NEW YEAR 2078 – GREETINGS
          


रामबहादुर जिसी

चर्चित टेलिभिजन प्रस्तोता तथा लेखक बिजयकुमार पाण्डेद्वारा लिखित ‘सम्बन्धहरु’ नामक पुस्तक पढी सिध्याइ त्यसबारेमा आफूलाई लागेका बिचार टिप्पणी पाठक समक्ष राख्ने जमर्को गर्दैछु ।“खुशी“पुस्तक द्वारा मदन पुरस्कार बिजेता समेत भएका लेखक टेलिभिजनको पर्दामा जसरी उनी पोखिन्थे, राजनीतिज्ञ, कुटनीतिज्ञ, उद्योगी, व्यावसायी, खेलाडी, सामाजिक अभियन्ता, प्रतिष्ठित ब्यक्ती र ब्यक्तित्वको अन्तरवार्तादेखि अन्य सरोकारका मुद्दा उपर जसरी उनले गहिरो रुचि र चाख राख्दै खोतल्थे, आमनागरिकले सोधे खोजेका प्रश्नलाई बुझ्ने र बुझाउने गरि प्रस्तुत हुथे त्यही चित्ताकर्षक प्रस्तुतिले गर्दानै बिजयकुमार पाण्डे आम पाठक, दर्शक तथा स्रोतामाझ चिरपरिचित रहेका छन् ।

खुशी पुस्तकमा जसरी उनी पोखिएका छन् झण्डै त्यही लयमा ‘सम्बन्धहरु’ नामक पुस्तकमा पनि प्रस्तुत भएका छन् । उसो त हामी सामाजिक प्राणी हौं, यहि समाजमा रहदा बस्दा त्यहाँको सामाजिक परिवेश, वातावरण, जन्माइ हुर्काइ, संस्कार, पढाई लेखाइ, बुझाइ अनुसारनै हाम्रा आचरण,व्यबहार,सोच,चिन्तन र प्रवृत्तिले फल्ने फुल्ने र विकसित हुने अवसर पाइरहेको हुन्छ । सामाजिक सत्ता अथार्थ पदार्थ जस्तो हुन्छ त्यही अनुसारनै चेतना निर्धारण हुने गर्दछ । यहि र त्यही सामाजिक परिवेश र वातावरणमानै हाम्रा पारिवारिक सम्बन्ध, गाउँ टोल, छिमेक, साथीभाइ, इष्टमित्रसंग भातृत्व, अपनत्व, आफन्त पराया जस्ता सम्बन्धका डोरिहरु बाटिने गर्दछन् । यसरी सम्बन्धका डोरि बाट्दा र फुकाउदै गर्दा सुख दुःखमा भरथेग गर्ने, आत्मियता साट्नेदेखि प्रगती र खुसिमा इष्र्या, जलन र खुट्टा तान्ने प्रवृत्ति पनि संगसंगै अगाडि बढिरहेको हुन्छ ।

जिन्दगी जिउने क्रममा आफ्नै स्वार्थका खातिर नजिकका आफन्त भनिनेहरुसंग अस्वस्थ, अमैत्रीपूर्ण र शत्रुता पूर्ण सम्बन्ध र भर्खरै चिनारु र नयाँ मान्छेहरूसंग आत्मिय, सहयोगी, भाइचारा सम्बन्ध पनि गाँसिन पुग्दछन् । यहि सम्बन्धको बिस्तारित रुपमानै मान्छेका बाहिरी देखिने र हकिकत मा भित्र देखिने अथार्त कथनी र करनिका अशली रुप र मुखौटा उत्रीरहेको हुन्छ । यहि सम्बन्धको जालो भित्रनै हरेक मान्छेका निजि स्वार्थ, सामूहिक स्वार्थ, माया मोह, प्रेम, सम्मान, सदभाव, उपकार, भाइचारा, सम्बन्धदेखि घृणा, अपमान, निन्दा, भत्र्सनासम्मका वर व्यवहारको लेखाजोखा भैरहेको हुन्छ । यसरी सम्बन्धलाई अगाडि बढाउदै गर्दा कयौंले आफ्ना गल्ती कमजोरीलाई आत्मसात र महशुस गर्दै सम्बन्ध बिग्रे, भत्केकोलाई सपार्न र सुधार्न लाग्दछन् भने कसैले झनै बिगार्न र भत्काउन मानै जिन्दगी गुजार्दछन् ।

