NEW YEAR 2078 – GREETINGS
          


पछिल्लो समय सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आन्तरिक द्वन्दले उग्र रुप लिएको छ । पार्टीभित्र चलेको दुई लाईनको संघर्षले चरम उत्कर्षमा पुगेपछि पार्टी एकता भाँडिन्छ की भन्ने आम कार्यकर्ता तथा जनतामा चिन्ता बढेको छ । मुलकमा कोडिभ-१९ को जोखिम बढिरहेको सन्दर्भमा सत्तापक्षिय पार्टीमा देखिएको यो द्वन्दलाई अस्वभाविक तथा गैर राजनीतिक चरित्रका रुपमा समेत विश्लेषण गर्ने गरिएको छ । यसै सन्दर्भमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका गतिविधिलगायतका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री, सांसद टेकबहादुर बस्नेतसंग तुलसीपत्र राष्ट्रिय दैनिकका प्रधान-सम्पादक दीपक बोहराले गरेको कुराकानीको सारसंक्षेप :

दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । त्यसले जनतामा निकै उत्साह थपेको थियो , तर त्यो उत्साह २/३ बर्षमा तुहिन्छ, की भन्ने पछिल्लो पार्टीभित्रका गतिबिधिले देखाएको छ, खास पार्टी फुटको संघारमा पुगेको हो ?
मुलुकमा १० बर्षे शसस्त्र जनयुद्ध भयो । त्यही जनयुद्धको जगमा मुलुकमा गणतन्त्र आयो । हतियार उठाएको पार्टी तत्कालिन माओवादी र संसदवादी पार्टीहरु एक भएपछि मुलुकको राजतन्त्र विरुद्ध धावा बोल्ने वातावरण तयार भयो । मुलतः त्यसले मुलुकबाट राजतन्त्र फालेर गणतन्त्र घोषणा गर्‍यो। त्यसपछि भएको पहिलो संविधानसभाले मुलुकको संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन भयो । त्यही संविधानसभाले विश्वकै प्रगतिशिल नयाँ संविधान जारी गर्‍यो। जुन नेपाली जनताको दशकौं लामो प्रतीक्षापछि मुलुकले संविधान पायो । संविधान जारी गर्दा मुलुक राजनीतिक शक्तिहरु एक भए । यसले राजनीति दलहरुलाई एक ठाउँमा ल्याएको थियो ।

मुलुक संघीय संरचनामा गएसंगै भएको निर्वाचनमा कम्युनिष्टले बहुमत प्राप्त गर्‍यो, केन्द्रमा कम्युनिष्टको सरकार बन्यो भने, प्रदेश र स्थानीय तहमा पनि कम्युनिष्टकै बाहुल्यता रह्यो । यो भनेको पछिल्लो दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादी केन्द्रको एकताको परिणाम नै हो । ७० बर्षको इतिहास टुट्फुट र विभाजनबाट रुमलिएका कम्युनिष्ट पार्टीहरु एक भएपछि जनतामा पनि एउटा उत्साह थियो । जनताले कम्युनिष्ट एकतालाई समर्थन जनाए । झण्डै दुई तिहाई संसदमा कम्युनिष्ट प्रतिनिधित्व भयो । कम्युनिष्टकै सरकार बनेपछि मुलुकले ठूलो फड्को मार्छ, जनताका चहाना पूरा हुन्छन्, भन्ने जनतामा एक खालको आशा पैदा भएको थियो ।

जनताले चाहना अनुसार सरकार अगाडि बढ्यो त ?
जनता पनि बुझ्ने हुनुहुन्छ । सुरुको १/२ बर्षमा जनताले परिणामको अपेक्षा गर्नु हुन्थेन । किनभने मुलुकमा नयाँ अभ्यास गर्नुपर्ने थियो । प्रदेश र स्थानीय तहलाई स्थापीत गराउनुका साथै अधिकारसम्पन्न बनाउनु थियो । तेस्रो बर्षदेखि परिणाम देखिन्छ, भन्ने जनताको अपेक्षा थियो । तर, अहिले आएर जति जनताले चाहना राखेका थिए, त्यति भएन की भन्ने कुराको अनुभूति जनताले गरेका छन् । स्थानीय तह र प्रदेशमा कर्मचारीको पनि कमी र अनुभवको पनि कमी हुँदा खासै उपलब्धी नसकेका हुन् । अहिले पनि जनताको चाहना अनुसार कानुन निर्माणको काम भएका छन् । अहिले सत्तासिन दलमा नै द्वन्द देखिएकाले पनि जनतामा शंका उत्पन्न भएको छ ।

अन्र्तसंघर्ष हुनु स्वभाविक पनि हो । पार्टीमा ठूला–ठूला डरलाग्दा संघर्ष पनि हुनेगर्छन् । यो माक्सवादले सिकाएको नियम पनि हो । टु्mुटबाट गुज्रिएको कम्युनिष्ट पार्टी एक ठाउँमा मिसिएको थियो । दुई फरक ठूला पार्टी मिसिएको अबस्थामा स्वभाबिक रुपमा पार्टीको सिद्धान्त, चरित्र, विधि र संस्कार मिलान हुन सकेको थिएन । अहिलेको अन्तसंघर्ष पनि यसमै जोडिएको छ । पछिल्ला समय लडाई अलि पेचिलो बन्दै गएको छ । विभाजन हुन्छ की भन्ने आशंका पनि उत्पन्न हुने गरेका छन् । तर, पार्टी एक हुन्छ नै । एउटै विधी पद्धति मान्ने पार्टी एकताबद्ध भएरै अगाडी बढ्दा मुलुकको हितमा रहन्छ । अझै पनि साँच्चिकै कम्युनिष्ट पार्टी बन्न सकेको छैन ।

यस्तै अन्तर्संघर्षले हाम्रो पार्टी कम्युनिष्ट जस्तो बन्दै गएको छ । पार्टी एकतादेखि अहिलेसम्म आउँदा गरेका हरेक सहमतिहरु कार्यान्वय नहुँदा पनि अहिले पार्टीभित्र यस्ता समस्या उत्पन्न भएका छन् । दुई पार्टी मिसिएका मात्रै हुन । पार्टी एकबद्ध हुनलाई एकता, एकीकरण र समायोजन हुनुपर्छ । अनि मात्रै एक ठाउँमा उभिने वातावरण बन्छ । यी तीन कुरामा एकता नहुँदासम्म पार्टी पार्टी एक हुन सक्दैन् । हामी समाजवादको मार्गमा अघि बढिरहेको छौं । समाजवादमा पुग्नका लागि हाम्रो पार्टी पनि त्यो चरित्रको हुनुपर्छ ।

मैले अघि पनि यो प्रश्न उठाएको थिएँ, ठोस जवाफ आउन सकेको थिएन, खास पार्टी फुटकै संघारमा पुगेको हो ?
पार्टी एकता हुन्छ । संघर्ष हुने वित्तिकै विभाजन भईहाल्छ भन्ने होईन् । विगतको विरासत यस्तो थियो संघर्ष भयो की बिभाजन भईहाल्ने । पूर्व एमालेमा संघर्ष कस्तो हुन्थ्यो, त्यो त म जानकार छैन्, तर, पूर्व माओवादीमा भित्र निकै संघर्ष हुन्थ्यो । तर, हामीले संघर्षका बाबजुत पनि पार्टीलाई एक ढिक्का बनाएर लैजान्थ्यौं । जनयुद्धमा माओवादीले ब्यारेक आक्रमण गर्ने क्रममा मान्छे बलिदान गर्न तयार हुन्थे । व्यारेक आक्रमणमा जाँदा फर्किन्छौं, की फर्किन्नौं भन्ने अवस्थामा गुर्जिएर पनि आँट र हिम्मतका साथ लड्न तयार हुने अवस्था थियो । यो भनेको पार्टीले त्यस्तो खालको वातावरण तयार गर्ने कुरा हो । अब पनि हामीले त्यो वातावरण तयार गर्छौं । पार्टी फुट्न दिदैनौं ।

पार्टी एकताका आधार के छन् ?
पार्टी एकता बचाउने एउटा आधार भनेको छलफल नै हो । नियमित छलफल र बहस भएमा पार्टी एक हुन्छ । केही दिन अघि मात्रै कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच नेताको प्रतिवेदन आएको छ । त्यसमा छलफल हुनु पर्‍यो । पार्टीलाई समाजवादमा पुग्न लायक, देशको नेतृत्व गर्ने पार्टीको हैसियत देखाउनुपर्‍यो। उठेका प्रश्नको नेतृत्व तहले जवाफ दिनु पर्‍यो।

