अबको चार महिनामा थप करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान छ : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं
६-मंसिर / कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।


                                                                                 ADVERTISEMENT



‘कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन् ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने उनले बताए । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्य माथि समेत बलियो आधार तयार हुने उनको भनाइ छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलो मै पुगेर सचेतना जगाउनु पर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको जानकारी दिए । तर पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए ।

अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले बताए । सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम काम गरि राखेको मन्त्री ढकालले दाबी गरे । सामर्थ्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाइ छ ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए । उनले अहिले पनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताए ।

सरकारले अस्पतालहरुमा अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरि राखेको उनको भनाइ छ । स्रोत : कान्तिपुर

प्रतिकृया

प्रतिकृया