सुशिला ओली

घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरा दाङमा अवस्थित गोरक्ष रत्ननाथ मन्दिर घोराही बजारदेखि पूर्व दुई किलोमिटरको दुरीमा अवस्थित छ । विसं ८०९ मा स्थापना भएको यस मठको नेपालकै प्राचिन, ऐतिहासिक पुरातात्विक महत्व छ । श्री गोरक्ष पात्रदेवता सिद्धनाथ मठ, जसको ऐतिहासिक परम्परा विसं ८०९ सालेदेखि आजसम्म चलिआएको छ । यस मठको साँस्कृतिक धार्मिक योगिक धरोहरले हाम्रो वैदिक सनातन धर्मलाई संरक्षण गर्दै आएको छ । योगी सिद्धरत्ननाथ ज्युले स्थापना गरेको शिव गोरक्षनाथले स्थापना गरेको शिव गोरक्षनाथ, ८४ सिद्ध, ६४ योगिनी र बाला सुन्दरीको हठ योगले युक्त तान्त्रिक पूजा परम्परा आजका दिनसम्म जीवन्त शाश्वत् तथा निरन्तर रही आएको छ ।

विशेष गरेर यस मठमा फागुन कृष्ण विजया एकादशीका दिनमा पीर स्थापनाको मेला लाग्दछ । जनै पूर्णिका दिन कालीरोटी कायम रहेको छ । यहाँको ऐतिहासिक स्थलहरुमा एक हजार २ सय वर्ष पुरानो प्राचिन कुवा, गौलची वृक्ष, वट वृक्ष, लता, सिद्ध बैजनाथलिको समाधिस्थल, राष्ट्रगुरु गोगी नरहरी नाथद्धारा लगाईएको कोटिहोम स्थल, गोरखनाथ वैदिक गुरुकुल, विसं २०३३ सालमा स्थापना भएको नेपालकै पुरानो गोरक्षनाथ पुस्तकालय आदि रहेका छन् ।

 

 

विशाल हिमश्रृङ्गला बोकेर उभिएको पवित्र भूमि

हाम्रो देश उत्तरमा विशाल हिमश्रृङ्गला बोकेर उभिएको पवित्र भूमि हो । वेद पुराण आदि ग्रन्तथहरुमा उत्तराखण्ड भनेर उल्लेखित यो भू–भाग प्राचिन ऋषि महर्षिहरुको तपोभूमि पनि हो । कैयौं सिद्ध योगीहरुले हाम्रो भूमिमा आफनो चमत्कारपूर्ण सिद्धि सम्पूर्ण मानव मात्रको भलाईको लागि प्रयोग गरेको इतिहास साक्षी छ । यही पवित्र परम्पराका एउटा प्रकाशपुञ्ज सिद्ध रत्ननाथ पनि हुन् । राष्ट्रदेव शीवस्वरुप श्री गोरक्षनाथ–गोरखनाथका प्रमुख शिष्य सिद्ध रत्ननाथको प्रादुभवि पश्चिम नेपालको पावन भूमि दाङ देउखुरी उपत्यकाको चौघेरा भन्ने स्थानमा भएको हो । सिद्ध रत्ननाथको विशाल एवं सुन्दर मठ त्यहाँ विद्यमान छ । यो मठले समस्त हिन्दुमात्रको धार्मिक भावलाई आध्यात्मिक टेवा प्रदान गरिराखेको छ ।

सिद्ध रत्ननाथको अवता, दीक्षा र लोकसेवाका बारेमा विभिन्न जनश्रुतीहरु छन् । जसअनुसार कुनै समयमा यस दाङ देउखुरीमा (देवपुरी) उपत्यकामा माणिक्यपरिक्षक नाम गरेका ओजश्वी राजा रहेका थिए । उनका रत्न परिक्षक नाम गरेका सर्वगुण सम्पन्न सुपुत्र बमोजिम राज्यको शासन चलाई आएका थिए । सनातन धर्मको मर्यादा राख्न सदा प्रयत्नशील राजा रत्न परिक्षकको राज्यमा कोही भोको नागंो थिएन । प्रजालाई पुत्रवत व्यवहार गर्थे । उनको राज्य धनधान्यादि समृद्धिले परिपूर्ण थियो ।

गोरक्ष सिद्धरत्ननाथ मठको यथार्थ अवस्था

मध्यपश्चिम नेपालको चुरे र महाभारत पर्वतको मालाको बिचमा फैलिएको विश्वको सबैभन्दा ठूलो उपत्यका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरामा अवस्थित चौघेरा मन्दिर भनेर चिनिने श्री गोरक्ष पात्रदेव श्री सिद्ध रत्ननाथ मठ यस क्षेत्रको सबैभन्दा प्राचीन मन्दिर हो । राजा रत्न परिक्षकले शिकारका क्रममा सवा लाख झरखण्ड हालको पचुर्खानेर गुरु गोरखनाथको दर्शन गरेका थिए । शिकारी राजालाई राजधर्म सिकाउने क्रममा ‘उर विना षुर विना चांच सांष विना हंसा । उ जीवात मारो रे राजेसुरा जाके रकत न मंसा’ भनेर पशुको शिकार हैन मनमा भएका विकृतिको शिकार गर भनेर गुरु गोरखनाथले शिक्षा दिए । गुरुको शिक्षाबाट प्रभावित राजाले स्वंय नाथ पन्थमा दिक्षा लिई सिद्धत्व प्राप्त गरी आफनो राज जुमलाका राजकुमारलाई सुम्पिई योग प्रचारार्थ पश्चिमपट्टी लागेको इतिहास छ । पश्चिम भारत दिल्ली हुँदै, काबुल कान्धार बुलचसम्म पुगेर निकै प्रसिद्धि पाउनका साथै विभिन्न चमत्कारद्धारा अचम्मित पार्नु भएको थियो । हिन्दुका गुरुको रुपमा मानिने रत्ननाथ ज्यु सर्वधर्म समन्वय प्रतिक मानिएका छन् ।

