NEW YEAR 2078 – GREETINGS
          


रुकुम पूर्व
१२-वैशाख/ पछिल्लो एक वर्षमा पुथा उत्तरगंगाका ७ वटा वडामा भएका ३७ विवाहमध्ये ३१ जनाले बालविवाह गरेको पाइएको छ । १४ वडा रहेको यो गाउँपालिकाका ७ वडामा गरिएको एक सर्वेक्षणमा ६ वटा विवाह मात्रै कानुनी रूपमा मान्यता पाउने खालका छन् ।

गाउँपालिकाका ७, ८, १०, ११, १२, १३ र १४ नम्बर वडामा बालविवाहको अवस्थाबारे सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा गाउँपालिकामा बालविवाहको समस्या अत्यधिक रहेको पाइएको हो । एउटा गाउँपालिकाको आधा क्षेत्रको अध्ययनले यस्तो देखाएपछि जिल्लामा बालविवाह गर्नेको संख्या उच्च रहेको अनुमान गरिएको छ । युनाइटेड मिसन टु नेपाल रुकुम क्लस्टर र मिक नेपालद्वारा सञ्चालित सक्षम परियोजनाले गरेको सर्वेक्षणले बालविवाह बढ्दै जानुमा व्यक्ति स्वयं र अशिक्षा, बेरोजगारी, गरिबी, परम्परागत मूल्य र मान्यतालाई पछ्याउने तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई कारक मानेको छ ।

यी वडाका विद्यालय, किशोरी समूह, आमा समूह, बाल क्लब, वडा कार्यालय, गाउँपालिका र विभिन्न मण्डलीमा गरिएको सर्वेक्षणका अनुसार एक वर्षमा ३७ जनाको विवाह भएको छ । जसमा ३१ जोडीले उमेर नपुगी विवाह गरेको पाइएको परियोजना व्यवस्थापक हेमन्त राईले बताए । सबैभन्दा बढी १८–१९ वर्षका जोडीले बालविवाह गरेका छन् । यस्तै, १६ जोडीको १८ वर्षभन्दा कम उमेरमा विवाह भएको छ भने सबैभन्दा कम ६ जोडीले मात्र उमेर पुगी विवाह गरेका छन् ।

यी क्षेत्रका २ सय १८ बालबालिका तथा किशोरकिशोरी र ४ सय २३ अभिभावक गरी ६ सय ४१ जनामा गरिएको सर्वेक्षणबाट यस्तो तथ्य सार्वजनिक भएको हो । कानुनले उमेर नपुगी विवाह गर्न नपाइने भने पनि गाउँमा सानै उमेरमा विवाह गर्ने चलन पुरानै हो । गाउँमा बालविवाह रोक्न चुनौती रहेको न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्ल बताउँछिन् ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय तह, संघसंस्थाहरू लागिपरेको, विद्यालय तथा अन्य समूह, छलफलमा कुरा गर्ने गरेको भए पनि यो स्वाभाविक रूपमा घट्न नसकेको उनको भनाइ छ । उमेर नपुगी गरिएको विवाह रद्द गरिदिँदा पनि केटाकेटी फेरि भाग्ने गरेको पाइएको उनले बताइन् ।

प्रतिकृया

प्रतिकृया