इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको आइतबार विहान मृत्यु भयो । श्रीमतीलाई कुटपिट गरेको आरोपमा उनलाई शनिबार राति ईप्रका तुलसीपुरको हिरासतमा लगिएको थियो । त्यसको केही समयपछि उनी विरामी परेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको अवस्थामा उनको मृत्यु भयो । प्रहरीको वयानअनुसार उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको हो, उपचारकै क्रममा उनको मृत्यु भयो । तर, पारिवारका सदस्यहरुले भने घटना रहस्यमय भएको भन्दै शव उठाउन मानिरहेका छैनन् ।


                                                                                 ADVERTISEMENT


 


सोमबार दिनभर प्रहरीसंग पीडित पक्षले छलफल गरे तर, कुनै निष्कर्ष निस्किएन । आफन्तले शव हेर्न र फोटो खिच्न पाइरहेका छैनन् । धेरै अनुरोधपछि शव हेर्न त पाए, तर फोटो खिच्न नपाएपछि उनीहरु आक्रोसित भएका छन् । शव हेरेपछि उनीहरु झनै आक्रोसित भएका छन् । शरिरमा निलडाम, आँखामा चोट लागेपछि यस विषयमा सत्यतथ्य छानविन गर्नुपर्ने आफन्तको माग छ । वलीकी कान्छी श्रीमतीलाई कुटपिट गरेको भनी उजुरी दिएपछि उनलाई हिरासतमा लिइरहेको थियो ।

परिवारले कुटपिटपछि उनको मृत्यु भएको आशंका गरेका छन् । त्यसैले पनि उनीहरुले शव बुझ्न मानिरहेका छैनन् । तुलसीपुर ६ स्थित बजारमा कोठा लिएर बस्दै आएका उनको कान्छी श्रीमती पनि यस बिषयमा केही बोल्न नमानेपछि थप शंका उत्पन्न भएको छ । मृतकका आफन्तहरुले निष्पक्ष छानविन नहुँदासम्म पोष्टमार्टम पनि गर्न नदिने प्रतिक्रिया दिदै आएका छन् । प्रहरीले अत्याधिक मादक पदार्थ सेवन गरेको भनि प्रहरीले सार्वजनिक गरेको छ । तर, प्रहरीको भनाईमा पीडितहरु सन्तुष्ट छैनन् । मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मा काँधमा बोेकेको निकायले जनताबाट प्रश्न चिन्ह उठेपछि त्यसलाई गम्भीर रुपमा लिनुपर्छ । यस घटनालाई सामान्य रुपमा लिनु हुँदैन । हिरासतमा राखेका ब्यक्तिको मृत्यु भइसकेपछि यो गम्भीर विषय पनि हो । निष्पक्ष न्याय, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा उदाहरणीय कार्य गरेको प्रहरी संगठनले आफ्नो जिम्मेवारी र दायित्वलाई अझै फराकिलो र विश्वसनीय बनाउन यस्ता घटनाको सत्यतथ्य छानविननै निर्णायक हुन्छन् । ब्यक्तिको मृत्युले परिवारमा ठूलो क्षति पु¥याउछ । प्रहरीको जिम्मामा गइसकेपछि पीडित परिवारलाई सन्तुष्ट हुने गरि छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनतर्फ प्रहरी अग्रसर हुनुपर्छ ।

प्रतिकृया

प्रतिकृया