को ९ वटा वडा पनि कति ठूलो लाग्थ्यो । विभिन्न वडा बाट पढ्न आउदो रैछन् त्यहाँ । नयाँ – नयाँ साथि सँग चिनजान गर्न पाउदा क्या खुशी लाग्दो रैछ । निकै टाढाको साथि भेटाए भन्ने महशुस भाको थियो । खैरीपूर,मनिकापूर,कुहिरेपानि, सुन्पूर कता हो कताका साथिसँगी । मेरा कक्षा कोठाका साथिहरु जहिले म भन्दा धेरै उमेरका हुन्थे । हाम्रो स्कुलदेखि पारी एउटा चिरा थियो । त्यसमा धेरै केतुतेका घारी थिए । केतुकेको पातमा तिखो काँडा हुन्छ । त्यही काँडा निकालेर केतुके कै पातमा केटा र केटीको नाम जोडेर लेख्ने चलन रैछ । कुरकुरे वैंस आउने उमेरमा कक्षाका केटा केटी अलिअलि मायाँमा फस्नु स्वभाविकै हो । एकदिनको कुरा हो त्यो केतुकेको पातमा मेरो नाम पनि अर्को कुनै एउटा केटा साथिको नाम सँग जोडेर लेखेको कुरा मलाई एउटा साथिले सुनाइन् । म अनुशासनमा जहिले प्रथम पूरस्कार प्राप्त गर्ने मान्छे सवै जनाले मलाई जिस्काउन थाले । सवै साथि सँग मिलेर म त्यो नाम मेटाउन गए । कक्षामा आउँदा आधा कक्षा सकीसकेको रैछ । सरको पिटाई खाने कुरामा हामी सबै जना ढुक्क भयौं तर म भएको कारणले गर्दा अरु सबै साथिलाई पनि नपिट्ने सरले निर्णय गर्नुभयो । लौ बाँचियो खुशीले मन गदगद भयो । चारवर्ष सम्म अध्ययन गरी उच्चशिक्षाका लागी म लगायत सबै साथिले भमके स्कुल छोड्नुपर्ने भयो । २०६३ सालको एस्.एल्.सी.प्रथम श्रेणीमा उर्तिण गरी भमके स्कुल मै छात्रातर्फ प्रथम श्रेणिमा पास् हुने छात्रा भनी इतिहास रची म भमके स्कुल वाट विदा भए । स्कुलबाट फर्किदा मम्मीले झाङामा कालो बनाई भुटेर राखेका झुरुमझरुम गर्ने दुई घान मकै र खरवारीमा फलेका टिमुर संग पिरा खुर्सानी सिलौटोमा पिसेर राखेको त्यो नुन फेरी एकपटक खान मन छ । त्यही सानी कक्षा सातमा पढ्ने फच्ची बनेर । मन् न हो के के मन लगाउछ,लगाउछ ।

तिनमनेको अम्राई को वगैंचा …
हाम्रो घरदेखि करिव पाँच मिनेटको बाटो उत्तरतिर हाम्रा वाजेको आँप को वगैचा थियो । तिनओटा कुलाको मुहान भएको हुनाले त्यो ठाउँलाई तिनमहने भन्ने गर्थ्यौ र हाम्रो गाउँमा आँपलाई अम्राई भन्ने चलन अझै पनि छ । करीब १५ ओटा आँपका बोट थिए । ति सबै बोटका नाम पनि थिए । बुडो अम्राई,वम्मे अम्राई अरु यस्तै के के हो, के के । असारलागे सँगै ति आँप पाकेर पहेलपूर हुन्थे । हाम्रो घर देखि माथि कमलाको घर थियो त्यसलाई मैले मायाँले बोलाउदा कमे भन्ने गर्थे । कमेका पनि ३ वटा बडेमानका आँपका रुख थिए । एउटा चुकिलो अम्राई अर्को सुपारे अम्राई र अर्को चाही सुन्दुरे अम्राई । असारलागे सँगै विहान विहानै पराठ लिएर हामी आँप टिप्न जान्थ्यौं । रात भर झरेर थुप्रेका हुन्थे । कहिलेकाँही त हामी अध्यारोमा लाईट लिएर समेत आँप टिप्न जान्थीम् के । एकदिनको कुरा हो रातभर पानि परेको थियो । झमझम पानी परेको बेलामा को चाँडै उठ्छ भनेर मजाले सुतेछु । बिहानपख आँप टिप्न जान अबेला भएछ । सबै आँप कमेले लगी होली भनेर हतारीएर पराठ समातेर आँपको बगैँचामा पूगेँ । ए लौन कमेले त सबै आँप जति सोरेर घर फर्किन लागेकी रैछ । मेरो पालो मलाई रीस उठ्यो । लामो कपाल लुछिदिए मैले त । उ पनि कहाँ कम की थि र मेरो कपाल पनि समाती । हाम्रो कपाल लुछालुछलाई मेरो कान्छी अन्टिले थाहा पाएर छुट्याउनु भयो । त्यसपछि करिब १ वर्ष सम्म कमेको र मेरो बोलचाल भएन । फेरी त्यसैगरी राती नै उठेर आँप खोज्न जान मन त थियो तर अब त्यो तिनमहनेको आँपको बगैँचा नै कहाँ बाँकी रहे होला र ?

