काठमाडौँ
११-मंसिर / मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् ।

नेपालमा बोलिने केही थप भाषाहरूको सम्बन्धमा जानकारी प्राप्त भएको छ,’ भाषा आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘भाषा आयोग, त्रिभुवन विश्वविद्यालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एवं अनुसन्धाताहरूको अध्ययनका आधारमा थप केही भाषाहरू अस्तित्वमा देखिएका छन् ।

यी भाषाहरूको विस्तृत अध्ययन हुनुपर्ने र २०७८ को जनगणनाबाट समेत तिनको सत्यापन गरिनु पर्ने देखिन्छ ।’ आयोगले यसअघिको जनगणनामा देखिएका भाषाहरूको वक्ताहरूको वितरणलाई पुनः सत्यापन गर्नुपर्ने बताएको छ । आयोगले भाषाको जनगणनाको तथ्यांकअनुसार जातजाति तथा भाषाका वक्ताहरूको विवरण ७ सय ५३ वटै स्थानीय तहमा पठाएको जनाएको छ ।

‘तर भाषाका वक्ता एवं सम्बन्धित सरोकारवालाहरूबाट भाषिक तथ्यांकमाथि प्रश्न उठाइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यसलाई सम्बोधन गर्न तत्काल उपलब्ध भएका भाषिक तथ्यांकहरूको सत्यापन गर्नुका साथै नेपालका भाषाहरूको छुट्टै सर्वेक्षणसमेत गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

संघीयता कार्यान्वयसागै मुलुकमा बोलिने भाषाहरूको संरक्षण, संवद्र्धन तथा संघ, प्रदेश र स्थानीय तहमा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा निर्धारण गर्न सिफारिस गर्न आयोग गठन भएको हो । सरकारले आयोग गठनसँगै अध्यक्ष र एक सदस्यबाहेक प्रदेशगत प्रतिनिधित्व गर्ने सदस्य नियुक्त गरेको छैन । आयोगको यो चौथो वर्षको प्रतिवेदन हो । आयोगको म्याद अब डेढ वर्षमात्र बाँकी छ ।

भाषा आयोगले आफ्नो पहिलो वर्षको प्रतिवेदनमै हरेक सरकारी निकायदेखि सार्वजनिक स्थलहरू तथा यातायातका साधनहरूमा नेपाली भाषा र देवनागरी प्रयोग गर्न सरकारलाई सुझाव दिए पनि त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिकृया

प्रतिकृया