यिनै पोका पन्तुरा, मनोदशा, यिनै सम्बन्धका आयामहरुलाइ हृदयंगम गरि स्वयंसंग समेत वादविवाद गर्दै लेखकले सम्बन्धहरु नामक पुस्तक मार्फत आफ्ना अनुभव विचारहरु पस्कने जमर्को गरेका छन् । पुस्तकमा लेखकले अन्नपूर्ण पोष्ट दैनिक, एपीवानटिभी, अन्नपूर्ण पोष्टडटकम, सम्पूर्ण साप्ताहिक र अन्नपूर्ण एक्स्प्रेस, अंग्रेजी दैनिकको सम्पादकीय नेतृत्व गरेको त्यसका मालिक रामेश्वर थापासंगको सुमधुर सम्बन्ध, भौतिक वातानुकुलित कोठाको सुविधा पर्याप्त भएर पनि त्यहाँबाट राजिनामा दिई फर्पिङ आइ ध्यान केन्द्रको एउटा सानो कोठामा भाडा लिइ आफै पकाएर खाने, भाँडा माझ्ने, धेरै पानी खर्च नगर्ने शर्तमा आफूलाई अभ्यस्त बनाएको र त्यही जिन्दगीनै खुशहाल रहेको, स्वयंलाई नियाल्न, आत्मनिरिक्षण र शुद्धीका उपायबारे सोच मग्नमा जुट्ने अवसरका रुपमा लिएको बताएका छन् । हाम्रा अभिभावक, शुभेच्छुकजन र उपदेशकहरुले सकारात्मक सोँच राख्नुपर्ने बताएझै केवल संसार एकहोरो र त्यहि रुपमा नभै द्वयध, विपरित सोचहरुको भण्डार पनि रहेको, आज कहिल्यै नबाँचेर बितिसकेको हिजो बाँचेर केबल भोलिको लागि भन्दै वर्तमानमा पाएको खुसी लुटाउन चाहने मानिस अजिवको प्राणी हो भन्दै त्यस सम्बन्धमा विमर्श गर्न खोजेका छन् ।