कम्युनिष्ट पार्टीमा बैठक बस्छ । बैठकले निर्णय गर्छ । ति निर्णय कार्यान्वयन हुन्छन र कार्यान्वयनपछि परिणाम निस्किन्छ । यो एउटा पार्टीको विधी हो । यी फेज पूरा नगर्ने पार्टी कम्युनिष्ट हुन सक्दैन् । कहिले काँही छलफमा सहभागि हुन नसक्ने अवस्था होला, तर सधै, नियतबस नै बैठक आयोजना नगर्ने, बैठकमा सहभागि नहुने जुन प्रवृती भित्रिएको छ, यस्ता प्रवृती नचिर्दासम्म पार्टी कम्युनिष्ट चरित्रको हुन सक्दैन । आत्मआलोचना गर्न नसक्ने, पार्टी भित्रको अन्र्तसंघर्ष चीर्न नसक्ने व्यक्ति कम्यनिष्ट हुनै सक्दैन् ।

अहिले पार्टीमा दुई अध्यक्षको व्यवस्था गरिएको छ । दुई अध्यक्षले सहमति गरेर बैठक बसाल्ने र छलफल गर्ने वातावरण तयार गर्नुपर्छ । सहमति हुने भनेको पनि बैठक हो । बैठकबाटै निकास निकाल्नुपर्छ । राम्रा, नराम्रा, जस-अपजस पार्टीले लिनुपर्छ । हाम्रो पार्टीले समाजवादमा पुग्न जस्ता चुनौति पनि मोलन तयार छ । पार्टी यसरी अलमल गरेर मात्रै बस्ने छैन् । एउटा निकास निकाल्ने छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्त मान्ने पार्टी, जो व्यक्तिभन्दा संगठन प्रधान हुन्छ, तर अहिले दुई अध्यक्षले एक खालको सहमति गर्ने, अनी त्यो सहमति स्थायी कमिटि, केन्द्रीय कमिटि हुँदै तल्लो स्तरका कमिटि तथा कार्यकर्ताले मानि दिनुपर्ने भन्ने कोणबाट पनि टिप्पणी हुने गरेका छन्, तपाईलाई कस्तो लाग्छ ?
एकीकरण भएपछि पार्टीको राजनीतिक प्रतिवेदन, विधान, नियमावली बनेका छन् । त्यही विधान, नियमावलीका आधारमा पार्टीको सेल कमिटि, टोल कमिटि, वडा कमिटि, जिल्ला कमिटि, प्रदेश कमिटि, केन्द्रीय कमिटि, स्थायी कमिटि, सचिवालयको बैठक बस्ने हो । तर, दुई अध्यक्षले निर्णय गर्ने, त्यही कुरा तल्लो कमिटिले मान्नुपर्ने अवस्था पनि सिर्जना भएको छ । यो पनि पार्टीको वैद्यानिकता माथि प्रश्न चिन्ह उठ्ने कुरा हो । हामीले राजतन्त्र फालेर गणतन्त्र ल्याउनुको अर्थ पनि त्यही हो । जो कि एक ब्यक्ति संविधान भन्दा माथि हुनुपर्ने, अन्य सबै जनता रैतिका रुपमा हुनुपर्ने जुन अबस्था थियो । यसलाई अन्त्य गरेर हरेक व्यक्ती संविधान, ऐन, कानुनको अधिनमा रहनुपर्ने, व्यबस्था ल्यायौं । यसको मर्म र भावना अनुसार हामीले काम गर्नुपर्छ ।

पार्टीको सन्दर्भमा पनि त्यही हो । एउटा व्यक्ती प्रधान होईन् । पार्टीको बिधान अनुसार कमिटिमा छलफल गरेर त्यसबाट गरेको निर्णय सबैले मान्नु पर्छ । अहिले सरकार लोकपृय हुन सकेको अबस्था छैन् । तर, केही राम्रा काम पनि भएका होलान् । पार्टी कमिटिबाटै यस्ता विषयमा छलफल गरेर कार्यकर्ता मार्फत जनतामा लैजानु पर्छ । जनतालाई भ्रममा पार्नु हुन्न । गर्न नसकेका कामहरु किन हुन सकेनन् । भएका कामहरु के–के हुन् । सबै जनता माझ लिन सकियो भने जनता भ्रम मुक्त हुन्छन्, र सरकारप्रति जनता पनि सकारात्मक हुन्छन्, यस्ता कुराहरु पनि बैठक, छलफलबाटै निष्कर्ष निकाल्नु पर्छ ।

तपाई सल्यान जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद पनि हुनुहुन्छ, यो अवधिमा सल्यानको विकासका लागि के-के गर्नुभयो ?
सल्यानमा विकास निर्माणका हिसाबले निकै फड्को मारेको छ । मुलुक संघीय संरचनामा गएसँगै यसले विकासमा निकै फड्को मारेको हो । सल्यान सूचना सञ्चारबाट बञ्चित थियो । तर, अहिले सबै वडामा सूचना, सञ्चारको पहुँच पुगिसकेको छ । सल्यानका ८३ वटा वडामध्ये २÷३ वटा बाहेक सबैमा सञ्चार पुगिसकेको छ । सडक सुविधा पनि लगभग-लगभग सबैतिर पुगेको छ । मुलुकमा गणतन्त्र आएपछि राप्ती लोकमार्ग कालोपत्रे भएको थियो । त्यसलाई अहिले दुई लेन बनाउने कुरा भएको छ । पछिल्लो पटक मदन भण्डारी लोकमार्गले पनि सल्यानको ठूलो भु-भाग छुने भएको छ ।

सल्यानको बाघचौर, श्रीनगर, खलंगा हुँदै सुर्खेत जोड्ने छ । अहिले मैले जिल्लामा रिङरोड बनाउने योजना अघि बढाएको छु । जिल्ला पर्यटकीय चक्रपथ सल्यान नाम दिएर २६० किलोमिटर रिङ रोड निर्माण गर्न थालिएको छ । यो सडकले सल्यानका सबै स्थानीय तहलाई छुनेछ । अहिले रिङ रोड अन्तर्गत १६० किलोमिटर ट्रयाक खुलिसकेको छ । सल्यानका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ट्रयाक खुलिसकेको अबस्था छ । बाँकी ३ स्थानीय तहमा खुल्ने क्रम जारी छ ।

यो कार्यकालमा सम्भव नभएपनि अर्को कार्यकालमा यो रिङरोड निर्माणको काम पूरा हुनेछ । यो सडकले दाङ मात्रै नभई रोल्पा, रुकुम, जाजरकोट, सुर्खेत, बाँके, बर्दियालाई पनि छुन्छ । विद्युत निर्माणको क्षेत्रमा पन उल्लेख्य प्रगति भएको छ । पछिल्लो १० बर्षमा विद्युतले सल्यानको ६० प्रतिशत भु–भाग छोएको छ, भने बाँकी ४० प्रतिशत क्षेत्रमा यो कार्यकालमा विद्युत पुर्‍याउने गरि आधार तयार हुनेछ ।

दाङ र सल्यानको आर्थिक, राजनीतिक, संस्कृतिक सम्बन्ध हो, तर सल्यानलाई कर्णाली तिर र दाङलाई लुम्बिनी प्रदेशमा राखियो । यसले सल्यान र दाङको सम्बन्धलाई कुनै असर त पारेको छैन् ?
पहिले कुरा हामीले जनताको चाहाना,भावनालाई ध्यानमा राखेर प्रदेशको टुंगो लगाएका हौं । सोही अनुसार सल्यानलाई कर्णालीमा मिलान गरियो । दाङलाई लुम्बिनी तिर राखियो । तर, हाम्रो पहिले देखिको सम्बन्धमा भने यसले कुनै खलल पु¥याएको छैन । प्रदेश फरक हुँदैनमा सम्बन्ध टुट्ने कुरा पनि भएन ।

दाङ र सल्यानको राजनीति, आर्थिक, सांस्कृति, व्यापरिक सम्बन्ध गाढा नै छ । म सामान्य प्रशासन मन्त्री हुँदा नै प्रदेशको राजधानी दाङमा प्रस्ताव गरेको थिएँ । लामो संघर्ष पछि मात्रै अहिले प्रदेशको राजधानी दाङ भयो । यो कार्यले म ज्यादै खुसी छु । जनताको आबश्यकता अनुसार हेरफेर गर्नु कुरा हो । भोली सल्यान लुम्बिनी प्रदेशमा पनि आउन सक्छ, त्यो छलफलको कुरा होला । तर, प्रदेश फरक हुँदैमा सम्बन्ध कम्जोर भएको छैन ।

सल्यानको विकासका भावी योजनाहरु ?
सल्यानको समग्री विकास निर्माणका बाँकी रहेका कामहरु अगाडी बढ्ने छन् । जनताको मर्म अनुसार स्थानीय तहमा धेरै वडाहरु मिलान गर्नुपर्ने अबस्था छ, त्यसलाई पनि मिलाएर लैजाने छौं । भएका विकास निर्माणका कामहरुमा जनताको सहभािगतालाई बढाउने छौ । भएका विकासका कामलाई सुदृढ गरेर लैजाने छौं । पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कुपिण्डे तालको विकासमा टेवा पुर्‍याउँछौं ।
-धन्यवाद

प्रतिकृया

प्रतिकृया