देवीप्रसाद शर्मा
यस आलेखको पहिलो पाटोमा कोरोना रोगको जानकारी, अपनाउनु पर्ने सावधानी बारेमा केही कुराहरू लेखेर दोस्रो पाटोमा सूर्तिजन्य पदार्थसँगको अन्तरसम्बन्धको बारेमा केही चर्चा गरिने छ । आलेखको अन्त्यसम्म पढ्ने पाठकहरूलाई चेतनामुलक जानकारी र सन्देश प्रदान गरिने छ । फलस्वरुप धूमपानका अम्मलीहरूलाई धूमपान त्याग्न मनोबल प्राप्त हुनेछ ।


                                                                                 ADVERTISEMENT



विद्बानहरूका अनुसार विगतका सामग्रीहरूको अध्ययन त्यसैलाई दोहोर्या उन होइन, त्यसको कमजोरीबाट शिक्षा लिएर आफूलाई कमजोरीमुक्त गर्नका लागि गरिन्छ । त्यही कारण यो आलेख विगतमा प्रकाशित समाचारहरू, अध्ययन प्रतिवेदनहरू, छलफलमा प्रस्तुत कार्यपत्रहरू र विचारहरूको आधारमा विश्लेषण गरी धूमपानकर्तालाई मुक्त हुन सुझाव दिइएको छ ।

म कुनै स्वास्थ्य विज्ञ होइन । विषयविज्ञ नभएकोले स्वस्थ्य मन्त्रालयका सन्देशहरू, विज्ञहरूका भनाइहरू र समाचार स्वरुप प्रकाशित जानकारीको आधारमा यो आलेख तयार पारिएको छ । साथमा हालै नेपाल विकास अनुसन्धान प्रतिष्ठानको संयोजनमा सम्पन्न सूर्तिजन्य पदार्थ, नसर्ने रोग र कोभिड–१९ लगायतका विषयमा भएको वेबिनार बैठक (जुम मिटिङ) मा विज्ञहरूले प्रस्तुत गरेका सामग्री, तथ्य र तथ्याङ्कहरूको आधारमा आलेखको दोस्रो पाटो तयार पारिएको छ ।

आलेखको पहिलो पाटोमा अहिलेको महामारी के हो, यसका लक्षण केके हुन र बचाउका सरल उपाय के हुन् भन्ने जानकारी संक्षेपमा राख्नेर छु। हुनत यी जानकारीहरू विभिन्न सञ्चार माध्यमहरूमा आइसकेका हुन् । यहा केवल एकीकृतमात्र गरिएको हो, त्यसैले पाठकलाई जानकारी दोहोरिएको भान पर्न सक्नेछ । तर, दोस्रो पाटोका लागि यो पहिलो पाटो पढनु लाभदायक हुने आशा गरेको छु ।

आलेखको दोस्रो पाटोमा सूर्तिजन्य पदार्थको उपभोगबाट अम्मलीलाई पर्ने कोरोनाको गम्भीर प्रभाव बारेमा विश्लेषण गरिने छ । सांकेतिक रुपमा केही तथ्याङ्कहरू उल्लेख गरिने छ । विश्लेषणको निष्कर्ष स्वरुप सूर्तिजन्य पदार्थको उपयोग छाड्न प्रेरित हुनेगरी सुझाव राखिने छ । अहिले विश्व नै कोरोनामय छ । धनी-गरिब सबै मुलुक यसबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी भनेको छ।

नेपालमा पनि सबैको चर्चाको विषय कोरोना नै छ । कोरोनाको कारण कामधन्दा गर्नबाट प्रभावित, बञ्चित भएकाहरूबीच यसको चर्चा नहुने कुरै भएन । अझ, टेलिफोन गर्दाका प्रत्येक घण्टीमा बज्ने कोरोनाको सन्देशले नेपालीको मानसिकता नै कोरोनामय भएको अनुमान गर्न सकिन्छ । सरकारले नेपालमा यस महामारीको प्रभाव कमभन्दा कम परोस् भनेर पहिले बन्दाबन्दी र पछि स्थानीय नियकाहरूमार्फत निषेधाज्ञाको उपाय अपनायो। तर निषेधाज्ञाको अवधिमा र निषेधाज्ञाको समाप्तिपछि संक्रमण समुदायमा फैलिएर संक्रमितको संख्या ह्वात्तै बढेको तथ्याङ्कहरू सार्वजनिक भएका छन् ।