त्यसैगरी पुस्तकमा राज्यको चौथो अंग पत्रकारिता जगत र मिडिया हाउसको स्वच्छता, निष्पक्षता र एजेन्डाबारे छलफल गर्दै बाहिरफेर दुनियाँका कुरा खोतल्ने, तथ्य, सत्यको उजागर गर्ने मकशद रहदारहदै पनि स्वयंमा हामीभित्र र त्यहाँभित्र शाकाहारी र धर्माधिकारी चौथो अंग हौं अरु सब मांशाहारी, बेकामे हुन भन्ने हठदाबी कति झुट र पाखण्डको पुलिन्दा हो भन्ने कुरा बिस्तारै आम सचेत र जागरुक नागरिकले थाहा पाउने छन् भन्दै लेखकले त्यहाँभित्रको गुह्य कुरा समेत खोतलेका छन् । त्यसैगरी पुस्तकमा हामी मान्छेभित्रका अहं,घमण्ड र मपाइंत्वले कति फुलेल छौ ? कति निन्दक र आलोचक छौ ? हामिले आफू भित्रका कमजोरीहरु समस्या पहिल्याउन महशुस गर्न र आफैलाइ नियाल्न किन समय खर्च गर्न सक्दैनौं?हामी आफ्नो घरपरिवारलाई ब्यबस्थापनको तारतम्य मिलाइ सन्तुष्ट राख्न सकिरहेका हुदैनौ, कर्तव्य निर्बाहको बाटोबाट बिमुखभै गैर जिम्मेवार र लापरबाह गर्दछौ तर अरुको घर व्यवहार के कसो भैरहेको छ भन्दै किन सुलसुले बन्दै र चियोचर्चा गर्दै उपदेशक गुरु र जान्ने टोपल्छौ ? अरुको ब्यक्तिगत निजत्व र स्वत्वमा किन अनावश्यक हस्तक्षेप र ज्याद्रो बन्दछौ ? हामी किन आत्मप्रशंसा को ज्यादा भोका छौँ ? सुख के हो ? खुशी के हो ? जिन्दगीमा आइपर्ने समस्या र उल्झनलाइ कसरी लिने ? इत्यादि सम्बन्धमा लेखकले आफ्नो युरोपेली साथी योगिनी संगको संवाद, विमर्श मार्फत धेरै कुरा बोलेका छन् । जागरण र स्वयं आत्म महशुस हुने जुक्तीबारे पोखिन खोजेका छन् । पुनःकसले कसलाई, किन कसरी महत्वहिन र महत्वदिने भन्ने बारेमा बाल दिने वा बालै फरर शिर्षक अन्तर्गत पोखिएका छन् । त्यसैगरि पुस्तकमा आफ्नो निजत्वको सवाल उठाउँदा अरुको निजत्वको पनि संमान गर्न जान्नुपर्ने, अर्को मान्छे आफूले सोचे अनुरुप भएन भन्दैमा उसलाई खराब मनसायले हेर्न नहुने बरु आफ्नै आँखा खराब हुनसक्छन् भन्ने स्पेस हमेशा शिर माथी राख्नुपर्ने चर्चा गरेका छन् ।

निजत्व ब्यक्तिको अन्तर्निहित गुण भएको तर नकाव आफू जे होईन त्यो भएको देखिनुपर्ने जे हो त्यो लुकाएर दबाएर राख्ने सोच चिन्तन र प्रबृत्तिबारे पनि बिमर्श गरिएको छ । त्यसैगरी पुस्तकमा नीतिहरुको राजा राजनीति प्रति अनादर र घृणा नभए पनि पछिल्लो अवस्थामा राजनीतिक पार्टी नेतृत्वको अक्षमता, नालायकी, अबिबेकी एवं अदुर्दर्शी कार्यशैलीले गर्दा देश उभोगती होइन अधोगती र अविकाश तर्फ धकेलिएको, जनताका दैनन्दिन आवश्यक्ता र समस्या ज्यूका त्यूका रहेको, राजनैतिक नेतृत्वका कथनी र करनिमा बेमेल जिन्दगी आँखै अगाडि देखेको कारणले पनि पछिल्लो युवा पुस्तामा राजनीति प्रति आशा भरोसाभन्दा पनि वितिष्णा, अविश्वास र घृणा प्रकट हुनु चिन्ताको बिषय रहेकोबारे चर्चा गरिएको छ । त्यसैगरी पुस्तकमा कुनै पनि घटना र विषय वस्तुबारे त्यसलाई बुझ्ने छाम्ने मामिलामा मानिसका आ–आफ्ना दार्शनिक समझ, बुझाइ र ठम्याइ हुने हुँदा सबैले एउटै जोडकोणबाट विश्लेषण गर्न नसक्नु स्वभाविकै भएको तर त्यस घटना उपर समालोचनात्मक टिप्पणी भन्दा पनि पूर्वगत मानसिकता,आग्रही र पूर्वाग्रही धारणाले बशिभुतभै अत्यन्त छुद्र र निम्छरो स्तरले टिप्पणी गर्ने बानी र स्वभावबारे चील र कैवाको उदाहरण दिदै अर्थ्याएका छन् चर्चा गरेका छन् ।