चीउरीका विजुला …
हाम्रो घरदेखि माथि महाभारत पर्वत श्रृखला पर्छ त्यसको फेदमा हुर्केकी म । बाल्यकालका निकै रमाईला घटना संगालेकी छु । हाम्रो स्कुल वर्षायाममा बिदा हुने गर्थ्यो । त्यही समयमा हामी वर्षायाममा फल्ने विभिन्न फलफूल खान टाढा–टाढा सम्म पनि पूग्ने गर्थ्यौं । चीउरी भन्ने एउटा फल हुन्छ जसको भित्र पाकेको भाग खान मिल्छ भने त्यसको भित्रको बिजुलो पेलेर घिउ निकालीन्छ । घिउ अलि तितो –तितो हुन्छ । हामीले जाडोमा पकौडा खान त्यो घिउको प्रयोग गर्ने गर्थ्यौं । माथि वनमा वर्षायाममा हामी चिउरी खान तथा चिउरीका विजुला टिप्न बिहान सेबेरै खाना खाएर हिड्थ्यौ । एक पटकको कुरा हो हामी चार पाँच जना दिदि बहिनी मिलेर चिउरी खान हिडेका थियौं । चिउरी डाँडामा एउटा आँप पाकेर पहेलपुर भएको रैछ । ल आँप खान जाउँ भनेर बोटमा मात्र के थियौ हामीलाई बाँदरको एक हुलले लखेट्न थाल्यो । तुफान गतिमा भागेर धन्न बाँदरले हामीलाई केही गर्न पाएन । अनि अर्को पटक हामी ४ जना दिदि वहिनी विजुला टिप्न लाग्दा चिउरीको बोटमा निकै राम्रा चिउरी भेटिए । मेरो एकजना दिदि वोटमा चढि र हामी बाँकीले बोटबाट झरेका फल टिप्न थाल्यौं । त्यही बेलामा जोड सँग केही झरेको आवाज आयो । चिउरी झर्ने साटोमा मेरो दिदि ठूलै आवाज सहित चिउरे माटोमो भुईमा बोटबाट लडिरारैछ । त्यो बेला हामी कत्ति नै उमेरका थियौं होला र ? दिदिलाई केही भैहाल्यो भने अस्पताल कसरी लैजाने त्यो जंगलमा ? हामी सबै जना दिदि बहिनी रुनुको विकल्प रहेन । दिदिको होस् गुमेछ । एकछिन् बेहोस् भएर दिदिको होस् आएपश्चात हामीले घरमा यो घटना नभन्ने सल्लाह सहित विस्तारै घरतिर लाग्यौं । ति वनमा अझै चिउरी फल्छन् होला नी ? को जान्छ होला अहिले चिउरी खान ? जसरी हामी पहिले जाने गर्थ्यौ । कस्तो हुन्छ होला आजभोली त्यो चिउरको घिउमा पकाएको पकौंडा ?

