डा. विजय चन्द्र आचार्य
आजको दिनसम्म आइपुग्दा कोभिड(१९ ले संसारभर भयावह अवस्था सिर्जना गरेको छ। पछिल्लो समय विभिन्न भेरियन्टहरुका रुपमा झनै आक्रामक शैलीमा प्रस्तुत भइरहेको छ। समस्या बढ्दो छ, तर समाधानका उपायहरु खुम्चिदैछन्। स्वास्थ्य क्षेत्र प्रायः असफल भइसक्न लागेको अवस्था देखिदैछ। साँच्चै भन्ने हो भने स्वास्थ्य प्रणाली असफलको अवस्था जस्तै छ। तथापी यो समय दीर्घ रोगीहरुका लागि अझ कठिन बन्न गएको छ।

एकातिर कोभिड(१९ को जोखिम छ भने अर्को तर्फ दीर्घ रोगको मार स्वास्थ्यमा परिरहेको छ। यसै सन्दर्भमा क्यान्सर रोग विशेषज्ञ भएको नाताले क्यान्सर बिरामीहरुलाई कसरी कोभिड(१९ को महामारीमा उपचार गर्न सकिन्छ भन्ने तर्फ यो लेख लेख्ने जमर्को गरेको हुँ।

धेरै प्रश्नहरु अनुत्तरित छन्। तर चिकित्साशास्त्रले दिएको ज्ञान, विवेक र अनुभवलाई सन्तुलन कायम गरी उपचार अगाडि बढाउनु एक मात्र विकल्पको रुपमा देखिँदैछ। क्यान्सरका बिरामीहरुका लागि कोभिड(१९ को जोखिम छ। किनभने क्यान्सर बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। अस्पतालको बहिरंग सेवादेखि नै कोभिड(१९ संक्रमण हुन सक्ने जोखिम हुन्छ। त्यसैले सम्भव भएसम्म अस्पतालको भ्रमण घटाउनुपर्छ। कोभिड(१९ को परीक्षण गराउनुपर्छ।

चिकित्साकर्मी आफैं पनि अत्यन्त जोखिममा रहने हुँदा स्वयं पनि खतराको घेरा भित्र रहेका हुन्छन्। जसको लागि नियमति कोभिड(१९ को जाँच आवश्यक पर्दछ। केही हदसम्म उपलब्ध भएका खोपहरुले केही क्षति न्यूनीकरण गरेको अनुसन्धानबाट देखिनु सकारात्मक पक्ष हो।

धेरैजसो स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सोको क्यान्सर, रक्तकोषका क्यान्सहरु उचपारको लागि अस्पताल आउने गरेको तथ्यांकले देखाएको छ। अन्य बिरामीहरुको दाँजोमा क्यान्सरका बिरामी कोभिड(१९ संक्रमण भएमा आइसीयू, भेन्टिलेटर चाहिने अनि मृत्यु हुने संभावना करिब ३० प्रतिशतभन्दा बढी हुने गर्छ। त्यस्ता बिरामीहरुलाई संभव भएसम्म टेलीमेडिसिनको माध्यमबाट कमभन्दा कम अस्तपालमा भ्रमण गराउनु उपयुक्त हुन सक्छ। यदी यस्ता क्यान्सरका बिरामीमा गम्भीर लक्षणहरु देखिएका छैनन् भने उपचार केही समय पर धकेल्नु राम्रो विकल्प हुन सक्छ। तर दोहोरिएर आएका क्यान्सर बिरामीको शारीरिक अवस्था, क्यान्सरको प्रकृति हेरेर चिकित्सकीय निर्णय लिनु उपयुक्त देखिन्छ।

नयाँ क्यान्सर निदान भएको परिस्थिति अत्यन्त दुविधाजनक अवस्था मानिन्छ। यो अवस्थामा बिरामी रोगसँग धेरै परिचित भइसकेको पनि हुँदैन र उपचार पद्दतिको ज्ञान पनि भइनसकेको हुन्छ। त्यसैले यो समयमा बिरामीको अवस्थालाई हेरेर राम्रो परामर्श आवश्यक रहन्छ। यसको लागि पनि टेलीमेडिसिन एक उपयुक्त माध्यम हुन सक्दछ। त्यस अवस्थामा बिरामीसँगको छलफल पश्चात उचपार गर्दा हुने फाइदा र कोभिड(१९ संक्रमण जोखिमले हुने घाटाबीच सन्तुलित निर्णय लिनु उपयुक्त हुन्छ।