मन्दिर दर्शनीय स्थल, पूजा पद्धति र पाटेश्वरी

श्री गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ चौघेराको भित्रको शोभा अवर्णनीय छ । यो स्थानमा अगाध शान्ति र सुखको अनुभव गर्न पाईन्छ । आजको भौतिक युगमा मानसिक शान्ति प्रदान गर्दछ । यो मठमा पाइला राख्नासाथ जन्म जन्मान्तरको पाप नष्ट हुन जान्छ । मठको चारैतर्फ रुख वृक्ष बटवृक्षका लहराहरु ऋतु अनुसारका फलफूलहरुले यसको शोभा बढाईरहेको छ । मूल प्रवेशद्वारबाट भित्र जाना साथ सामुन्ने ५/६ फुटको उचाइमा निर्मित कलात्मक दलिचा मन्दिर रहेको छ । जहाँ मठको सबै धार्मिक कार्यहरु सम्पन्न गरिन्छ । प्रत्येक वर्ष फागुन विजया एकादशीमा पीर स्थापना मेला महोत्सवमा मठका मुख्य मठाधीस पीरको चयन यसै महोत्सवमा मठका मुख्य मठाधीस पीरको चयन यसै दलिचा मन्दिरमा गरिन्छ । यो दलिचा मन्दिरको शोभा कलाकार प्रभातनाथ योगीको हातले निर्मीत विभिन्न ऐतिहासिक, धार्मिक चित्रकलाले यसको शोभा बढाएको छ ।

संरक्षणको अभावमा चौघेरा

तर हाल भने श्री सिद्ध गोरक्ष रत्ननाथ मन्दिरमा रहेका चित्र र पुस्तकहरु लथालिंग अवस्थामा छन् । यो ऐतिहासिक मन्दिरमा चित्रकार प्रभातनाथ योगीले निर्माण गरेका चित्रहरुको संरक्षण र सहि व्यवस्थापन हुन सकेको छैन । जसका कारण वर्षौ पुराना र महत्वपूर्ण मानिने ति चित्रहरु अहिले लथालिंग अवस्थामा पुगेको मन्दिरका कर्मचारी प्रकाश नेपालीले बताए । मन्दिरको विकास र संरक्षणका लागि व्यवस्थापन समिति र सञ्चालन समिति छन् । तर मन्दिरको महत्वपुर्ण सम्पदाको रुपमा रहेको चित्रालय र पुस्तकालय अहिले जीर्ण अवस्थामा पुगेको छ । तर त्यसको संरक्षण र व्यवस्थापनका विषयमा कसैले चासो दिएको छैन ।

‘सबै चित्रहरु यतै छन्, चित्रहरुको व्यवस्थापन गर्नका लागि ठूलो भवन चाहिन्छ, त्यो भवन कस्ले बनाईदिने’ मन्दिरका महन्त सुरतनाथ योगीले भने, ‘सयौं चित्रहरु छन्, त्यसको लागि छुट्टै भवन निर्माण गरेर व्यवस्थित गर्न सकिन्छ, तर बजेट छैन ।’ एक सयदेखि एक सय पचासको संख्यामा रहेका चित्रहरु एउटा अध्यारो कोठामा थुप्रो पारेर राखिएको छ भने पचास बढि चित्रहरु विभिन्न मन्दिर र घरको भित्तामा झुण्ड्याईएको छ । ति चित्रहरु अव्यवस्थित रहनु त छदैँ छ असुरक्षित पनि छन् । किनकी चित्रालयको ढोका सधै खुलै राख्ने गरिएको छ । अध्यारो कोठामा रहेका ति चित्रहरु सबैले देख्न सक्ने गरी कोठाको ढोका खुल्लै राख्ने गरेको बताईए पनि ति चित्रहरुको सुरक्षाका लागि खासै चासो देखाईएको छैन ।

प्रभातनाथ योगीले २०२० सालमा निर्माण गरेको सरस्वती देवीको चित्रदेखि २०६६ सालमा निर्माण गरेको चित्र छन् । नेपालको कर्णाली प्रदेशदेखि अन्नपूर्ण, सगरमाथा हिमालसम्मका तमाम प्राकृतिक सौन्दर्यपूर्ण चित्रहरु छन् भने नेपालको राजनीतिक ईतिहासमा देशलाई शासन गर्ने राजाहरुको चित्रहरु छन् । यस्तै शब्दचित्रदेखि मन्दिर, देविदेवताका चित्रहरु चौघेरामा अव्यवस्थित रुपमा राखिएका छन् । प्रभातनाथ योगीले लेखि छोडेको तथ्यांक अनुसार २०२१ सालदेखि मन्दिरमा उनले प्रभात आर्टको स्थापना गरेर चित्रालय निर्माण गरेका हुन् । तर धेरै चित्रहरु सानो र साँघुरो कोठामा राख्नु र त्यसको संरक्षण नहुदा पुराना चित्रहरु अहिले मासिने क्रममा छन् । मन्दिरमै रहेको पुस्तकालय पनि अहिले संरक्षणको अभावमा गुज्रीरहेको छ । ४० देखि ५० वटा ऐतिहासिक, पुरातात्वीक, धार्मिक रुपमा अति नै महत्वपूर्ण पुस्तकहरु छन् । तर ति पुस्तकहरु पनि दिर्घकालिन रुपमा संरक्षण रहने गरी व्यवस्थापन गर्न सकिएको छैन ।

प्रतिकृया

प्रतिकृया