ग्वाल…
गोठालो जाने कामलाई हाम्रो भाषामा ग्वाल जाने भन्ने गरीन्थ्यो । गर्मि समयमा हाम्रो पढाई बिहानमा हुने गर्थ्यो । हामी सँग दिउसो भरको समय खाली हुन्थ्यो । हामी केटाकेटीको काम नै ग्वाल जाने हुन्थ्यो । घरमा भएका सबै पशु लिएर खेतमा लगेर चराउने काम प्रायः मेरै हुन्थ्यो । भैंसि,गोरु र बाख्रा खेतमा छोड्यो आफू रुखको छहारीमा बसेर चारी, बाघ चारी खेल्यो तिर्ख लागे वयरका वुटा मुनीको चिसो पानी खायो । त्यो ग्वाल जाँदाको रमाईलो अव यो शहरमा खोजेर कहाँ पाइन्छ र ? बगरपूरेको चिरोमा वाख्रा निकै भुलेर चर्ने गर्थे । ऐसेलुको निकै ठूलो झाङ्घ थियो त्यहाँ । बाख्रा त्यही चर्दै थिए । म पनि ऐसेलुको काँडा पन्छाउदै त्यही झाङभित्रै पसें ।

पहेला भएर पाकेका ऐसेलु किन मिठो नहोला र ? त्यही खाँदै गर्दा म ग्वाल आएको हुँ भन्ने कुरा भुलेछु । देखेजतिका ऐसेलु खाएर बाहिर निस्कदा बाख्रा पाठाको अत्तोपत्तो रैनछ । लौ प¥यो अब फर्साद । ए आमा हो अव कहाँ खाज्ने हो ? यता खोजे उता खोजे तर बाख्रा भेटिएन । एउटा बाख्रो त्यसको लामकाने २ ओटा झक्कले बोका थिए । ग्वाल गएको मान्छेले बाख्रा नलगी कसरी घर जानु ? चार घण्टा बाख्राको खोजीमा भौतारीदा पनि बाख्रा नपाएपछि घरमा गएर बुवा मम्मीलाई भन्ने निर्णय गरीयो । डरले हतास हुँदै घरमा के पूगेकी थिए । मेरा मुटुले बल्ल ढुक्कको सास फेर्यो । बाख्रा त चार घण्टा पहिले नै घरमा आएर बाँध्नु भएको रैछ । उ बेलामा पनि फोनको जमाना हुँदो हो त मैले किन त्यत्ति धेरै दुःख पाउने थिए होला र के त्यस दिन ? कस्तो भए होला म ग्वाल जाने त्यो फाँट ? आउँछ की आउदैन होला त्यो बरकोबोट मुनी चिसो पानी ? हुन्छन् कि हुदैनन् होला त्यो फाँटमा ग्वालाहरु ?

