डा. अंकित शाह, काठमाडौं
१३-फागुन / मुखको हड्डी अड्किँदा मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउने, थकाइ महसुस हुने र घाँटीको मांसपेसीमा दुखाइ हुन्छ । मानिसको अनुहार विभिन्न हड्डीका जोर्नीहरुले बनेको हुन्छ । तर हामी हातखुट्टाको जोर्नीको बारेमा हामी जति सचेत छौं, अनुहारको जोर्नीको बारेमा त्यति छैनौं ।


                                                                                 ADVERTISEMENT

 


टेम्पोरोम्यान्डिबुलर जोइन्ट, जसको संक्षिप्त रुप टिएमजे भनेर पनि चिनिन्छ । यसले हाम्रो खोपडी र जबडालाई जोडेर राखेको हुन्छ । यो जबडा खाना खाँदा, बोल्दा, श्वास फेर्दा चल्ने गर्छ । शरीरका विभिन्न जोर्नीहरुमध्ये अनुहारको यो भाग पनि निकै महत्वपूर्ण छ । कतिपयको त मुख खोल्ने क्रममा कानमा कटकट आवाज समेत आउँछ । कुनै साह्रो खानेकुरा खाँदा यो जोर्नीमा बल पुग्छ । यो जोर्नी खोपडी र मुखको तल्लो भागसँग जोडिएको हुन्छ । यो दुई जोर्नी एक साथ चल्ने हुँदा एउटामा समस्या आउँदा अर्कोलाई असर गर्छ ।

सामान्यताः धेरै मानिसको मुखको जबडामा विभिन्न समस्या आउने गरेको छ । यसका विभिन्न कारण छन् ।
पहिलो : दाँतको आकार हाम्रा दाँतहरु मिलेर बसेको हुनुपर्छ । कसैलाई बांगोटिंगो दाँत मनपर्न सक्छ । तर बांगोटिंगो नमिलेको दाँतले जबडामा असर गर्न सक्छ । दाँत बांगोटिंगो हुँदा खाना राम्रोसँग चपाउन मिल्दैन । जसले गर्दा अनुहारको यस जोर्नीमा बल पर्न जान्छ ।

दोस्रो : साह्रो खानेकुरा । कुनै बेला निकै साह्रो खानेकुरा जबर्जस्ती खाँदा या टोक्दा पनि जोर्नीमा बल पुग्छ । लगातार साह्रो चिज खाँदा यस जोर्नीमा असर पुग्ने सम्भावना अत्यधिक हुन्छ । लगातार मासु खाँदा पनि यो जोर्नीमा असर पुग्न सक्छ ।
तेस्रो: तनाव । सामान्यता मानिस रिसाउँदा दाँत किट्ने गर्छन् । एक प्रकारले मानिसको बल अनुहारको यो जोर्नीमा पुग्न जान्छ । त्यसैले मानिस तनावमा हुँदा यो जोर्नीलाई असर पर्छ । जोर्नीमा असर पुगेपछि विभिन्न लक्षण देखिन्छन् । मुख खोल्दा कटकट आवाज आउने र मुख बन्द गर्न नसक्ने समस्या देखिन्छ । जोर्नी अड्किएपछि बन्द गर्न सकिँदैन । कति बिरामी त अनुहारका यी जोर्नी अड्किएर अस्पताल पनि आउँछन् । कसैैको त मुख खोल्न पनि समस्या हुन्छ ।

कतिपय व्यक्तिले विभिन्न कारणवश दाँत निकाल्छन् । तर दाँत निकाले पनि त्यहाँ अर्को दाँत राख्दैनन् । दाँत निकालेको ठाउँमा खाली हुँदा पनि त्यसले जोर्नीमा असर गर्छ । यो समस्या धेरै मानिसमा देखिन्छ । तर अधिकांश व्यक्तिहरु यो समस्याप्रति सचेत छैनन् । यो जोर्नीको उपचारका लागि नयाँ उपचार पद्धति छ । यो उपचार पद्धतिलाई न्युरो मस्कुलर डेन्टेस्ट्री भनिन्छ ।

दाँत, हड्डी र मांसपेसीहरु एक–आपसमा सम्बन्धित हुन्छन् । यी तीन भाग मिलेपछि मात्र राम्रोसँग काम गर्न सक्छ । दाँत स्वस्थ भएर मात्र हुँदैन । मांसपेसीहरु पनि स्वस्थ हुन अति नै आवश्यक छ । मांसपेसीलाई आराम दिनुपर्छ । इलेक्ट्रो मायोग्राफी अर्थात् इएमजी मेसिनबाट मांसपेसी कति जकडिएको छ भनेर हेर्ने गरिन्छ । मांसपेसी कति सक्रिय या निष्क्रिय छ, त्यो पनि पत्ता लगाउन सकिन्छ । मुखको जबडा कसरी चलिरहेको छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।

यसको असर भनेको विस्तारै मुख खोल्न र खोलेपछि बन्द गर्न नसक्नु हो । कतिपय बिरामीको त मुख खोलेपछि खुलै रहन्छ, बन्द गर्न सकिँदैन। उनीहरु त्यस्तो अवस्थामा पनि अस्पताल आउँछन् । मुख्यगरी यसको लक्षण भनेको मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउँछ । थकाइ महसुस हुन्छ । घाँटीको मांसपेसीमा दुखाइ हुन्छ । यो समस्या भएका कतिपयले राति सुतेको बेला दाँत किट्ने गर्छन् ।

मानिसहरु कानमा कटकट आवाज आउँदा इएनटी डाक्टरलाई देखाउन जान्छन् । उनीहरुलाई यो समस्याबारे थाहा नै छैन । अधिकांशलाई दाँत, गिजा भनेर थाहा छ तर यो मुखको जोर्नीबारे धेरै जानकार छैनन् । यो समस्याबाट बच्न दाँतलाई धेरै बल पुग्ने गरी साह्रो खानेकुरा खानु हुँदैन। कटकट आवाज आउने बित्तिकै तत्काल टिएमजे विशेषज्ञलाई देखाउनुपर्छ । दाँत बांगोटिंगो छ भने मिलाउनुपर्छ । दाँत भाँचिएको छ या कुहिएको दाँत निकालिएको छ भने खाली छोड्नु हुँदैन । खाली ठाउँमा दाँत भर्नुपर्छ । -स्वास्थ्यखबर

(डा शाह कान्तिपुर डेन्टल हस्पिटलका ओरल मेडिसिन एन्ड रेडियोलोजी विभाग प्रमुख हुन्।)

प्रतिकृया

प्रतिकृया