NEW YEAR 2078 – GREETINGS
          


प्रिया स्मृती गजमेर, लमही
१०-वैशाख/ देउखुरीका चार वटा पालिकालाई समेट्ने गरी अक्सिजन सहितको आइसोलेसन अस्पताल बनाइने भएको छ । उक्त अस्पताल २५ बेडको हुने र अस्पतालमा चाहिने सामाग्रीहरु जुटाउने कार्य अघि बढेको छ । यस पटक लमहीको रातो डाँडामा रहेको नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गरिने भएको छ ।

यो बिषयमा लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजकहरुको बैठक बसी उपकरण खरिद, अस्पताल ब्यवस्थापनका लागि भवन र अस्पतालमा खटिने कर्मचारीका बारेमा छलफल भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लालमणी सुवेदीले जानकारी दिए । सम्भवतः एक साता भित्रै तयार हुने गरि हामी तयारीमा जुटेका छौं, सुबेदीले भने । तत्कालका लागि देउखुरी क्षेत्रका चार वटा पालिकाबाट २०/२० लाख रुपैयाँ जम्मा गरेर अक्सिजन सहितको अस्पताल ब्यवस्थापन गर्ने भनेर निर्णय भएको संयोजक सुवेदीले बताए ।

पछिल्लो समय दाङ लगायत देशैभर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । दाङको तुलसीपुर क्षेत्रमा दैनिक जसो दर्जन भन्दा बढी कोरोनाका बिरामी बढ्ने गरेका छन् । केहि दिन यता लमहीमा पनि कोरोनाका संक्रमित देखिन थालेको लमही नगरपालिकाको स्वास्थ्य कार्यालयले बताएको छ । लमही नगरपालिका वडा नम्बर ५ निवासी १ जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनिहरु अहिले होम आइसोलेसनमा बसेका छन् । त्यस्तै लमही नगरपालिका वडा नम्बर १ स्थायी घर भइ हाल घोराही उपमहानगरपालिका बस्ने तीन जना महिला र १ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

कोरोना संक्रमणलाई फैलिन नदिनका लागि लमही नगरपालिकाले सतर्कता अपनाएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको सबै विधि अपनाउन सबै सर्बसाधारणलाई आग्रह गरिएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । रोजगारीका लागि बाहिर गएका मानिसहरु कोरोनाका कारण फेरि गाउँ फर्किने क्रम शुरु भएकोले टोल विकास संस्था मार्फत निगरानी गर्ने, बाहिरबाट आएका मानिसहरु कम्तिमा १४ दिन सुरक्षित होम क्वारेन्टिनमा बस्नका लागि अनुरोध गरिएको प्रमुख केसीको भनाई छ ।

त्यसैगरी लमही नगरपालिकाले कोरोना भाइरसबाट कसरी बच्ने र सुरक्षित रहने भन्ने बारेमा नगरबासीलाई जागरुक गराउनका लागि नगरका प्रत्येक वडाका हरेक टोल–टोलमा सुचना समेत सम्प्रेषण गरेको छ ।

प्रतिकृया

प्रतिकृया