NEW YEAR 2078 – GREETINGS
          


चेतन रेग्मी
समाचार संकलनकै क्रममा म यही बैशाख १८ गते बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गएको थिए । त्यहाँ कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गराउनेहरूको लामो लाइन थियो । स्वास्थ्यकर्मीहरु निकै मेहनत गरेर खटिनु भएको थियो । तै पनि थुप्रै कमजोरीहरु त्यहाँ प्रष्टै देखिन्थे ।

दुरी कायम गरिएको थिएन, स्वास्थ्यकर्मीहरुले आग्रह गरिरहेका थिए, सर्वसाधारणहरुले त्यसलाई वास्ता गरेका थिएनन् । त्यो दिन म बिहानदेखि दिनभर त्यहाँ भइरहेका सबै गतिविधी नियालिरेको थिए । सर्वसाधारणहरुले ६÷७ घण्टा कुर्दासम्म पनि पालो नआएको गुनासो गरिरहेका थिए ।

त्यहीबीचमा मलाई पनि घाटी हल्का– हल्का दुखेको आभास भयो । दुखेको कारणभन्दा पनि टेस्ट गर्ने जिज्ञासा बढी पलाएका कारण टेष्ट गरे । तत्काल नतिजा प्राप्त हुने एन्टीजेन टेष्टको रिपोर्ट दिनपनि २४ घण्टा लगाईयो । यद्यपी समाचार संकलनका लागि त्यहाँ पुगेका अर्का एकजना पत्रकारले मलाई अनौपचारिकरुपमा टेष्ट गरेकै दिन पोजिटिभ रिपोर्ट आएको अनौपचारिक जानकारी गराइसकेका थिए ।

जानकारी पाएलगत्तै मैले हाम्रा परिवरिक सल्लाहकार स्वास्थ्यकर्मी आदरणीय दाजु राजेन्द्र श्रेष्ठको सल्लाहमा केही भिटामिन र एउटा एलर्जीलकोे औषधि सुरु गरे । औषधी सुरु गरेलगत्तै मेरो घाँटी दुख्ने समस्या समाधान भयो र ममा अन्य कुनै लक्षण देखिएको थिएन ।

म दुविधामा परे पिसिआर गरौं कि नगरौं भनेर । थुप्रै साथीहरूको सल्लाहले घोराही पुगेर पीसीआर गरे रिपोर्ट पोजेटिभ नै आयो । घोराहीमा त झनै बिजोग रहेछ, बाहिर लकडउन भित्र मेला । परीक्षण गर्न आएकाहरुको धकेलाधकेल ठेलमठेल । सम्भावित संक्रमित भएको स्थानमा किन त्यति धेरै लापरबाही ?

त्यही काम खुल्ला ठाउँमा गरेको भए धेरै जना संक्रमणको जोखिमबाट बच्थे कि । समयमा थाहा पाएका कारण, म धेरै गम्भीर अवस्थामा पुग्न बाट बचे, मैले आफ्नो परिवार र समाजलाई संक्रमित हुनबाट बचाए । शरीरमा कुनै पनि लक्षण नदेखिए पनि । भाइरसले सिधै फोक्सोमा आक्रमण गरेको रहेछ । तेस्रो दिनदेखि पाँचौं दिनसम्म म निकै गम्भीर अवस्थामा पुगँे । छैठौँ र सातौँ दिनमा मेरो स्वास्थ्यमा सुधारको संकेत देखियो । ८ देखि १० औं दिनसम्म कुनै कुनै बेला सामान्य समस्या देखियो । ११ दिनदेखि म पूर्णरुपमा स्वस्थ भएको महसुस गरिरहेको छु ।

आज १२ औं दिन चलिरहेको छ । तत्काल नतिजा थाहा हुने निशुल्क एन्टीजेन टेष्टलाइ पुनः सुचारु गर्न म तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे लाई म आग्रह गर्दछु । र यसलाई सिको गर्न अन्य पालिकाहरुलाई पनि आग्रह गर्दछु ।

तपाईं पनि महामारीको कुनै पनि सामान्य लक्षण देखेको छ भने समयमा नै परीक्षण गराउनुस् । यदि समयमा थाहा भयो भने आफू बचिन्छ,आफूबाट आफ्नो परिवार बच्छ र सिंगो समाज अनि देश बच्नेछ त्यसैले समयमै परीक्षण गराउँ ।

प्रतिकृया

प्रतिकृया