त्यसैगरी पुस्तकमा हामी हरकसैलाइ समग्ररुपमा नजाँची नबुझी उसका पनि कमवेशी दोष र कमजोर हुन सक्छन् भन्ने नठानी भावावेशमा आइ देवत्वकरण गरिहाल्ने र स्वभाविक रूपमा हुने कमजोरी भेट्नासाथ तुरुन्त राक्षसिकरण गर्ने अति सोंचबाट ग्रस्त रहे भएका छौ जसको कारण सामुन्नेमा लोकाचार, साखुल्ले र हित सहयोगी भएको टोपल्ने र पिठ्युँपछाडि वा ऐनमौकामा धोका र गद्दारी गर्ने दोग्ला चरित्र अपनाउने, बढ्ता तारिफ, प्रशंसा अति निन्दक र बदख्वाइ, चाकडी प्रथा मौलाउँदै र बिकसित हुँदै गइरहेको ढोंगी र दुच्छर प्रवृत्तिबारे पनि चर्चा गरिएको छ ।

त्यसैगरि पुस्तकमा स्त्री पुरुष सम्बन्धमा दरार र मतभेद आउनुमा एकले अर्काको अस्तित्व र महत्वलाई नबुझ्नु,खासगरी पुरुषले आफूलाई बलियो, शौर्य, कमाउ ज्यानको रुपमा लिदै महिला साथी उपर हमेशा आफू आस्रित रहने र हुनुपर्छ भन्ने एकात्मक र पुरुष सत्ताको अहंकारबाट ग्रसित भै तदनुकुल व्यबहार आचरणमा उत्रीदा स्त्री पुरुष सम्बन्धमा टकराव बेमेल उत्पन्न हुने, समानताको एकरतर्फी नारा भन्दा सह अस्तित्व, समभाव र सुमधुर सम्बन्ध विकसित गरेर मात्र घर गाउँ समाजमा सुख शान्ति र माधुर्यताले ठाउँ ओगट्ने बारेमा पनि विमर्श गरिएको छ । त्यसैगरी पुस्तकमा विपरित लिंग प्रतिको आकर्षण, तिष्णा, जिज्ञासा र बासनाको चाह, आफूलाई बुझ्ने र अरुलाइ बुझ्ने, महशुस गर्ने शुक्ष्मता एवं तिक्ष्णताको मनोबिज्ञानबारे पनि चर्चा गरिएको छ ।त्यसैगरी स्वाभिमान र अभिमान, स्वत्व र निजत्वका सिमा रेखा, कथनी र करनी बिच बेमेल जिन्दगी जिएकाहरुको वहुरंगी रुप, दोग्ला चरीत्रको अशलियत र झुटको पर्दाहरुबारे पनि छलफल एबं बिमर्श गरिएको छ ।

त्यसैगरी पुस्तकमा दार्शनिक ब्यक्तित्व कार्ल मार्क्सले दिएको दर्शन र बिचार प्रति विश्लेषण गर्दै उनले केबल भोको पेट,नाफा र पुजिका आयामबारे संसारलाई झंकृत बनाउँदै, ब्युझाउँन र जगाउन खोजे पनि आजको मानिस त्यस लयमा मात्र हिड्न नसक्ने निजात्मक चाह पुर्तिको लागि संघर्षरत रहि त्यस प्राप्तिमा लाग्ने र सन्तुष्टि हुने भएकोले मार्क्सको विचार पनि अपुरो र अस्पट भएको भन्दै हरेक थोकलाइ अर्थशास्त्रको सिद्धान्तले मात्र हेर्न नहुने बताएका छन्, मार्क्सले पूर्वीय दर्शनलाइ बुझ्न र ठम्याउन नसकेको यदि समयमै पूर्वीय दर्शनको मर्म र ज्ञानलाई बुझ्न र पर्गेल्न सकेको भए मार्क्स साच्चै मानबिय संबेदनसिल मिजासका ज्ञाता र सबैका पूजनिय ब्यक्तित्वमा दरिने थिए भन्ने आशा र बिश्वासका नजर दौडाएका छन् । त्यसैगरी पुस्तकमा लेखकले आकाश नामको पात्र संग संवाद मार्फत स्वदेशमा रोजगारको अभावमा कसरी पढालेखा देश दुनियाँ बुझेका योग्य र क्षमतावान युवाहरू पनि नचाहदै बिदेशी भूमिमा पाइला टेक्छन ?