गैराको वेलौती …
अरु ठाउँ भन्दा अलि भासिएको भागमा भएको भएर हामीले त्यो ठाउँलाई गैरो भन्थीम् । हाम्रो भाषामा अम्वालाई बेलौति भन्ने चलन छ । हाम्रा वाजे बोईका घरमा निकै धेरै बेलौतिका बोट थिए । ति सबै वेलौतिका बोटहरु बाजे र बोईका भए पनि खाने हामी नाति–नातिना थियौं । रुखको टुप्पामा पूगेर बेलौतिको हाँगा हल्लाउदै रुख मै बसेर बेलौति खाँदाको आनन्द अहिले कँही जाँदा नि नआउने नै रैछ । गैरामा रातो वेलौति थियो साह्रै मिठो । एकपटक भाद्रको महिना थियो म स्कुलवाट आएर भर्खर कपडा फेरेर बोईको घरमा आएकी थिए । रातो बलौति पाकेर गद्रिमस्यान भाछ जा न टिपेर ल्यायो भन्ने बाजेको बोली भुईमा खस्न नभ्याउदै म कुदेर गैरामा पूगें केटाकेटि न परें । जात्तेरी बेलौति त बेलौति यिनि पो बेलौति भनेर रुखमा चढ्न नभ्याउदैँ भदौरे पानि भरररर गर्दै आयो । पानीको प्रवाह नगरी वेलौतीको बोटमा चढें भदौरे पानीले मेरो शरीर भिजायो । मैले पाकेका वेलौती सवै भुईमा झारेर लगाएको कुर्ताको पलेटोमा सवै वेलौती राखेर घरतिर दौडिए । बाजेको घरमा गएर अव बेलौती खानु प¥यो भनेर भएभरका बेलौती मध्येबाट सबैभन्दा राम्रो सबैभन्दा ठूलो र त्यहाँ भएका मध्ये राजा जस्तो बेलौती दाँतले टोकेर के खान थालेकी थिए । मुखमा कस्तो नमिठो महशुस भयो यस्सो हातमा लिएर हेरेको वेलौति कुहिएर स्याउस्याउ किरा परेका रहेछन् । त्यसपछि अर्को – अर्को गर्दै सवै बेलौती हसियाले काटेर हेरेको सबै कुहिएका रैछन् । मेरो दुःख खेरै गयो । त्यसरी पानी –पानीमा रुझेर टिपेर ल्याएका बेलौती खाउँला भनेको त रहरेको खहरे भयो । ताइ न तुई हाता लाग्यो दुई भयो । सम्झनामा अझै आउँछ त्यो पहेलपूर गरी पाक्ने बलौति आजभोली पाक्छ की नाई होला ? पाक्यो भने पनि कस्ले खान्छ होला ? यत्तिकै कुहिएर पो जान्छ होला की ? फेरी त्यही बेलौतीको रुखको हाँगाको टुप्पामा पूगेर रुख नै हल्लाएर त्यही रातो बेलौती खान मन लागेको छ । मन न हो के के लाग्छ, लाग्छ ?

पवन स्कुल र रातो साइकल…
भमके स्कुल जानुभन्दा पहिले मैले पवन स्कुल मा पढेको हो । यो स्कुलमा मेरा अंकल तथा अन्टीले पनि पढाउनुहून्थ्यो । म र मेरो भाई यहि स्कुलबाट पढ्न शुरु गरेका हौं । बुवाले भाईलाई कन्नरकुटी हालेर मलाई हातमा समातेर डो¥याउदै करिब आधा घण्टाको बाटो हिडेर स्कुल सम्म पु¥याउनुहुन्थ्यो । देशमा द्धन्द्द काल चलेकोले माओवादीेले उक्त स्कुल माथिसम्म चलाउन दिएनन् रे त्यही भएर मैले त्यो स्कुल धेरै लामो समयसम्म पढ्ने अवसर प्राप्त गर्न सकिन । मैले प्लस टु सकेपश्चात् त्यही पवन स्कुलमा कक्षा १० सम्म पढाउने अबसर पाए । बि.बि.ए.स् पढ्न तुल्सीपूर बस्नुपर्ने र पढाउन चाहीँ करीव २ घण्टाको बाटो हिडेरै आउनु पर्ने भयो । आउँदा २ घण्टा र जाँदा २ घण्टा जम्मा ४ घण्टा हिडेर म जागीर खान जान्थे । त्यो बेलामा गाडी त चल्थ्यो तर गाडीमा चढ्न मेरो तलबले नै कहाँ पूग्थ्यो र ? त्यो बेलामा बाटो पनि कालोपत्रे भएको थिएन र आउँदा जाँदा बाटोमा ३ ओटा खोला पर्थे । भमके खोला,गहते खोला र पातु खोला । वर्षाको समयमा ति खोला बढेर मानिसहरु वारको पार हून्थे । म पनि जागिरमा जाँदा कहीलेकाही खोलाले गर्दा रोकिन्थँे । मेरो एकजना दिदि घोराही बसेर पढेकी थिई । म पनि एस्.एल्.सी.दिएर त्यहाँ गएकी थिए । दुई चार दिन बस्न त्यही बेलामा दिदि कै एकजना साथिले मलाई साईकल सिकाउनु भएको थियो । मलाई पनि कता – कता साईकल चढ्न रहर लाग्यो । स्कुलबाट बुझेको पहिलो महिनाको तलबले मैले स्कुल जाँदा आउँदा चलाउन रातो लेडिज साईकल किने । मन खुशीले गद्गद् भयो । पहिले ४ घण्टामा स्कुल पग्थे अब २ घण्टामा पूग्ने भए । आजभोली कार्यालयको रातो स्कुटर चलाउँदा के आनन्द आउछ ? के मजा आउँछ र ? जति मज्जा त्यो बेलामा साईकल चढेर स्कुलमा पढाउन जाँदा आउथ्यो । विधार्थिको जन्मदिनमा जानकी मिस आज मेरो जन्मदिन भनेर एक रुपैयामा ४ ओटा आउने चकलेट हातमा पाउदा र बच्चा संगै वाँडेर खानुको मज्जा अहिले सहकर्मी मित्रहरुको जन्मदिनमा डेरी मिल्क र क्याटवरी खानुको मज्जा कहाँ हुँदो रहेछ र ? गुरु पूर्णिमाका दिनमा विद्यार्थी भाई बहिनीले अनुहार भरी अबिर लगाउनुको मज्जा अहिले कहाँ पाउनु र ? कस्ता भए होलान् के ति साना नानीहरु आजभोली कतिमा पढ्छन् होला ? फेरी त्यही स्कुलमा ति साना नानि बाबु संगै कक्षा कोठामा पढाउन मन छ । जन्मदिनको चकलेट खान मन छ । फेरी त्यही रातो साइकलमा सरररर कुद्न मन छ ।

राप्ति बबई क्यापस…
पश्चिम दाङको एउटा मात्र सामुदायिक क्याम्पस हो राप्ति बबई जहाँ न्यून आए भएका बुवाआमाका छाराछोरीले अध्ययन गर्छन् भन्ने गरीन्थ्यो । म पनि त्यही वर्गमा न परेँ । मैले उच्च शिक्षाको लागी त्यही क्याम्पस् रोजेँ । पश्चिम दाङका सबै क्षेत्रबाट उच्च शिक्षा अध्ययनको लागी त्यहाँ आएका नयाँ साथिहरु सँग चिनजान भयो । कति टाढा –टाढाका साथि भाई भेटे जस्तो लाग्थ्यो त्यो बेला । यसरी अहिले जसरी पूरै नेपालका ७७ जिल्ला घुम्न पाउँछु जस्तो कहाँ लाग्थ्यो र त्यो बेलामा त संसार नै त्यही हो जस्तो लाग्थ्यो । दाङ हुदै बग्ने दुई ओटा नदी राप्ति र बबईको नामवाट यसको नाम राखिएको रैछ । म र मेरो दिदिले त्यहाँ पढ्दा एक जना आफन्तको घरमा डेरा गरी बसेका थियौँ । मेरो दिदिले एउटा सानो जागिर गर्दै बि.बि.ए.स् अध्ययन गर्दै थिइ । मैले ११ र १२ त्यही डेरामा दिदि सँगै वसेर पढेँ । क्याम्पस् पुग्न करिब आधा घण्टा लाग्थ्यो । पढाई बिहानमा हुन्थ्यो । दिउँसोभर म कोठा मै बसेर पढ्थेँ । कोठा सानो र निकै अध्यारो थियो । रात र दिन त्यो कोठामा उस्तै लाग्थ्यो । एक पटक दिदि कामको शिलशिलामा गाउँ जानुपर्ने भयो । दिदि बाहिर जाँदाको दिन नै हाम्रो कोठामा भएको भित्ताको घडि बिग्रीयो । भोली बिहानै क्यापस जानु पर्ने थियो । अहिले एक दर्जन घडी हुँदा पनि पुगेनन् भन्ने लाग्छ त्यो बेलामा मेरो नाडीमा एउटा घडी सम्म नी कहाँ थियो र ? अहिले जस्तो हातमा मोबाईल कहाँ हुनु र त्यो बेलामा ? बिहान गाडीको हर्न बज्ला नि पक्कै जस्तो लाग्यो । पौषको महिना थियो । मलाई क्याम्पस् जाने समय भयो होला भनेर तयार भएर क्याम्पस् गए । बाटोमा कोही थिएन । कता कता डर पनि लागेको थियो । म क्याम्पस् पुग्दा कति बजेको थियो थाहा भएन तर मलाई यो थाहा भयो कि म क्याम्पस् लाग्ने समय भन्दा निकै पहिले नै पूगिसकेको छु । म आफ्नै कक्षाकोठामा निदाए । अहिले जस्तो पकेट खर्च कहाँ हुन्थ्यो र म सँग ? पाँच रुपैयामा भएको भए घडीको बेटरी फेर्थे होला नी । त्यही भएर त म क्याम्पस्को कक्षाकोठामा सुतेँ । अहिले लाग्छ त्यही कहाली लाग्दा मेरा इतिहासले त मलाई मेहेनेत गर्ने प्रेरणा मिलेको छ । कस्तो भए होला अहिले त्यो राप्ति बबई क्याम्पस् । कहाँ–कहाँ पूगेका छन् होला मेरा त्यो बेलाका साथिहरु ? कहिले होला हामी सवै भेटेर चिया खाने ? आउँछ होला नि है त्यो एकदिन फेरी ???

