दाङ
१८-चैत / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल कम्पुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता जोगाउने प्रयासलाई उपेक्षा गरेको बताएका छन् । मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा पोष्ट गर्दै अध्यक्ष प्रचण्डलाई पार्टी एकताको मर्म विपरीत अन्तरविरोधमा खेलेको पनि उल्लेख गरेका छन् । साथै उनले अध्यक्ष प्रचण्डलाई अदालतको दैलो किन घच्घचाउनु पर्यो भनेका छन् ।
‘‘आफ्नो सामाजिक सञ्जाल ‘फेसबुक’ वालमा पोष्ट गर्दै उनले लेखेका छन् –क. प्रचण्ड, एकता जोगाउने प्रयासलाई तपाईले उपेक्षा गर्नु भो । एकताको मर्म विपरीत अन्तरविरोधमा खेल्नु भो । अब चै अदालतको दैलोमा किन?’’
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका थिए । उनले फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग्दै सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएका छन् । उक्त अप्राकृतिक फैसला सच्चिने आफूले आशा गरेको समेत उनको जिकिर छ ।
नेकपा नाम कसको हुने मुद्दामा फैसला गर्दै फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइ दिएका थिए ।