स्वदेशमै केही गर्नुपर्छ, अवसर र सिर्जनाको उचित वातावरण यहीँ छ भन्ने तर बिना योजना, बिना जग आधार खाली फोस्रा बकम्फुसे भाषण र गफहरु प्रति आकाशले रोष प्रकट गर्दै यसरी भन्दछ– ‘सर ! म ठूला कुरा जान्दिन, कतार गइन भने न बहिनी नर्स बन्छिन, न भाइको शिक्षा पुरा हुन्छ ? न सानो कटेरोनै बनाउन सक्छु, त्यसैले गाउँको हरियालीलाई बालै फरर..सर ! म कतार जान्नन्थे होला यतै दुःख सहन्थे होला तर मलाई विश्वास छैन आउँदा केही बर्ष यो देशमा हामी जस्ताका लागि केही हन्छ, के नेपालको तीव्र विकास सम्भव छ ? के नेपालको अवस्था हामी जस्ताका निम्ति यो गतिमा बदलिएला ? जसरी नेता वुद्धिजीवी वा पोजेटिभ माइन्डवाला भद्र महिला र सज्जनले प्रचार गर्दछन् ? भाषण होईन जिन्दगीवाला जवाफ चाहियो । अहिले दुईमध्ये एउटा छान्नुपर्ने छ, कि नेपालमै बस्ने कि कतार जाने, यता बसें भने आमाभाइ र बहिनीले मेरो मुहार त हरदिन देख्न पाउँछन् तर हामी सबैको मुहार त्यति उज्यालो हुने छैन ।

अभावमा पनि मुहार उज्यालो पार्न सकिन्छ र सर?तपाईंले त्यस्ता दिन भोगेको भए थाहा पाउनु हुन्थ्यो ‘लेखक र आकाशको संवादशैलीले पाठकको मन छुन्छ । उपरोक्त संवाद, शब्द ब्यहोरा आजको सामाजिक यथार्थता र कटु सत्य बोली हो ।त्यसैगरी स्वदेशको मायाले विदेशमा पाएको राम्रो अवसरलाई लत्याइ नेपाल फर्केका कतिपय आदर्शबादी ब्यक्ती ब्यक्तित्वहरु स्वदेश आए पछि आफ्नो योग्यताको उचित कदर नभएको र रहने बस्ने वातावरण नहुदा सागपात,आटोपिठोको जोहो गर्न समेत धौ–धौ र कठिनाइ ब्यहोरी पछुताउन परेको मार्मिक घटना प्रबृत्तिबारे पनि पुस्तकमा चर्चा गरिएको छ । त्यसैगरी पुस्तकमा लेखकले साथी योगिनीसंग संवाद मार्फत शरीर र मनको संतुलनकारी भूमिकाको अर्थवोध, ध्यान र योगका विषय,स्वयं अनुशासन,आनन्द लिने र मन खुसीका उपाय तालमेल र ब्यवस्थापनबारे सात्विक, राजशी र तामसिपनको महत्ताबारे पनि चर्चा गरेका छन् । बाहिर फेर मानिस जसरी उपदेशक, उदाहरणीय, दयालु, परोपकारी, चारित्रीक गुण विशेषताबाट प्रचारित भए पनि आफ्ना निश्चित स्वार्थको खातिर एक्कैक्षण अगाडिको उसको त्यो सदगुणिको नकाव मिल्काउदै बैगुनी, वेइमानी, हिंश्रक, अमानवीय र निष्ठुर रुख अपनाउन समेतपछि पर्दैन भन्दै मनोविश्लेसण टिप्पणी गरिएको छ ।