पातु खोला…
तुल्सिपूर बजारको किनारमा पातु खोला पर्छ । हिउँदमा सुके पनि वर्षातको समयमा उर्लेर आएर धेरै धनजनको क्षति पु¥याउने गर्दछ । दाङका धरै जति खोलामा पूल हालिएको थिएन । त्यो खोलामा पनि हुने कुरै भएन । अहिले त राम्रो पूल बनेको छ । हामी बर्षात्को समयमा त्यही खोला पार गरी क्याम्पस् सम्म पूग्न पर्थ्यो । मेरो ११ कक्षाको परीक्षा सकेर घरमा गएकी थिए । १२ कक्षाको पढाई शुरु भएको थिएन । दिदि र म घरको रोपाई सकेर मात्र डेरामा जाने कुरा भयो । त्यो बेलामा हाम्रो खाना बनाउनको लागी ग्यास थिएन । दिदिले जागिर खाएर धेरै महिनापछि मात्र हामि ग्यास किन्न सक्ने भएका थियौं । त्यो वेलामा भुसे चुलो भन्ने हुन्थ्यो अहिले पनि त्यो चुलो प्रयोग गरेको पाईन्छ । त्यसमा थोरै दाउरा भए पुग्थ्यो । हामीले त्यो चुलाको लागी चाहीने काठको भुष समेत गाउँको एउटा फर्निचरबाट किनेर बोकेरै तुल्सिपूर पू¥याउथ्यौं । डेराकोलागी चाहीने चामल,दाल,तरकारी तथा भुषे चुलोकोलागी आवश्यक पर्ने दाउरा र भुष थैलामा कसेर दिदि र म डेरामा हिडेका थियौँ । २ घण्टा जति हिडेपछि तुल्सिपूर बजार आउछ । वर्षाको दिन न प¥यो पातु खोला उर्लेर आएको रैछ । दिदि तर्नसकिएला कि भन्ने हिम्मत गरेर खोलामा पसी । म पारी नै थिए । एकछिन्मा खोलाको एउटा भंगालोले दिदिलाई बगायो । दिदिले बोकेको भुष र दाउरापनि खोलाले बगाएर तल पु¥यायो । दिदिले खोलामा दुई बल्ड्याङ खाएर कसो – कसो गर्दै उठ्न सफल भई । दाउरा वगेर तल पुग्यो । यो संगै हाम्रो भुषे चुलामा खाना बनाउने अनि पढ्ने सपना पनि खोलाले बगायो । यस्तै अथाह दुःख कष्ट सम्झेर त होला अरु कोही जनताले खोलामा बग्न नपरोस् भनि सरकारी सेवामा होमिएको ।

जानकी भण्डारी
लेखापरीक्षण अधिकारी
महालेखापरीक्षकको कार्यालय काठमाण्डौँ, नेपाल

प्रतिकृया

प्रतिकृया