क्यान्सरको उपचार पद्दति किमोथेरापी, रेडियोथेरापी र सर्जरी हुन्। रेडियोथेरापीभन्दा सर्जरी वा किमोथेरापीका क्रममा यो संक्रमणको समस्या बढी खतरनाक मानिएका तथ्यांकहरु अनुसन्धानहरुले देखाएका छन्। त्यसैले यदी क्यान्सरको अवस्था स्थिर छ भने केही समयका लागि उपचार धकेल्नु बुद्दिमानी देखिन्छ। कतिपय क्यान्सर पुरै निको हुने खालका छन्। बिरामीको शारीरिक अवस्था ठिक छ भने उपचार सावधानीका साथ सुरुवात गर्न सकिन्छ। उपचार सुरु गर्नुपूर्व उच्च सावधानीका स्वास्थ्य उपकरणहरु तथा साधनहरु पर्याप्त रुपमा उपलब्ध गराई उपचार विधि सुरु गर्नुपर्दछ।

कम्तीमा सात दिन अगाडी कोभिड(१९ परीक्षण गराई उक्त बिरामीलाई आइसोलेसनमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उपचार गर्न सकेमा जोखिम न्यूनीकरण हुन सक्दछ। फैलिसकेको क्यान्सर छ भने बिरामीलाई उपचार पश्चात बचाउन सकिने संभावित समयको आँकलन गरेर मात्र उपचार सुरु गर्दा तत्काल हुने क्षतिबाट जोगाउन सकिन्छ। तर उपचारको ढोका नै बन्द हुने अवस्था आउनबाट भने रोक्नुपर्दछ अर्थात् बिरामीको अवस्था तत्काल क्यान्सरका कारण बिग्रन सक्ने देखिएमा उपचार सुुरु गर्नुपर्छ।

लगातार केमोथरापी पाइरहेका बिरामीहरु जस्तै डिम्बाशयको क्यान्सर, रक्तकोषका क्यान्सर, ग्रन्थीका क्यान्सरहरुलाई उपचार निरन्तर जारी राख्नका लागि उच्च सावधानी र उचित स्वास्थ्य मापदण्ड अपनाई उपचार गराउनु उपयुक्त विकल्प देखिन्छ। किनभने मध्यम भागमा आएर रोगको उपचार रोकिदा रोग फेरी दोहोरिने वा ठिक नहुने समस्या बढी हुन जान्छ। यस विषयमा अझै अनुसन्धानहरुले स्पष्ट खाका तयार भइसकेको अवस्था छैन। अर्को उपचारको विधि इम्युन थेरापीको बारेमा स्पष्ट धारणा आइसकेको छैन। इम्युन थेरापी सुरु गर्दा जोखिमको अवस्थालाई मध्यनजर राख्नु उपयुक्त हुन्छ।

साथै बोन म्यारो ट्रान्सप्लान्टहरु आकस्मिक क्यान्सर उपचार सेवामा नपर्ने भएकाले तत्कालका लागि सुरु नगर्नु बुद्दिमानी हुने पनि केही अनुसन्धानकर्ताहरुको धारणा रहेको पाईन्छ। किनभने रगत उत्पादनहरुबाट कोभिड(१९ सर्ने नदेखिएता पनि त्यस्ता बिरामीहरुलाई कोभिड(१९ हुने जोखिम अत्याधिक रहने गर्दछ। यस विधिबाट उपचार गर्नै पर्ने अवस्थामा रक्तकोष दाताहरुलाई कम्तीमा चार हप्ता अगाडि कोभिड परीक्षण गराएर आइसोलेसनमा राखी गराउन समेत सुझाव आएको देखिन्छ। तर रक्तदातालाई कम्तीमा तीन महिना कोभिड(१९ को संक्रमण नभएको हुनुपर्ने जरुरी छ।

कोभिड(१९ को अत्याधिक फैलावटका कारण अस्पतालहरु अत्यन्त चापमा रहेका छन्। साधन एवं स्रोतको कमी त्यतिकै भइरहेको र स्वास्थ्यकर्मीहरु बिना हतियारको युद्धमा होमिनुपरेको यथार्थपरक अवस्था छ। आइसीयू, भेन्टिलेटर, मेडिकल स्टाफ, उपचारहरुको अभाव भएको हुँदा अन्तिम अवस्थाका बिरामीहरु जो निको हुन कठिन छ, तिनका लागि प्रो एक्टिभ उपचार तथा उचित परामर्श सेवाका साथ व्यवस्थापन गरिनु सान्दर्भिक देखिन्छ।

अन्त्यमा चिकित्साकर्मीको कर्तव्य उचित राय सुझाव दिनु अनि बिरामीको पर्याप्त उपचार पद्दति अवलम्बन हुन आउने भएकाले धेरै प्रश्नहरु र यस अवस्थाको अनुत्तरित सन्दर्भहरु रहेकाले सक्दो राम्रो संभाव्य उपचार अनि प्रमाणहरुको आधारमा गरिने सेवाहरु नै क्यान्सर बिरामी प्रतिको आजको योगदान हुन सक्दछ।

(डा आचार्य बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका निर्वतमान कार्यकारी निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ हुन्।) -स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया