काठमाडौं
१-पुस / गर्मी मौसमभन्दा चिसो मौसममा विभिन्न खालका शारीरिक समस्या देखिने गर्छ । यो मौसममा निमोनिया र रुघाखोकीपछि मुटुसम्बन्धी स्वास्थ्य समस्या सबैभन्दा धेरै देखिइन्छ । जाडो मौसममा हाम्रो शरीरका रक्तनली खुम्चिने हुनाले शरीरमा राम्रोसँग रक्तसञ्चार हुन नसक्ने र मुटुमा असर पर्ने हुन्छ । जसकारण रक्तचापसम्बन्धी समस्या हुने चिकित्सकहरू बताउँछन् । अन्य मौसमको तुलनामा जाडोमा धेरैलाई मुटुसम्बन्धी जटिल स्वास्थ्य समस्या देखिने गर्छ ।


                                                                                 ADVERTISEMENT


 


अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मानिसमा देखिने शारीरिक तथा मानसिक तनावले पनि सामान्य बेलाभन्दा चिसोमा रक्तचाप तथा मुटुसम्बन्धी समस्या देखिएका बिरामी बढ्दै गएको बताउँछन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल कोरोना संक्रमण र चिसो मौसममा रक्तचाप तथा मुटुसम्बन्धी समस्या हुन नदिने उपायबारे उनी यसो भन्छन् :

अहिले चिसो मौसम शुरू भइसकेको छ । चिसो बढ्नासाथ अस्पतालको इमर्जेन्सीमा आउनेहरूको संख्या बढेको छ अहिले । पहिलेका वर्षभन्दा यसपटक अस्पतालको इमर्जेन्सीमा आउने धेरैको उच्च रक्तचाप अचानक १८० भन्दा माथि बढेको देखिन्छ । जसलाई हामी मेडिकल भाषामा एक्सेरेटेट् हाइपोटेन्सन भन्छौं । रक्तचाप पहिलेदेखि हल्का बढेको, तर केही घण्टामै अचानक रक्तचाप बढेर १८० माथि पुगेर बिरामीलाई रिँगटा लाग्ने, टाउको दुख्ने र अप्ठ्यारो भएर अस्पतालको इमर्जेन्सीमा आउने गरेको पाइएको छ ।

एक्सेरेटेट् हाइपोटेन्सनको समस्या अन्य मौसममा भन्दा चिसोमा धेरै हुन्छ । चिसोले रक्तनली साँघुरो हुने, विभिन्न खालका रसायन शरीरमा उत्पन्न हुने र उच्च रक्तचाप बढाउने गर्छ । चिसोमा उच्च रक्तचाप जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने सम्भावना हुन्छ । चिसोमा टाउको दुख्ने र रिँगटा लाग्यो भनेर अस्पतालको इमर्जेन्सीमा आउने ५० प्रतिशत बिरामीमा उच्च रक्तचाप देखिएको छ। यस्तो बेलामा औषधिको मात्रा बढाउनुपर्ने हुन्छ । चिसो मौसममा यो प्रायः सबैलाई हुने गर्छ ।

अर्को महत्वपुर्ण कुरा : अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमित भइसकेकामा उच्च रक्तचाप हुने समस्या देखिएको छ। हाल कोरोना संक्रमणमुक्त भएपछि स्वास्थ्यमा समस्या देखिएर मेरो ओपिडीमा आएकामध्ये दैनिक ५ देखि १० जना बिरामीमा उच्च रक्तचाप देखिएको छ ।
कोरोना संक्रमण हुँदा पनि खासै लक्षण नदेखिएका उनीहरूमा उच्च रक्तचाप देखिएको छ । संक्रमण हुँदा शारीरिक अभ्यास नहुने, खानामा सन्तुलन नहुने तथा धेरै खाना खाने, तनाव तथा चिसोको प्रभाव बढेर पनि यसको समस्या बढेको देखिन्छ ।

भर्खरै कोरोनामुक्त भएपनि छाती दुख्ने, स्वाँस्वाँ हुने, मुटु ढुकढुक हुने र गाह्रो हुनेमा पनि उच्च रक्तचाप देखिएको छ । त्यसैले अहिले जसलाई कोरोना भइसकेको छ : पहिले देखिनै रक्तचापमा गडबढी छ। औषधि धेरै खाने, धेरै हिँडडुल नगर्ने र धेरै तनाव अनुभव गर्नेहरू अहिले उच्च रक्तचापको जोखिममा छन् । त्यसैले यस्तो जोखिममा रहेकाले नियमित रक्तचाप परीक्षण गरिरहनुपर्छ ।

अहिले चिसो मात्रै नभएर धेरै मानिस भर्खरै कोरोनामुक्त वा कोरोनाले गर्दा तनाव लिइरहेको पाइन्छ । त्यसैले अहिले रक्तचापको विशेष हेरचाह गर्नुपर्छ । नुन कम खाने शारीरिक अभ्यास र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। अहिले मानिसले कोरोना जोखिम कम हुने भन्दै हेभी खाना खाने, विभिन्न प्रकारका जडिबुटी तथा औषधि आफूखुसी खाने गरेको पनि पाइन्छ, जसले गर्दा पनि अप्रत्यक्ष रुपमा मुटु तथा रक्तचापमा असर गरिरहेको छ ।

भर्खरै कोरोनामुक्त भएकाले मुटुसम्बन्धी समस्याको जोखिम कम गर्न सकेसम्म एकपटक कोलेस्ट्रोल र नियमित रक्तचाप परीक्षण गर्ने तथा खानपानमा विशेष सावधानी अपनाउनु पर्छ ।

प्रतिकृया

प्रतिकृया