विज्ञहरूका अनुसार कोरोना, मानव शरीरमा विषाणुको संक्रमणबाट हुने गर्छ । विषाणुको संक्रमण भएमा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी र जीउ दुख्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, सुँघ्ने क्षमतामा ह्रास हुने, स्वाद हराउने जस्ता प्रारम्भिक लक्षणहरू देखिने छन्। तर कतिपय मानिसमा यस्ता लक्षण नै देखिँदैन पनि भन्ने गरिएको पाइन्छ ।

संक्रमणका यी प्रारम्भिक लक्षण देखिनासाथ डराइहाल्नु पर्ने त होइन । किनकी मानिसको शरीरमा हुने रोगप्रतिरोधी शक्तिले यस्ता लक्षणसँग लडेर विजय प्राप्त गर्न पनि सक्नेछ । तर अन्य कुनै दीर्घ प्रकृतिको रोगको नियमित औषधि सेवन गरिरहेका बिरामीमा कोरोनाको संक्रमण भएमा शरीरमा रहेको रोगप्रतिरोधी क्षमताले परास्त गर्न नसक्ने हुँदा अस्पताल भर्ना भएरै उपचारमा जानुपर्ने रहेछ ।

विषाणुको संक्रमण फैलिएर फोक्सोमा प्रवेश गरेपछि श्वासप्रश्वासमा समस्या देखिने र फोक्सोले ठिक ढंगले काम नगर्ने हुँदा बिरामीलाई चाहिने पर्याप्त अक्सिजनका लागि भेन्टिलेटरमा राख्नुपर्ने हुनेछ । समयमै यस्तो सुविधायुक्त अस्पतालमा पुर्याचउन नसकेमा स्थिति थप जटिल भई बिरामीको ज्यान नै जोखिममा पर्ने सम्भावना हुनेछ ।

विश्वमै यस रोगको औषधि छैन। खोप पनि हालसम्म पत्ता लागेको छैन। विकसित मुलुकका विज्ञहरू औषधि एवं खोपको खोजिमा छन्, परीक्षणहरू भइरहेका छन् । केही मुलुकले पत्ता लगाएको दावी गरेका छन् तर, विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएका छैनन् । खोप अथवा औषधिको परीक्षण सफल भएर नेपालमा सर्वसुलभ हुन लामै समय लाग्ने अनुमान गर्न सकिन्छ । त्यसैले, हाल संक्रमण हुनबाटै बच्नु र शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनु उत्तम उपाय हो । यही कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन एवं जानकार विज्ञहरूले संक्रमण हुन नदिन सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

कोरोना एक सरुवा रोग हो । यसको संक्रमण, नाक, कान, आँखा अथवा मुखबाट शरीरभित्र विषाणुको प्रवेश गरेर हुने हो । यस रोगका बिरामी वा संक्रमितले खोक्दा वा हाच्छिउँ गर्दा वा थुक्दा निस्किने खकार, र्या ल, सिंगान तथा थुकका छिटाबाट हावामा निस्केका लाखौं विषाणुहरूको सिधै सम्पर्कमा पुगेमा अथवा त्यस्ता विषाणु टाँस्सिएर बसेका वस्तुमा छुँदा वा समाउँदा आफ्नै हातको माध्यमबाट नाक, कान, मुख वा आँखाबाट घाँटी हुँदै शरीरभित्र फोक्सोमा प्रवेश गरेपछि संक्रमण जटिल बन्छ ।