त्यसैगरी पुस्तकमा सरकार, प्रतिपक्ष, न्यायालय, प्रशासन, उद्योग, ब्यापार, संसद, सांसद, जताततै केही खराबी र विकृती भएकोले कुनै एकमात्र क्षेत्र स्वच्छ, निष्पक्ष र दोषरहित हुनसक्छ भन्नु अर्को महाभूल हुने भन्दै त्यस सम्बन्धमा लाक्षणिक टिप्पणी र चिन्ता प्रकट गरिएको छ । त्यसैगरी पुस्तकमा कर्तव्य बिनाको अधिकार, उत्पादन बिनाको वितरण, योग्यता बिनाको आकांक्षाको फ्वांसे गफ र राजनीति बिग्रीयो भन्दा रुन्चे र गनगन गर्ने तर तिनै स्वार्थी, धुर्त र बेइमानी गर्दै गन्हाएका र दुर्गन्धित ब्यक्ति ब्यक्तित्व लाइनै राजनीतिमा स्थान र अवसर दिई भोट दिन अगाडि सर्ने हाम्रा लुते, दब्बु, विवेकहिन र पानीमरुवा हर्कतप्रति पनि निर्मम प्रश्न तेर्स्याइएको छ । त्यसैगरी पुस्तकमा सूचना तथा विज्ञान प्रविधिसंग साक्षात्कार र अद्यावधिक हुने नाममा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा लाइक, कमेन्टको ज्यादा भोक, ईष्र्या, कुण्ठा, जलन, परपिडक र परनिन्दक स्वभाव, अस्वस्थ र अमर्यादित टिप्पणीमा अभ्यस्त जिन्दगी एक भयानक रोगको रुपमा विकसित हुँदै गइरहेको र त्यसको अत्यधिक प्रयोगले मानिस कसरी दिनानुदिन असामाजिक, संवेदनहिन, सिर्जनहिन, रुखो र बाँझो बनाउँदै गइरहेको छ ? जसले गर्दा घरपरिवार, आफन्त, साथिभाइ, इष्टमित्रबिच जरुरी भेट, मनका गुम्फन, सुख दुःख साटफेर हुन नसक्दा पु¥याउने पारिवारिक बेमेल, असमझदारीका चुनौतीहरुलाइ पनि समावेश गरिएको छ, विमर्श गरिएको छ । त्यसैगरी पुस्तकमा मान्छे जन्मेपछी अनिवार्य र शास्वतरुपमा मृत्यु हुनुपर्ने जान्दाजान्दै पनि तेरिमेरी आपसी ईष्र्या, जलन, हत्या, हिंसा, अमानवीय व्यवहार, अहं र घमण्डको रसातलमा उठ्नै नसक्ने गरि जाकिने र एकबारको जुनिमा क्षणभंगुर पाएको हाँसीखुसी पनि लुटाउन चाहाने अजिबको असन्तुष्ट प्राणी हो भन्दै चिन्ता र गुनासो प्रकट गरेका छन् ।

मृत्युलाई लिएर गरिने अध्यात्मबादी र भौतिकबादी दार्शनिक समझका टिप्पणीलाई पनि समावेश गरेका छन् ।फेरि पनि भनु– बोलाइ प्रस्तुतिमा लेखक विजयकुमार पाण्डे जसरी वाकपटु र तिक्ष्ण देखिन्छन् लेखाइको अभिव्यक्तिमा पनि उनी तिक्ष्ण र अब्बल देखिन्छन् । पुस्तक पढ्दै गर्दा उनले कहिँ कतै आफूलाई मपाइंत्व प्रदर्शन गर्दैनन् बरु आफूमा भएका देखिएका कमजोरीलाई छताछुल्ल पार्न चाहन्छन,अभिमानी होइनन् झुक्न सिक्न चाहन्छन । उनले आफ्ना निजि जिन्दगीका गुम्फन र मनपेट साट्दै गर्दा पाठक तथा स्रोतालाइ जबर्जस्त आफ्ना कुरा मात्र सहि र ठिक सांचो हो भन्दै घोकाउन र मनाउन चाहन्नन बरु बहुल समाजमा बहुल बिचारको चलखेल ब्यक्ति पिच्छेका फरकफरक हुने र रहने भएकोले स्वेच्छा, स्वबिबेक अनुसार चल्नुपर्नेमा उनको राय रहेको छ ।यसै सन्दर्भमा उनले आफ्ना छोरा सारांश र छोरी साकारालाइ समेत एक पिता र अबिभाबकको हैसियतले सामान्य दिशानिर्देश बाहेक आफ्ना कुरा जबर्जस्त लाद्न अर्ह्याउन र भारी बोकाउन चाहदैनन् । कुनै पनि बिषयमा निष्कर्षमा पुग्नुभन्दा अगाडि पारिवारिक छलफल, विमर्श राख्दै पत्नी छोरा छोरीको कुरालाई गम्भीर स्रोता बनी त्यसपछि मात्र आफ्ना धारणा राख्न मनपराउँछन् । सोची सम्झी बिचारी निष्कर्षमा पुग्ने कोशिस गर्दछन् ।

पुस्तकमा आफ्नो बोली पाठकहरु समक्ष बताइरहदा लेखक उत्तेजक क्रान्तिकारी भारिभरकम जागरनका शब्द भाषा, प्रयोग भन्दा सुललित सबैले बुझ्ने र महशुस हुनेगरी पोखिएका छन् । स–साना विषयबस्तुलाइ पनि गम्भीर र संवेदनशील बन्दै त्यसको भेद खुट्याउन त्यसको मर्म र गुदि पहिल्याउन उनले आनन्द र मजा मान्दछन् । आफूलाई लागेको सत्य कुरा अर्कोले बिमती मत प्रकट ग¥यो भने भरसक उसलाई बुझाउन सक्दो कोशिस गर्दछन् यदि अर्को पक्षले अनावश्यक ढिट प्रदर्शनमा उत्रयो भने अंतहिन संवादमा फस्दै निहुँ खोज्दैनन् बरु बिनय भावका साथ प्रस्तुत हुन्छन् । अनावश्यक दन्तबझान गर्नबाट पछि हटदछन् । यति भन्दै गर्दा एउटा कुरा पाठकको मनमा अवश्य खट्किन्छ किसलेखकले किन खाली पढालेखा, उच्च खान्दान, सुटेडबुटेड र संभ्रान्त वर्गका पात्रहरुसंग मात्र हेलोहाय, साथी सङ्गी र बढ्ता उठबस गर्न रुचाउँछन् ? भुइँतहका, गरिबी र अभावको जिन्दगी जिइरहेका गरिखाने मजदुर र किसानहरुको श्रम, पसिना र मार्काको गाथाप्रति किन उनी अनदेखा र नामालुम छन् ? हुँदाखानेको जिन्दगीको कथाले उनलाई किन छुदैन र संवेदनशील हुदैनन् ? शब्द खेलाउन सक्ने खुबी र बिषयबस्तुको विहंगम चर्चा गर्न रुचाउने लेखकसंग आम पाठकको यो गुनासो अबश्य रहेको छ । आशा छ उनले लेख्दै गरेको पुस्तकले पाठकका जायज गुनासालाइ सम्बोधन गर्ने छ । जम्मामा ‘सम्बन्धहरु’ नामक पुस्तक पठनिय र संग्रहनिय छ । धन्यवाद !

प्रतिकृया

प्रतिकृया