घोराही
६-फागुन / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाको वडा नं. १४ मा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गहरुसंग भेटघाट गरेका छन् । २०५४ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघले विगत दुई बर्ष देखि अपाङ्ग पुनःस्थापना केन्द्र संचालनमा ल्याएको छ ।


                                                                                 ADVERTISEMENT


 


मुख्यमन्त्री पोखरेलले पुनःस्थापना केन्द्रमा रहेका अपाङ्गहरुसंग भेट गरेर अवस्थाको जानकारी लिएका थिए । उक्त अवसरमा नेपाल अपाङ्ग संघका अध्यक्ष शरद अधिकारीले पुनःस्थापना केन्द्र संचालनका लागि गरिएका प्रयास, अहिले देखिएका समस्या र प्रदेस सरकार संगका अपेक्षाका बारेमा भनाई राखेका थिए ।

यस्तै नेपाल अपाङ्ग संघका पूर्व अध्यक्ष भोलानाथ योगीले अपाङ्ग संघका नाममा डेढ विगाहा भन्दा धेरै जमिन रहेको भन्दै प्रदेशकै नमूना पुनःस्थापना केन्द्र संचालनका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । २०५४ सालमा स्थापना भएको केन्द्रले तत्कालिन राप्ती अञ्चललाई खुँडे मुक्त बनाउनका लागि भूमिका खेलेको भन्दै विगतमा सिप विकासका कार्यक्रमहरु र अधिकारका लागि वकालत गर्ने काम गरिएको बताए ।

कार्यक्रममा बोल्दै मुख्मन्त्री शंकर पोखरेलले अपाङ्गता भएकाहरुलाई माया ममता दिएर स्याहार सुसार गर्नु निकै गाह्रो काम भएको बताए । उनले अपाङ्गता भएकाहरुलाई सकेसम्म परिवारमै पुनःस्थापना गराउनु पर्ने भन्दै परिवारमा समस्या भएको खण्डमा पुनःस्थापना केन्द्रमा राख्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

उनले बहुउद्देश्यिय भवन निर्माणका लागि मास्टर प्लान बनाएर अघि बढ्न र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । सोही अवसरमा नेपाल अपाङ्ग संघका निवर्तमान अध्यक्ष श्रीमन न्यौपानेले अपाङ्गता भएकाहरुलाई केन्द्रमा राखेर पालन पोषण गर्दा भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए ।

मुख्यमन्त्री पोखरेलका साथमा उनकी धर्मपत्नी तथा विघटित प्रतिनिधि सभाका सदस्य सुजिता शाक्य पनि नेपाल अपाङ्ग संघमा पुगेकी थिइन् । हाल अपाङ्ग संघमा सहारा विहीन १० जना अपाङ्गहरु आवासिय सुविधा सहित बसिरहेका छन् ।

प्रतिकृया

प्रतिकृया