गला वा घाँटीको वरिपरि विषाणु रहुन्जेल लक्षण नदेखिन सक्छ तर, फोक्सोमा प्रवेश गरेपछि श्वासप्रश्वासमा समस्या देखिने, फोक्सोमा पानी जम्ने, निमोनियाको लक्षण देखिने, फोक्सोले ठिक ढंगले काम गर्न नसक्ने अवस्था हुन्छ । बिरामीका लागि आवश्यक अक्सिजन फोक्सोले आफैं लिन नसक्ने हुनाले बिरामीलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्ने परिस्थितिको सिर्जना हुन्छ ।

त्यसैले, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनस्वास्थ्य विज्ञहरूले विषाणु शरीरभित्र प्रवेश हुन नदिन पटकपटक साबुनपानीले हात मिचिमिची धुने, नाक, आँखा र मुखमा हातले नछुने, नाक मुख पूरा छोप्नेगरी मास्क लगाउने, सकेसम्म कुनै मालवस्तु नछुने, खोक्दा वा हाच्छिउँ गर्दा नाकमुख छोप्ने, समयसमयमा स्यानिटाइजरले हातलाई निर्मलीकरण गर्ने, व्यक्तिहरूसँग नजिक नबन्ने र कम्तीमा ६ फिटको भौतिक दूरी कायम गर्ने जस्ता उपायहरू सुझाएका छन् ।

साथै, पोषिलो खानपानमा ध्यान दिने, धूमपान, मद्यपान नगर्ने, पर्याप्त मात्रामा तातोपानी पिउने, आफ्नो शारीरिक क्षमता अनुसारको व्यायाम अथवा योग, ध्यान, प्राणायाम गर्ने, तनाव नलिने जस्ता उपायहरू पनि सुझावमा समेटिएको देखिन्छ । यी उपायहरूले मानिसबाट मानिसमा सर्ने विषाणुको संक्रमणबाट बचाउने छ भने पोषिला खानेकुराबाट शरीरका लागि आवश्यक पौष्टिकता पुग्ने छ र रोगप्रतिरोधी शक्ति मजबुत हुनेछ । यसका अतिरिक्त कतिपयले बेसारपानीको प्रयोगबाट, आयुर्वेदमा गुणकारी मानिएका जडिबुटीहरूको उपयोगबाट पनि यो रोगप्रतिरोधी शक्ति बढाउन र कोरोनालाई परास्त गर्न मद्दत पुग्ने सुझाव दिएका छन् ।

माथिको जानकारीमुलक लेखाइबाट कोरोना भाइरस फोक्सोमा प्रवेश गरेपछि बिरामी सिकिस्त हुने बुझियो । कुनै खास औषधि नभएकोले कोरोनाबाट बच्न फोक्सो स्वस्थ्य हुनुपर्ने, फोक्सोले पर्याप्त मात्रामा अक्सिजन लिन सक्नुपर्ने र रोगप्रतिरोधी शक्ति मजबुत हुनुपर्ने रहेछ भन्ने बुझिन्छ । अब नेपालीको फोक्सोको स्वस्थ्य अवस्थाबारे चर्चा गरौं ।

नेपाल स्वस्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको सर्भेक्षण अनुसार १५ देखि ६९ वर्षका वयस्क नेपालीमध्ये २८.९ प्रतिशतले धुँवासहित वा धुँवारहित धूमपानको अम्मल गर्छन् । यही उमेर समूहका करिब ५० प्रतिशत पुरूष त्यस्ता अम्मली छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठान नामक संस्थाले सन् २०१९र२० मा गरेको सर्भेक्षणले यस्ता करिब ३१ प्रतिशत नेपाली सूर्तिजन्य पदार्थका अम्मली रहेको देखाएको छ ।

