रुकुम पूर्व
२८-माघ / रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनु पर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो ।


                                                                                 ADVERTISEMENT


 


यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते छलफल भएको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीन वटा बनाउन प्रस्ताव गरिएको छ । हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगंगा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा, हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुक्र्याउने प्रस्ताव गरिएको हो । तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णित बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । पैँतालीस दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए । गाउँपालिका विभाजनबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ ।

वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो । पुथाउत्तरगंगा-१२ का वडाध्यक्ष गङ्गबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताए । माघ १५ गते शुरु भएको गाउँसभा १७ गते स्थगन भएको हो ।

रुकुम (पूर्व)का तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर यो गाउँपालिका बनाइएको छ । यसमा १४ वडा छन् । जिल्लाबाट पुथा र उत्तरगंगा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एउटै भएर आएको थियो । –रासस

प्रतिकृया

प्रतिकृया