वास्तवमा विज्ञहरूले धूमपानको कारण हुने गम्भीर रोगहरू कार्डियोभास्कुलर, क्यान्सर, फोक्सो र श्वासप्रश्वास सम्बन्धी, मधुमेह जस्ता नसर्ने रोगको वर्गमा राखेका छन् । विशेषज्ञहरू भन्छन् धुँवायुक्त धूमपान चुरोट, बिँडी, हुक्का, पाइप, चिलिम आदिले मानिसको मुख्यतः फोक्सोमै असर गर्छ । धुँवारहित सूर्तिजन्य पदार्थ सूर्ति, खैनी, गुटका, पान आदिका अम्मलीले पटकपटक वरिपरि थुक्ने, हात मुखमा लगिरहने गर्छन्। यी व्यवहार, कोरोनाबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठनले जारी गरेका सावधानी विरुद्ध हुन् । सूर्तिजन्य पदार्थको सेवन गर्ने समूहले एक आपसमा बाँडेर साझा प्रयोग गर्ने हुँदा कोरोना सार्न र शरीरमा प्रवेश गर्न थप मद्दत पुग्ने हुन्छ ।

यस विश्लेषणबाट सूर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कोरोनाको संक्रमण हुने सम्भावना नगर्नेलाई भन्दा बढी हुने देखियो । संक्रमणपछिको उपचार पनि सूर्तिजन्य पदार्थको प्रयोग नगर्नेलाई भन्दा गर्नेलाई जटिल हुने देखियो । अहिलेको कोरोनामय परिस्थितिमा धूमपान गर्ने व्यक्ति बढी खतरापूर्ण छन् । साथै, द्बितीय उपभोक्ताहरू जो स्वयं धूमपान गर्दैनन् तर सूर्तिजन्य पदार्थको उपयोगकर्ताका वरिपरि रहने गर्छन्, ती पनि उत्तिकै जोखिमपूर्ण छन् ।

प्राविधिक रुपमा धूमपानको अम्मलबाट हुने रोग नसर्ने रोगको वर्गमा परे पनि र कोरोना रोग सरुवा रोग हो तापनि धूमपानका माध्यमबाट सहजै रोग सर्ने देखिन्छ। धुँवा सहितका सूर्तिजन्य पदार्थको प्रयोगबाट सिधै फोक्सोमा नै प्रभाव पर्ने हुँदा फोक्सो बिग्रिएको हुनेछ । यस्तो अवस्थाको व्यक्तिमा कोरोनाको संक्रमण भएमा भेण्टिलेटरको सहारा लिनुको विकल्प नै रहँदैन ।

अहिले कोरोनाकै कारण कतिपयले कामधन्दा गुमाएको अवस्था छ । यस्तो समयमा धूमपान गर्ने लत झन् बढेको पनि हुन सक्छ। यदि लत बढेको छ भने त्यस्ता अम्मलीहरू थप जोखिममा पर्नेछन् । विज्ञहरूका अनुसार धूमपान छोडेको २० मिनेटपछि मुटुको चाल र उच्च रक्तचापमा सुधार हुन्छ। १२ घण्टापछि रगतमा रहेको कार्बन मोनोअक्साइडको तहमा सुधार भई सामान्य बन्छ । दुई हप्तादेखि फोक्सोले गर्ने कार्यमा सुधार र तिब्रता आउने छ ।

एक महिनापछि खोकी र श्वासप्रश्वासको समस्यामा सुधार देखिन थाल्नेछ र फोक्सो क्रमशः मजबुत बन्ने छ । अहिले कतिपय अस्पतालहरूले भेण्टिलेटरको अभाव देखाएर बिरामीलाई भर्ना गर्दैनन् । कोरोना नै संक्रमण नभए पनि धूमपानको कारण लागेका अन्य कुनै रोगको पनि उपचार दुर्लभ हुन सक्छ ।

त्यसैले, उल्लेखित सबै विश्लेषणबाट धूमपान त्यागेमा आर्थिक र शारीरिक स्वास्थ्य राम्रो बन्ने र अहिलेको महामारीबाट पनि बचिने देखिएकोले उपभोक्ताले आजैदेखि धूमपान त्याग गर्नुहुन सिफारिस गर्दछु । स्रोत : स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया